Logo

माक्र्सवाद–लेनिनवाद र द्वन्द्वात्मक भौतिकवादलाई आधार बनाएर एकता गरिनेछः दाहाल



चितवन, २७ कात्तिक (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले) र आफ्नो दल एक हुने कुरामा शंका नगर्न आग्रह गर्नुभएको छ।

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति चितवनले आज नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालय भरतपुरमा आयोजना गरेको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचनलगत्तै दुई दलबीच एकीकरण हुने बताउनुभयो ।

अब आफू अन्य जिल्लामा पनि जानुपर्ने भएकाले सबैलाई आफू ‘प्रचण्ड’ बनेर चुनावी अभियानमा लाग्न आग्रह गर्दै वाम गठबन्धनका उम्मेदवार दाहालले भन्नुभयो, “म निर्वाचन क्षेत्रमा नहुँदा विपक्षीहरुले खेल्न पनि सक्छन्, कसैलाई प्रभावमा पार्न सक्छन्, त्यसकारण तपाईँहरु आफै ‘प्रचण्ड’ सम्झेर प्रचारप्रसारमा जुट्नुहोस् ।”

दाहालले सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने र सिद्धान्तको पछि लागेर जनतालाई दुःख दिन नहुने स्पष्ट गर्नुभयो । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर सिद्धान्त मिलाउँदै जानुपर्ने अध्यक्ष दाहालको भनाइ थियो । उहाँले भन्नुभयो “मान्छेको लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन ।”

पार्टी एकता गर्दै गर्दा सिद्धान्तका विषयमा हुन सक्ने मतभेदका विषयमा दाहालले भन्नुभयो, “ माक्र्सवाद–लेनिनवाद र द्वन्द्वात्मक भौतिकवादलाई आधार बनाएर एकता गर्दै जाऔँ, नमिलेका कुरा छलफल गरी टुंग्याउँदै लैजाऔँ । यो बढी राष्ट्रको हितमा हुन्छ ।”

उहाँले समाजवाद अबको उद्देश्य भएको बताउनुभयो । शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवाद सम्भव हुनेछ भन्दै उहाँले नेपाल अब आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले वामपन्थी तालमेलसँगै दुई तिहाइ बहुमतसहितको सरकारले देशलाई समृद्धिको बाटामा लैजाने बताउनुभयो । कार्यक्रममा जिल्लाका वाम गठबन्धनका स्थानीय निकायदेखि जिल्लासम्मका निर्वाचन परिचालन कमिटीका सदस्यको सहभागिता थियो । आगामी मंसिर २ गते झापा र ५ गते भरतपुरमा वाम गठबन्धनको सभा हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्