Logo

काभ्रेपलाञ्चोक : पर्यटन, उर्जा र औद्योगिक उत्पादनको केन्द्र



–युवराज पाण्डे : बनेपा, २६ कात्तिक : धुलिखेल पर्यटनको आर्कषक गन्तव्य मानिन्छ । यहाँबाट देखिने मनमोहक हिमशृङखला हेर्न पर्यटक लालायित हुन्छन् ।

नमोबुद्ध यहाँको अर्को आर्कषक गन्तव्य हो । चुनावी जोडघटाउ हुँदै गर्दा यो जस्ता धेरै पर्यटकीय सम्भावना बोकेको काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारले पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्ने र समृद्धि हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

वाम गठवन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिल्लालाई जल तथा वायु ऊर्जा र औद्योगिक उत्पादनको केन्द्र बनाउने अठोटलाई पनि दोहो¥याइरहेका छन ।
घरदैलो अभियान सञ्चालन गर्दै उनीहरुले पुनःनिर्माणको कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने पुरानै नारालाई उल्लेख गर्न छुटाएका छैनन् । स्थानीय तहको निर्वाचनताका पनि पुनःनिर्माणको विषयले उच्च प्राथमिकता पाएको थियो ।

उम्मेदवारले भनेका छन् – “पर्यटनलाई कृषि पर्यटनसँग जोडिने छ र सांस्कृतिक तथा धार्मिक पर्यटनको प्रर्वद्धन गरिने छ ।”
तर बेथानचोक गाउँपालिकाका मतदाता पदम तामाङलाई गाउँमा फराकिलो बाटो चाहिएको छ । खानेपानीको समस्या पनि भएकाले नुहाउन, धोइपखाली गर्न समस्या भइरहेको उहाँको दुखेसो छ ।

“धेरै पटक निर्वाचन भए तर पनि बाटोघाटो कालोपत्र हुन सकेको छैन, स्वास्थ्य, शिक्षामा गाउँलेको पहुँच स्थापित हुन सकेको छैन,” तामाङले भन्नुभयो – भूकम्पले बनाएको घर भत्काएपछि लगत्तै आफ्नै लगानीमा घर बनाएँ तर सरकारले मापदण्ड पूरा नगरेको भन्दै कुनै राहत दिन दिएन ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का नेकपा (एमाले) का उम्मेदवार गोकुल बास्कोटा “लाकुरीभञ्जाङ, फूलचोकी, नारायणस्थान र नमोबुद्धमा काशिभञ्जयाङ, नगरकोटको पदमार्ग खोलेर पर्यटकीय आर्कषण बढाउन सकिने संभावना व्यक्त गर्नुहुन्छ ।

डाँडापारिको क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने र बनेपा बजार व्यापारिक केन्द्र भएकाले त्यसलाई ‘बगैंचा शहर’ को रुपमा विकास गर्ने सोच उहाँको छ ।
धुलिखेल आफैंमा पर्यटीयक स्थल भएकाले त्यसलाई अझ समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्दै उहाँले फूलबारी र पात्लेखेतमा ‘माउन्टेन फ्लाइट’ का लागि सानो विमानस्थल बनाउने सपना छ भन्नुभयो ।

सो विमानस्थलका लागि करिव डेढ अर्ब लगानी आवश्यक पर्छ । बास्कोटाले जिल्लामा ‘बुद्धिस्ट सर्किट’को स्थापना गर्ने र डाडाँपारिको क्षेत्रलाई बाख्रा तथा खसीपालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो ।

निर्वाचन क्षेत्र २ नं को प्रदेश (क) का उठ्नुभएका एमालेका उम्मेदवार लक्ष्मण लम्सालले कृषि, पर्यटन, ऊर्जाको उद्योग सञ्चालनका लागि पूर्वाधार विकास गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । गाउँगाउँका जनताले पुनःनिर्माणका विषयलाई फेरि उठाइदिएको पनि उहाँले बताउनुभयो ।

पर्यटकीय सम्भावना बोकेको आफ्नो निर्वाचन क्षेत्रमा सांस्कृतिक तथा धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने उहाँको सोच छ ।

