Logo

ठाकुर र महतोले किन जिल्ला छाडे ?



काठमाडौं २६ कार्तिक ।
राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ मध्ये ३ जना सर्लाहीकै छन् । पहिलाका अलग–अलग दलका यी प्रमुखहरू यही जिल्लाबाट चुनाव लड्थे । पार्टी एकीकरणपछिको पहिलो चुनावमा दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो भने जिल्ला छाडेर अन्यत्रै गएका छन् । किन ?

‘यो मधेस आन्दोलनको माग हो,’ धनुषा ३ बाट उठेका महतोले भने, ‘मधेस आन्दोलन कुनै एक जिल्लामा होइन, सिंगै मधेसमा फैलिएको छ । त्यसैले आन्दोलनको प्रभावकारिताका लागि कार्यकर्ताको मागअनुसार हामी दुई जना अन्य जिल्लामा गएका हौं । मेरो भागमा धनुषा पर्‍यो, ठाकुरजीको महोत्तरी ।’

जिल्लाका राजनीतिक विश्लेषकहरू भने सर्लाहीको राजनीतिक अवस्था अलि असहज भएपछि उनीहरूले जिल्ला छाड्नु परेको टिप्पणी गर्छन् । ठाकुर २०६४ र ०७० का संविधानसभा चुनावमा सर्लाहीको तत्कालीन ६ नम्बर क्षेत्रबाट उठेर पराजित भएका थिए । पहिलोपल्ट तत्कालीन मधेसी जनअधिकार फोरमका शिवपूजन रायले र दोस्रोपल्ट कांग्रेसका अमेरशकुमार सिंहले उनलाई हराएका थिए । उनलाई पालैपालो हराउने शिवपूजन र अमरेश दुवै सर्लाही ४ बाट क्रमश: माओवादी केन्द्र र कांग्रेसका उम्मेदवार छन् । सर्लाहीलाई ६ बाट ४ क्षेत्रमा खुम्च्याइएको छ । उनको क्षेत्र ४ नम्बरमा आइपुगेको छ ।

शिवपूजन फोरमबाट राजपा हुँदै माओवादीमा पुगेका छन् । मधेसी दलको पृष्ठभूमि र वाम गठबन्धनको वर्तमान मतका कारण उनी ठाकुरका लागि चुनौतीपूर्ण थिए । अर्कातिर अघिल्लोपालि जितेका अमरेश पनि कमजोर मानिँदैनन् । दुवैको चेपुवामा मधेसवादी भद्र नेता ठाकुर पर्ने डर थियो । जिल्लाका अन्य ३ क्षेत्र उनका लागि बाह्य जिल्लाजत्तिकै नयाँ मानिन्छन् । उनको बहिर्गमनको प्रमुख कारण यसैलाई मानिएको छ ।

राजपाका संयोजक, मधेस आन्दोलनका नेतृत्वकर्ता, प्रतिष्ठित राजनीतिकर्मी, स्वच्छ छविका व्यक्तित्व, राजनीतिक निष्ठावान नेता भएकाले पनि संसद्मा पुर्‍याउने आवश्यकता महसुस गरी सुरक्षित थलो खोजिएको विश्लेषण गर्ने पनि छन् ।

बहुदल आएपछि २०४८ को चुनावमा तत्कालीन क्षेत्र ५ बाट पहिलो चुनावमै ठाकुरले जिते । २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा पनि लगातार जितेका ठाकुर त्यस बेलासम्म कांग्रेसमा थिए ।

०६४ को पहिलो संविधानसभा चुनावअघि उनले आफ्नै अध्यक्षतामा कांग्रेस छाडेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरे । सोही पार्टीबाट चौथो पटक चुनाव लडेका उनी पराजित भए । ०७० को चुनाव पनि हारे । त्यसमा कांग्रेसका सिंहले जिते भने शिवपूजन निकटतम प्रतिस्पर्धी बने । ठाकुर तेस्रो स्थानमा झरे । यसपालि ठाकुर महोत्तरी ३ मा चुनाव लड्न गएपछि राजपाले सर्लाही ४ मा राकेश मिश्रलाई टिकट दिएको छ ।

महतोले भने सर्लाही ४ बाट उठ्ने अन्तिम घडीसम्म पहल नगरेका होइनन् । कांग्रेस र राजपा–फोरम तालमेलको वार्ताका क्रममा उनले उक्त क्षेत्र आफूले पाउनुपर्ने अडान राखेका थिए । कांग्रेसका सिंहले छाड्न नमानेपछि राजपा छाडेर माओवादी गएका शिवपूजनलाई मिलाउने प्रयाससमेत गरे ।

‘महतोले आफू क्षेत्र ४ बाट प्रतिनिधिसभा उठ्ने भन्दै मलाई राजपामै फर्किएर प्रदेशमा उठ्न आग्रह गर्नुभयो । मैले मानिनँ । भर्खर माओवादी प्रवेश गरेको र सोही दलबाट प्रतिनिधिसभामा उठ्छु भनें,’ शिवपुजनले सुनाए, ‘तपाईंलाई सबैखाले सहयोग हुन्छसम्म भन्नुभएको थियो । मैले मानेको भए सायद उहाँ यहींबाट उठ्नु हुन्थ्यो ।’

दुवै अस्त्र असफल भएपछि महतो मनोनयनको अघिल्लो साँझ धनुषामा गई कांग्रेस नेता निधिसँग भिड्ने निर्णयमा पुगेका थिए । र, मनोनयन दर्ता गर्न रातारात गाडीमा जनकपुरतर्फ लागेका थिए ।

०४८ मा गजेन्द्रनारायण सिंहसँग प्रभावित भई महतो मधेसको राजनीतिमा आएका थिए । ०५६ को चुनावमा तत्कालीन क्षेत्र २ बाट चुनाव जितेपछि उनको राजनीतिक उचाइ सुरु भयो । त्यसयता उनी राष्ट्रिय राजनीतिमा चर्चित छन् । पार्टी फुटाएर सद्भावना पार्टी गठन गरी आफैं अध्यक्ष बने । कान्तिपुरबाट

 



प्रतिक्रिया दिनुहोस्