Logo

पोलिटेक्निक इन्स्टिच्युटमा पढाई शुरु



मंगलबारे, इलाम, २४ कात्तिक  : इलाम नगरपालिका–एक साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु भएको छ । पोलिटेक्निक इन्स्टिच्युटमा तीनवर्षे आइएसिएजी पशु विज्ञान विषयमा पढाइ शुरु भएको हो ।

रु ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चार वर्षअघि निर्माण थालिएको उक्त शिक्षालयमा करिब रु २० करोड खर्च भइसकेको निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष अम्बिका गौतमले बताउनुभयो । पहिलो वर्ष पशु विज्ञान, दोस्रो वर्ष कृषि र वन तथा तेस्रो वर्ष खाद्य तथा डेरी विषयको पढाइ शुरु गरिनेछ ।

छुट्टाछुट्टै तीन विषयमा प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गराइने शिक्षालय मेची अञ्चलमा पहिलोपल्ट निर्माण भइरहेको हो । यहाँ पशु विज्ञान विषय अध्ययन गर्ने ४० जना विद्यार्थी छन् । पाँचजना प्रशिक्षक रहेको कार्यालय प्रमुख होम अधिकारीले बताउनु भयो । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिईअन्तर्गत निर्माण गरेको उक्त शिक्षालयमा निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ ।

आगामी वर्षसम्ममा निर्माण सम्पन्न हुनेछ । १५८ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा प्रशासनिक भवन, शैक्षिक, छात्रावास, आवास भवन बनाइएको छ । एक शैक्षिक सत्रमा ३६० विद्यार्थी अध्ययन गर्नसक्ने क्षमताको शिक्षालय मेची अञ्चलमै पहिलो हो । मेची राजमार्गसँगै जोडिएको साँखेजुङको रूम्दाली डाँडामा शिक्षालय निर्माण भएपछि आसपासका क्षेत्रमा चहलपहल शुरू भएको छ ।

यसअघि धनकुटा, भक्तपुर, जुम्ला, दाङ, दोलखामा प्राविधिक शिक्षालय स्थापना भइसकेका छन् । देशका रौतहट, सप्तरी, पाँचथर, सुनसरीलगायत मेची अञ्चलका जिल्लाबाट विद्यार्थी भर्ना हुन आइरहेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

आगामी वर्षदेखि थप कक्षाहरु सञ्चालन हुने बताइएको छ । आफ्नै घर–आँगनमा प्राविधिक शिक्षाको पठनपाठन शुरु भएपछि स्थानीय हर्षित छन् । देउमाई नगरपालिकाका युवराज आचार्यले प्राविधिक विषय लिएर पढ्न अनि चाँडै जागिरको अवसर मिल्ने भन्दै खुशी व्यक्त गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्