लम्सालले भन्नुभयो – “इन्द्रावती र भोटेकोशीको पानीे उपयोग गरेर हाइड्रोपावर निर्माण गर्न सक्छौं । त्यसबाट रोजगारीको सिर्जना हुन्छ ।”
धुलिखेलको पर्यटकीय आर्कषण जोगाउन त्यहाँको पर्यावरणलाई जोगाउनुपर्नेमा जोड दिँदै उहाँले प्रख्यात धुलिखेललाई विदेशी पर्यटकका लागि आँखाको नानी जस्तो बनाउन सकिने तर्क गर्नुभयो ।

लम्सालका अनुसार दोलालघाटलाई आन्तरिक पर्यटनको केन्द्र र पलाञ्चोक भगवतीलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिन्छ ।
एकचालीस हजार ४४२ नयाँ मतदाता थपिएको काभ्रेपलाञ्चोक जिल्लामा कूल मतदाता २ लाख ७२ हजार २९२ पुगेका छन् जहाँबाट दुईजना प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्य निर्वाचित हुने छन् । यहाँ महिला १ लाख ३५ हजार ३९७, पुरुष १ लाख ३६ हजार ८८९ र एक तेस्रो लिङ्गी मतदाता रहेका छन ।

तीनसय ५० मतदान केन्द्र रहेको यस जिल्लामा मतदानस्थल १८९ कायम भएको छ । यस निर्वाचन क्षेत्रमा ६६ वडा छन् । यहाँ १७६ मतदान केन्द्र र ९५ मतदानस्थल रहेको काभ्रेपलाञ्चोकका निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिनुभयो ।

उहाँले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन दलहरु प्रतिवद्ध भएको पनि उल्लेख गर्नुभयो ।

निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) का नेपाली काँग्रेसका उम्मेदवार सुन्दरमणि आचार्यले आफ्नो निर्वाचन क्षेत्र पर्यटकीय सम्भावना बोकेको निर्वाचन क्षेत्र भएको उल्लेख गर्दै पाँचखाललाई औद्योगिक उत्पादनको केन्द्र बनाएर रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।

प्रख्यात धुलिखेललाई ‘हेरिटेज सिटी’ को रुपमा विकास गर्ने लक्ष्य राख्नुभएका उहाँ दोलालघाटलाई जलश्रोत पर्यटनको रुपमा पनि विकास गर्न सकिने बताउनुहुन्छ ।
“शहरमा बस्नेहरुलाई धान कसरी रोपिन्छ वा गहुँ कसरी छरेर काटिन्छ अथवा तरकारीको उत्पादन कसरी हुन्छ भन्ने कुरा ग्रामीण क्षेत्रमा भएका होम स्टेमा बस्न दिएर त्यसलाई प्रत्यक्षतः देखाउनु सकिन्छ, त्यसैले पनि यहाँ कृषि पर्यटन फस्टाउन सक्छ,” उहाँले भन्नुभयो ।

आचार्य पर्यटन प्रर्वद्धनका लागि थप भौतिक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा ६८ हजार ९९० पुरुष र ६९ हजार ५५२ महिला गरी कुल १ लाख ३८ हजार ५१२ मतदाता रहेका छन् । विसं २०७० मा जिल्लाको कूल मतदाता संख्या २ लाख १४ हजार २२६ रहेको थियो ।

पुरातात्विक मठमन्दिर रहेको बनेपा र धुलिखेल यो निर्वाचन क्षेत्रमा पर्छ । नेवार समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।

संविधानसभाको निर्वाचन क्षेत्र साविक ३ र ४ मिलाएर क्षेत्र नं २ बनाइएको हो । यस क्षेत्रभित्र पाँचखाल नगरपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भूम्लु गाउँपालिका, बेथानचोक गाउँपालिका र पनौती नगरपालिका पर्छ । तर, मण्डनदेउपुर नगरपालिका, पनौती नगरपालिका, बेथानचोक गाउँपालिकाका केही भाग मात्रै यस क्षेत्रमा पर्छ ।



प्रतिक्रिया दिनुहोस्