Logo

धनकुटामा सूर्यबहादुर थापाको विरासत जोगाउँदै सुनिलबहादुर थापा



कात्तिक २७, काठमाण्डौ । आसन्न प्रतिनिधी सभा निर्वाचनमा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा उम्मेद्वार छन् । धनकुटाबाट उम्मेदवार बनेका थापालाई नेपाली कांग्रेसको समर्थन भएकाले चुनाव जित्न सहज भएको बताइएको छ ।

थापा यतिबेला धनकुटामा घरदैलो अभियानमा छन् । मंसिर २१ को प्रतिनिधि सभा निर्बाचनको लागि थापा सँगै मुख्य प्रतिस्पर्धीको रुपमा बाम गठबन्धनका तर्फवाट राजेन्द्र राई रहेका छन् । थापा लोकतान्त्रिक गठबन्धनको साझा उम्मेद्वार भएकाले वाम गठबन्धनका उम्मेदवारलाई सहजै पराजित गर्ने बताइएको छ ।
प्रतिनिधि सभा अन्र्तगत एक र प्रदेश सभा अन्तर्गत दुई निर्बाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभामा सात दलले मनोनयन दर्ता गराएका छन् ।

लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार राप्रपा प्रजातान्त्रिकका नेता थापा अघिल्लो निर्बाचनमा आफुले गरेका बाचा पुरा गरेको र अवको आफ्नो उम्मेद्वारी धनकुटालाई प्रादेशिक राजधानी बनाउनेदेखि समृद्ध धनकुटाको लागि भएको बताउँछन् । कृषि, पशु, तथा पर्यटन विकास र स्थानीयको जिविकोपार्जनमा टेवा पुग्ने कार्यक्रमहरुलाई प्राथमिकता दिने उनले बताएका छन् ।

थापाले सरकारमा हुँदा र नहुँदा पनि धनकुटामा गरेको विकास, रोजगार, शिक्षा, स्वास्थ्यका साथै धनकुटाको बिकासको गरेको योगदानको आधारमा जनताले आफुलाई मत दिने बताए ।
थापाका प्रतिस्पर्धी बाम गठबन्धनको तर्फवाट मैनादमा उत्रिएका एमाले उम्मेद्वार राजेन्द्र राईले पनि पूर्वाधार व्यबस्थापन, उन्नत कृषि, कृषिमा आधारित उद्योगको विकास, रोजगारी, सुलभ र गुणस्तरिय शिक्षा तथा स्वाथ्योपचार साथै धनकुटालाई प्रदेश नम्वर एकको राजधानी बनाउने एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
तर पूर्वप्रधानमन्त्री सुर्यबहादुरले धनकुटामा गरेको विकास निर्माणका कामलाई निरन्तरता दिने अभियानमा रहेका सुनिलको पक्षमा जनमत बढि रहेको बताइन्छ ।

उद्योगमन्त्रीसमेत रहेका सुनिल बहादुर थापाले पूर्वाधार र केन्द्रका हिसाबले उपयुक्त मानिएको धनकुटालाई प्रदेश नम्बर एकको राजधानी बनाउने आफ्नो अभियान भएकाले त्यसलाई साकार रुप दिनका लागि जनताले मत दिने विश्वास व्यक्त गरेका छन् ।
यसअघिको दोस्रो संविधानसभाको निर्वाचनमा जनतासमक्ष संविधान निर्माण गर्ने बाचा गरेर भोट मागेको स्मरण गराउँदै थापाले भने, “संविधान दिएँ, अब आर्थिक विकासका लागि काम गर्नुपर्नेछ ।”



प्रतिक्रिया दिनुहोस्