Logo

ओलीको आरोप : अब कांग्रेस रित्तो भएछ, देउवाजीलाई आजको दुनियाँको अध्ययन गर्ने फुर्सद छैन, आदत छैन



झापा, २७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनपछि वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उक्त सरकारमा नेपाली कांग्रेसलाई समेत सहभागी गराउने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले ओलीको गृहनगर झापामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मंसिरपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै यसप्रति कसैलाई शंका नगर्न समेत आग्रह गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वाम गठबन्धनको बहुमत आउँछ त भनेर कसैले प्रश्न सोध्दा आफूलाई आश्चर्य लाग्ने समेत बताए । उनले भने,‘किन बहमुत नआउनु ? एकदम आरामदायाी बहुमत आउँछ, हाम्रो सरकार बन्छ, कति सिट जित्छ भनेर प्रश्न नगर्नुहोस्, फेरि अरुको निद्रा निद्रा हराम हुन्छ, यस्तो किन गर्नु ?’

उनले चुनावपछि नेपाली कांग्रेस पनि सरकारमा सामेल हुन सक्नेतर्फ संकेत गरे । उनले भने,‘म उहाँहरुलई आग्रह गर्न चाहन्छु, मिलेर गरिबी हटाउँ, हामी यस्ता कुराहरुमा सहमति गरेर अघि बढौं, अब कांग्रेस प्रतिपक्षमा बसिरहन जरुरी छैन, मेरो आग्रह छ, तपाईहरुपनि सरकारमा आउनुहोस्, मिलेर देश विकास गरौं।’

उनले चुनावमा एमाले–माओवादी केन्द्रको गठबन्धनले आरामदायी बहुमत ल्याउने दाबी गरे । ओलीले थपे,‘अबको निर्वाचनमा हाम्रो गठबन्धनले बहुमत मात्रै होईन, सरकार बनाउनेगरिको सम्मानजनक बहुमत ल्याउँछ।’

ओलीले राजनीतिको लागि मात्रै राजनीति नभएर आफूहरुले देश बनाउनको लागि राजनीति गरिरहेको उल्लेख गर्दै भने,‘देशलाई अघि बढाउनको लागि, देशमा लोकतान्त्रिक प्रणाली स्थापित गर्नको लागि, आर्थिक नीतिहरु सही बनाउनको लागि, स्थायित्व र सामाजिक संस्कारहरु सही बनाउन, असल साँस्कृतिक विधिको प्रबन्ध गर्नको लागि राजनीति हो, अहिले संविधानमार्फत हामी नयाँ संघीय संरचनामा जाँदैछौं, जनताको सपनालाई साकार बनाउनेगरि अब केन्द्रमा, प्रदेशमा नयाँ सरकार बन्छ । स्थानीय सरकार बनिसकेको छ ।’

आज सही नीतिका साथ देशलाई एकताको बाटोमा अघि बढाउने, नेपाललाई लोकतान्त्रिक त्योपनि फराकिलो लोकतन्त्रको बाटोमा अघि बढाउने, स्थायित्वको लागि बहुमतको सुदृढ सरकार चाहिने भएकोले उक्त उद्देश्य प्राप्तिको लागि एमाले र माओवादी केन्द्रवीच चुनावी तालमेल र एकताको प्रयास भएको ओलीको भनाई थियो ।

उनले अबको निर्वाचनमा वामगठबन्धनको आरामदायी बहुमत आउने जिकिर गर्दै थपे,‘सर्वसाधरण जनतालाई भन्न चाहन्छु, एमाले र माओवादीले आरामदायी बहुमत ल्याउँछ। हाम्रो बहमुत आएसँगै मुलुकमा स्थिर सकार बन्छ, बामपन्थीहरुको सरकार बन्छ, बन्छ, यो सरकार किन धाक लगाउन हो र ? बेठिक दिशामा लैजानको लागि हो र? हामी त देश र जनताको आकांक्षा पूरा गर्नको लाग एकतावद्ध भएका हौं, र यही दिशामा अघि जान्छौं।’

