Logo

हक अधिकारका लागि मधेशवादी दललाई विजयी गराऔँ : अध्यक्ष यादव



राजविराज, २७ कार्तिक  : सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आजबाट चुनावी अभियान थाल्नुभएको छ ।

गत २०७३ फागुन २३ गते प्रहरीद्वारा सप्तरीको मलेठमा मारिएका ५ जना सहिदको सम्झना गर्दै चुनावी प्रचार–प्रसारको शुरुवात गर्नुभएको हो ।

उहाँले मलेठमा शहीद भएका पाँचैजनाको तस्विरमा माल्र्यापण समेत गर्नुभएको थियो ।

सो क्रममा अध्यक्ष यादवले वर्षौँदेखि उपेक्षित, उत्पीडित र शोषणमा परेका मधेशी जनताको हकअधिकार सुनिश्चितताका लागि मधेशवादी दललाई निर्वाचनमा विजयी गराउनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले राजपा –फोरम गठबन्धनलाई नै २ नं. प्रदेशमा भोट दिन सबैलाई आग्रह समेत गर्नुभयो ।

बाम गठबन्धनका उम्मेदवार एक सातादेखि नै प्रचारप्रसारमा जुटेको भएपनि उपेन्द्र यादवले भने आजदेखि चुनावी प्रचारमा लागेको फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो ।

त्यस्तै, उहाँले बाम गठबन्धनका उम्मेदवार उमेश यादवको गाउँ लालापट्टी पुगेर नारायण यादव, दामोदर यादव, देवराम यादव र मालिक यादव, भाईहरु कृष्णा यादव, मिथिलेश यादव लगायत सयौँजनालाई पार्टी प्रवेश गराउँदै चुनावी अभियान सुरु गर्नुभएको फोरम नेपालले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्