Logo

उम्मेदवारलाई योजनाको चाङ भिराउँदै मतदाता



फलेवास, पर्वत, २५ कात्तिक : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार यतिबेला प्रचारप्रसारमा सक्रिय छन् ।

सदरमुकाममा भन्दा गाउँमा चुनावी चहलपहल बढेको छ । दैनिकजसो हुने कोणसभा, घरदैलो, आमसभाजस्ता गतिविधिले गाउँमा चुनावी चहलपहल ह्वात्तै बढेको हो ।

जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुईजना र प्रदेशसभा सदस्यका उम्मेदवार चारजनाले फरकफरक ठाउँमा गर्दै आएको कार्यक्रमले ग्रामीण क्षेत्रमा चुनावी रौनकता बढाएको छ ।

वाम गठबन्धनबाट पदम गिरी र लोकतान्त्रिक गठबन्धनबाट अर्जुनप्रसाद जोशी प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट नेत्र अधिकारी र लोकतान्त्रिक गठबन्धनबाट नवराज गुरुङ तथा प्रदेशसभा ‘ख’ बाट वाम गठबन्धनबाट विकास लम्साल र लोकतान्त्रिक गठबन्धनबाट राजेन्द्र तिवारी उम्मेदवार हुनुहुन्छ । उहाँहरुले तालिकाअनुसार फरकफरक ठाउँमा दैनिक चुनावी गतिविधि सञ्चालन गरिरहनुभएको छ ।

मतदाता एकैछिन् घरको काम थाती राखेर उम्मेदवारका चुनावी एजेण्डा र उनीहरुका प्रतिबद्धता सुन्नका लागि सभामा आउने गरेका छन् । उम्मेदवार गाउँ पुग्दा मतदाताले आफ्ना समस्याको चाङ भिराउने गरेका छन् । उनीहरुले सडक, बिजुली, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रका समस्या समाधानका लागि विभिन्न योजना माग गर्ने गरेका छन् ।

“मतदाताले ठूला खालका योजना माग गरेका छन्,” वाम गठबन्धनका उम्मेदवार गिरीले भन्नुभयो । चुनावमा विजय प्राप्त गरे वा नगरे पनि स्थानीयवासीका समस्या समाधान गर्न पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्लामा यही कात्तिक २२ गतेदेखि राजनीतिक दलले चुनावी प्रचारप्रसार अभियान थालेका हुन् । जिल्लाका सात स्थानीय तहका ६१ वटै वडामा कार्यक्रम तय गरेर उम्मेदवारहरु अभियानमा जुटेका छन् ।

काँग्रेस र एमालेले आठ÷आठ वडामा आफ्नो कार्यक्रम सम्पन्न गरिसकेका छन् । उम्मेदवारले एक दिन एउटा वडामा कार्यक्रम र अर्को दिन घरदैलो कार्यक्रमको तालिका बनाएका छन् ।

मतदाताले आ–आफ्नो गाउँसम्म पुग्ने सडक कालोपत्र तथा बाह्रैमास सवारीसाधन चल्ने बनाउन उम्मेदवारसँग माग गरेका छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सिँचाइलाई प्राथमिकतामा राखेर योजना बनाएको काँग्रेसकोतर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशी बताउनुहुन्छ ।

गाउँ अभियानमा जुटेका उम्मेदवारले मतदाताका योजना सुन्दै आफ्ना आश्वासन बाँडिरहेका छन् । आश्वासनलाई चुनाव जितेपछि कार्यान्वयनमा ल्याउनसकेमा मात्र मतदाताले परिवर्तनको अनुभूति गर्नसक्ने भोक्सिङका मतदाता दीपक गुरुङले बताउनुभयो । अन्यथा जति सरकार र राजनीतिक नेतृत्व फेरिए पनि मतदाताका समस्या ज्यूँ का त्यूँ रहने उहाँको भनाइ छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्