कम्युनिष्ट शासन बनाउने एमाले र माओवादी केन्द्रका योजना छ अरे नि ? प्रधानमन्त्री शेरबहादुर देउवाले त यही आरोप लगाउनुभएको छ भनेर पत्रकार धमलाले गरेको प्रश्नमा उनले भने,‘नेपालमा कम्युनिष्ट सरकार बन्छ, शासन आउँछ, आउनुपर्छ, नेपाललाई भ्रष्टाचारबाट मुक्त गर्नको लागि लोकतान्त्रिक प्रणाली चाहिन्छ । लोकतन्त्र भनेको कम्युनिष्ट व्यवस्था हो । कम्युनिष्टहरु लोकतन्त्रको लागि लडेका हुन् । लोकतन्त्र के हो ? कम्युनिष्टहरुलाई राम्रो थाहा छ । कम्युनिष्ट सिद्धान्त कहीँ गलत प्रयोग भयो होला, त्यसको जस हामीले लिनु जरुरी छैन ।’

उनले प्रधानमन्त्री देउवाले आधा बुझ्ेको पनि आरोप लगाए । उनले भने,‘कम्युनिष्टहरुको सरकार बने लोकतन्त्र हुँदैन भन्नुभयो, तर म भन्छु उहाँकोजस्तो भ्रष्टतन्त्र हुँदैन, समृद्धि हुन्छ । हामी संविधान बनाउने, हामी जेलनेल गर्ने, हामीले संघर्ष गरेर चुनाव गराउनुपर्ने, अनि लोकतन्त्र अरुले ल्याईदिनुपर्ने, अनि मैले पो ल्याएँ भनेर दाबी गर्नु लाजमर्दो कुरा हो।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका ओलीले थपे,‘देउवाजीलाई आजको दुनियाँको अध्ययन गर्ने फुर्सद छैन, आदत छैन, देउवा लगायतका नेतालाई म भन्छु लोकतन्त्रको लागि गरेको त्याग, बलिदान, संघर्षको लागि, आचरणको लागि हामीसँग तुलना हुने नेता हुने कोही छ ? म बहसको लागि आउँछु।’

अध्यक्ष ओलीले एमाले–माओवादी केन्द्रवीचको गठबन्धन बनेसँगै नेपालमा साम्यवादको हौवा अचम्म रुपमा कांग्रेसले चलाएको समेत आरोप लगाए । उनले भने,‘अरे, डराउनुको पनि हद हुन्छ नि ? कस्तो रुवाबासी ? बच्चाबच्चीले खुटट बझारेर पनि रुदैनन्।’

उनले आफूहरुको शासनको मोडल कस्ते हुने भन्ने कुरा घोषणापत्रमा मात्रै नभएर संविधानमा समेत उल्लेख भैसकेको स्पष्ट पार्दै भने,‘हामीले समाजवाद भनेका छौं । हामीले समाजवादतर्फ उन्मुख भयौं भनेको छौं । यो कुरा कांग्रेसहित भनेका छौं । तर त्यतिवेला उसले नबुझीकन भनेजस्तो भयो, समाजवाद भनेपछि कांग्रेस झसंग–झसंग झस्किन्छ, तर्सिन्छ । होईन कांग्रेससँग ईमान छ कि छैन ? हुन त कांग्रेस विपीको नीति मान्न तयार छु, भन्छ । यहाँ कांग्रेस छटपटाएको किन ?’

उनले अब मुलुकमा पूर्व–पश्चिको ६ लेनको राजमार्ग बन्ने, विद्युतीय रेलमार्ग बन्ने ठोकुवा गर्दै भने,‘हुलाकी राजमार्ग बनाउँछौं, नीजगढ, लुम्बिनी अन्र्तराष्ट्रिय विमानस्थल बन्छ, बन्छ, के के गर्ने भनेर हामीले हाम्रो संयुक्त घोषणापत्रमा पनि भनिसकेका छौं, एक वर्ष, दुई वर्ष, पाँच वर्ष, १० वर्षको योजना सारेका छौं । दिगो विकासको लक्ष्य छ, दू्रत विकास तिव्र र दिगो विकासमा जान्छौं ।’

