Logo

रोमी गौचन थकालीलाई प्रेमप्रसाद तुलाचनको चुनौति : पहिला बागी, अहिले आधिकारिक उम्मेदवार



कात्तिक २७, काठमाण्डौ । लामो समय नेपाली कांग्रेसको झण्डा बोकेर राजनीति गरेका प्रेमप्रसाद तुलाचन यस पटक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्न लागेका तुलाचनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रोमी गौचन थकाली हुन् ।
यसअघि सासंद रहेका थकालीले मुस्ताङमा धेरै काम गरेकाले जनमत आफूतिर रहेको दाबी गरेका छन् भने तुलाचनले केही काम गर्न नसकेकाले आफुले चुनाव जित्ने भन्दै रोमीलाई चुनौति दिएका छन् ।

अघिल्लो चुनावमा कांग्रेसबाट टिकटका दाबी गरेका तुलाचनले टिकट नपाएपछि त्यसबेला आफ्नै दल कांग्रेसका उम्मेदवार रोमीविरुद्ध बागी उम्मेदवारी दिएका थिए । तर चुनाव भने रोमीले नै जिते । तुलाचन भने कारबाहीमा परे । पाँच वर्षका लागि निलम्बनमा परेका तुलाचन अन्ततः अहिले एमालेमा प्रवेश गरेर एमाले–माओावदीको साझा उम्मेदवारको रुपमा खडा भएका छन् ।

कुराकानीका क्रममा कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले विगतमा आफूले मुस्ताङ जिल्लाबासीलाई गरेको सेवा र विकास निर्माणका कामले नै यसपटक विजयी गराउने दाबी गरेका छन् । कठिनकालमा पनि प्रजातन्त्र जोगाउनका लागि आफूले गरेको संघर्षलाई जनताले सम्मान गर्ने विश्वास थकालीले लिएका छन् ।
नाताले एकाघरका मामा छोरा र फुपूका छोरा पर्ने रोमी र तुलाचनको चुनावी लडाई परिवार विर्सेर फरक राजनीतिक दलबाट हुँदैछ । हामी राजनीतिक लडाईमा छैनौँ । प्रतिस्पर्धामा छौँ भनेर थकालीले भन्दै गर्दा तुलाचनले भने थकालीको भनाईलाई मिठो कुराको संज्ञा दिएर कटाक्ष गरेका छन् । यसबाट पनि प्रष्ट हुन्छ कि दुई उम्मेदवारबिच विशुद्ध राजनीतिक लडाई हुनेछ ।

कसले काम गरेको छ भन्ने सवालमा कोरला नाका निर्माणका सम्बन्धमा दुई नेताबिच आरोप प्रत्यारोप भएको छ । थकालीले आफ्नो पहलमा नाका बनेको भन्ने कुरालाई तुलाचनले खण्डन गरेपछि थकाली त्यसको प्रतिवादमा उत्रिए ।
तुलाचनले ७० सालमा चुनाव जितेका थकालीले केही काम गर्न नसकेको आरोप लगाउँदै अबको चुनावमा आफूले जित्ने दाबी गरे ।
आफ्नो सम्पूर्ण जवानी नेपाली कांग्रेस भएर वितेको बताउँदै तुलाचनले जनतालाई सेवा गर्नबाट कांग्रेसले नै बञ्चित गराएकाले एमालेमा प्रवेश गरेको बताउँदै कांग्रेस उम्मेदवारप्रति आक्रामक देखिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्