Logo

जन्मथलो पुगेर धमलाले भनें,‘यो माटो सम्झिएर भन्छु, म यहाँको विकासको लागि कुनै कसर बाँकी राख्दिन्’



पत्रकार धमला अतुलनीय र उदाहरणीय व्यक्ति हुन : बुद्धिमान तामाङ्
मुलुक समृद्धिको लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गर्नुपर्छ : पाख्रिन
धादिङ, २३ कार्तिक । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मंसिरमा निर्वाचन सम्पन्न भएपछि मुलुक आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने बताएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा आज आयोजित कांग्रेसको चुनावी सभालाई बरिष्ठ पत्रकारको नाताले सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् । उनले अघि भने,‘म यही वडामा जन्मिएको मान्छे हुँ, माटो सम्झिएर भन्छु, म यहाँको विकासको लागि जस्तोसुकै भूमिका निर्वाह गर्नपनि तयार छु।’

उनले ज्यामरुङको विकासको लागि आफूले टेलिफोन, खानेपानी, स्वास्थ्य चौकी, बाटोघाटो सबै विकासका पूर्वाधारमा सहयोग पुर्याएको धारणा राखे । उनले भने,‘गोलभञ्ज्याङदेखि ज्यामरुङहुँदै सेउलीभञ्ज्याङसम्म सडक सञ्जाल अघि बढाउनको लागि म कुनै कसर बाँकी राख्दिन्, त्यस्तै यहाँ अहिले विद्यमान रहेको गुठीको समस्या पनि हल गर्नको लागि म लागिपरिरहेको छु, हजारौं घरहरु श्री ५ को बाउ गुठीको नाममा छन्, अब यसलाई जनताको हातमा दिन्छु, मुलुकमा गणतन्त्र आईसक्यो, तर यहाँ त राजतन्त्रको भूत अझैपनि छ ।’

उनले अब देशैभरि सबैको एजेण्डा विकास हुनुपर्नेमा जोड दिए । उनले भने,‘निर्वाचनले संक्रमणकालको अन्त्य हुन्छ, लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न ठूलो भूमिका निर्वाह गर्छ, समृद्धिशाली नेपाल बनाउने अभियानमा हामी लाग्नुपर्छ, त्यस्तै निर्वाचनको पक्षमा माहोल बनाउन म यहाँ आएको हुँ । जनतालाई सचेत गराएर मतदान को प्रक्रियामा होम्याउनुपर्छ, अभियानमा निस्किँदैछु । अभियान हो । धादिङ जिल्लाको विकासले मुहार फेर्नेछु , विशेषगरि पूर्वाधार विकासमा ध्यान दिनेछु ।

राप्रपाका बरिष्ठ नेता बुद्धिमान तामाङले धादिङको विकासको लागि धमलाले खेलेको भूमिकाको प्रशसा गरे । सबैले प्रशंसा गरे । सबैले मानेको जानेको बुझेको व्यक्तित्व, लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनुपर्छ, यो गठबन्धनलाई जिताउनुपर्छ, किनकी यो गठबन्धन बलियो भने लोकतन्त्र बलियो हुन्छ ।

तामाङले पत्रकार धमला अतुलनीय र उदाहरणीय व्यक्ति भएको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनले भने,‘ऋषिजी यहाँमात्रै होईन राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नै ख्याँति कमाएको व्यक्ति हो, उहाँलाई सर्लाहीदेखि रौतहटसम्म चुनाव लड्नको लागि माँग भएको थियो, र उहाँ बास्तबमै जहाँबाट लडेपनि चुनाव जित्न सक्ने जनाधार भएको व्यक्ति हो । त्यस्तो क्षमता भएको व्यक्तिलाई हामीले सम्मान गर्नुपर्छ, उहाँ त सबै दलसँग सम्पर्क भएको व्यक्ति हो ।’

उनले पत्रकार धमलाले अघि सारेको एजेण्डा र अभियानलाई आफ्नो पूरै सहयोग रहने विश्वास दिलाए । उनले भने,‘अब हामी विकासको अभियानमा अघि बढ्छौं, निर्वाचनको माध्यमले गठबन्धनलाई बलियो बनाउँछ।’

त्यस्तै कानून राज्यमन्त्री एवम् धादिङ क्षेत्र नम्बर २ का उम्मेद्धवार दिलमान पाख्रिनले संविधान कार्यान्वयनको लागि निर्वाचनमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । उनले पनि आफू जनताको समस्या समाधान गर्न तयार रहेको धारणा राखे ।

पाख्रिनले पत्रकार धमलासँग सहकार्य गरेर गुठीको समस्या समाधान गर्ने धारणा राखे । उनले भने,‘मलाई जिताएर पठाउनुहोस्, म यहाँको समस्या समाधान र विकासको लागि काम गर्नेछु।’

त्यस्तै उनले लोकतान्त्रिक गठबन्धनको आवश्यकत्तामा जोड दिए । लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनलाई पराजित गर्नुपर्नेमा समेत उनको भनाई थियो ।
राप्रपाका निर्वाचन क्षेत्र ‘ख’ डम्बर तामाङले पनि धादिङको विकासको लागि आफूले कुनै कसर बाँकी नराख्ने धारणा राखेका थिए ।

कार्यक्रममा कांग्रेस नेता रामनाथ अधिकारी, डा. राजाराम कार्की, तिलक रुवाली, राप्रपा धादिङका अध्यक्ष नवराज श्रेष्ठले पनि आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले चुनावपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताएका थिए । नयाँ शक्ति पार्टीको नेता राम ढकालले पनि कांग्रेल नेतृत्वको लोकतान्त्रिक गठबन्धलाई मतदान गर्नको लागि अपिल गरेका थिए ।

कार्यक्रम टिकाबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्