उनले विकासको मोडेल आफ्नो ढाँचामा अघि बढाउने समेत विश्वास व्यक्त गरे । उनले भने,‘दुनियाँ अन्धाकारमा थियो, यहाँ हाम्रो देशमा आयुर्वेद पत्ता लाग्यो, हामी विद्धान पुर्खाहरुका सन्तति हौं, हाम्रो देशमा खानीमय छ । पहाड, खोलानाला, जीवनमय जमिन छ, उर्वर छ। युवा जनशक्ति छ, अहिले ४० लाख युवा बाहिर छन् । यहाँ रोजगारी सिर्जना गर्ने हो भने हामी छिट्टै देश विकास गर्न सक्छौं । समान अवसर भएको समाज, विविधतामा एकता भएको समाज, एकले अर्कोलाई सम्मान गर्ने समाज, अधिकारसम्पन्न जनता, सुरक्षित र सम्मानित जनता, जलविद्यूत, यातायात, सञ्चार, पर्यटन, कृषि यहाँ धेरै संभावना छन्, हो अब प्राकृति स्रोत र साधनको आधारमा विकास हुन्छ।’

कार्यकारी प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री तपाईहरुको एजेण्डा हो अरे नि ? भन्ने अर्को प्रश्नमा उनले जनताले कसैको हाटहुट र लाटलुटबाट होईन जनताले हाम्रो अभिमत राखे भने असंभव केही पनि नहुने स्पष्ट पारे । उनले अघि थपे,‘मजाक के मा लाग्छ भने, अब कांग्रेस रित्तो भएछ, उसँग नीति छैन, विचार छैन। उसले नचाहिने कुरा फिटेर चुनावलाई एउटा बेग्लै ढंगले प्रदुषित बनाउन खोजेको छ ।’

उनले कम्युनिष्टको सरकार आयो भने श्रीमान्श्रीमतीलाई सँगै बस्न दिँदैन भनेर धेरै अघि हल्ला फिँजाएको भएपनि कांग्रेसको बिगबिगी भएको बेला ४० लाख युवाहरु विदेशीएको आरोप लगाए । उनले थपे,‘लौ हेर्नुहोस् त कांग्रेसीहरुले कहाँ युवायुवतीलाई सँगै बस्न दियो ?’

त्यस्तै ओलीले जनताको लागि संविधान संशोधनको लागि आफूहरु जहिल्यैपनि तयार रहेको बताउँदै भने,‘जनताले यति आवश्यक ठाने र देशको हितमा छ भने हामी संशोधन गर्न प्रक्रिया अघि बढाउँछौं । यो भनेको संशोधननीय दस्तावेज हो । तर संशोधन नेपालको अहितमा र अरु कसैको हितमा हुन सक्दैन, र गर्न पनि दिँदैनौं ।’

ओलीले प्रत्यक्ष निर्वाचित राष्टपति प्रणाली अलोकतान्त्रिक हुन्छ र ? भन्दै प्रश्न समेत तेर्साए । उनले थपे,‘नेपालमा हेर्नुहोस् त प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गर्नुभएको ? यहाँ निरंकुशता अहिले भएको छैन र ? हेर्नुहोस्, अमेरिकामा पनि त राष्ट्रपतीय प्रणाली छ, के यो प्रणाली लोकतान्त्रिक हो कि होईन । चीनको व्यवस्था लोकतान्त्रिक हो कि होईन, विकास गर्न नहुने ? प्रतिष्पर्धा र प्रणालीको आफ्नो ढाँचा हुन्छ ?’

सबै देशको आफ्नोे प्रणाली भएको उल्लेख गर्दै भने,‘आफ्नो कुरा हो, हामी हस्तक्षेप गर्दैनौं, तर हामी लोकतान्त्रिक मुल्य र मान्यता र जनतामा आफ्नो प्रणाली विकास गर्न चाहन्छौं । देश र जनतको लागि हो । म लोकतान्त्रिक हुँ भनेर प्रमाणपत्र सानेपाबाट लिनुपर्दैन्, कसैबाट आईएसओ सर्टिफकिट लिन जरुरी छैन । कांग्रेस आँफै लोकतान्त्रिक छैन, कि छ भने भन्नुहोस् है, कांग्रेस एमालेजस्तो लोकतान्त्रिक छ र ? छैन, हामी अरु कसैको नक्कल गर्दैनौं ।’

अहिले आएको चुनावी घोषणापत्रमा राष्ट्रियताको कुरा त्यति उल्लेख छैन नि भनेर सोधिएको अर्को प्रश्नमा उनले थपे,‘यो नबुझ्नेहरुको कुरा हो, तनाबपूर्ण सम्बन्ध भयो, म प्रधानमन्त्री हुँदा सम्बन्ध सुधार गरें, नाकाबन्दी खोलें, अहिले देशमा बेग्लै खालको विकासको लहर आयो, भारत र चीन दुवै छिमेकी मित्र हुन, हामी दुवैसँग उतिकै समान सम्बन्ध राख्न चाहन्छौं । यता लागेर उतातिर जिस्क्याउने, यता र उता लाग्न जरुरी छैन, छिमेकीहरुसँग कुरा लगाएर नाफा लिन चाहँदैनौं, तर हामी त कुरा गरेर सम्वाद गरेर अघि बढ्छौं ।’

उनले आफ्नो पार्टी आँखा खुलेको राष्ट्रवाद भएको बताउँदै थपे,‘नबुझेकाहरुले जेसुकै भनुन्, तर बुझेकाहरुलाई सोध्नुहोस् त एमालेले गरेको के हो भनेर ? लोकतन्त्रलाई प्रणाली बनाउने कि जीवनप्रणाली बनाउने ? कुरा यहाँनिर छ ।’

तर तपाई त अहिले भारतसँग राम्रो सम्बन्ध बनाउने तयारीमा हुनुहुन्छ अरे नि भनेर धमलाले सोधेको अर्को प्रश्नमा ओलीले थपे,‘मेरो सम्बन्ध के भएर विग्रियो र ? नेपालको प्रधानमन्त्री भारत जाँदा देश र दुनियाँलाई थाहा थियो, वार्ता र सम्वाद कसरी हुनुपर्छ थाहा हुन्थ्यो, म नेपाली हुँ, म नेपालको हितमा काम गर्छु, मैले जे गरें, विल्कुल ठिक छ । मैले कहिले भारतसँग दुश्मनी गरेको थिएँ र ?

उनले अब प्रधानमन्त्री को बन्ने ? राष्ट्रपति को बन्ने भन्ने कुरा जनताले के भन्छन् त्यसमा भर पर्ने कुरा भएको समेत स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टीले के भन्छ, तालमेलवाला मित्रले के भन्छन् ? यसमा भर पर्छ, लेनदेनबाट राजनीति होईन, देशको आवश्यकत्ताबाट हुने हो । अब मिलेर एकताबद्ध भएर हामी अघि बढ्छौं। हुन त हामीवीच अहिले चुनावी तालमेल भएको छ, पर्टी एकता हुन्छ, अब हामी अगाडि बढ्यौं ।’

आफू निष्ठाको साथ काम गर्ने नेता भएकोले मंसिरको चुनावपछि दुई पार्टीवीच एकता हुने ओलीले विश्वास दिलाए । ओलीले थपे,‘अब हल्ला मच्याउनेहरुको बिजनेस चल्दैन ।’

फरक प्रसँगमा उनले आफू चुनाव जित्नेमा ढुक्क रहेको समेत दाबी गरे । उनले थपे,‘ यहाँका जनताले मलाई नचिन्दा पनि मेरो त्यागपुर्ण जीवनलाई हेरेर भोट दिएका छन् । मन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री भएर काम गरेको देखेका छन्। म उहाँहरुप्रति ऋणी छु, त्यो ऋण म देश विकास गरेर पूरा गर्छु, चुक्ता गर्छु, व्यक्ति व्यक्तिको म ऋण चुक्ता गर्न सक्दिन् । मैले जनताको मतबाट भ्रष्टाचारको बाटो समाँतिन् । स्वार्थको बाटो समाँतिन् । उत्ताउलिन पनि जाँनिन् । मेरो साथमा जनता छन् । मेरो साथमा संकल्प छन् । गोलघरमा धैर्यता राखेको मान्छे, म किन आँत्तिनु ?’

उनले स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित निर्वाचन हुने समेत स्पष्ट पारे । उनले भने,‘चुनावमा राज्य संयन्त्रको दुरुपयोग हुँदैन ।’

 



प्रतिक्रिया दिनुहोस्