Logo

देउवा नेतृत्वको सरकार अहिले जंगलबाट फुत्किएको अर्ना भएको छ, हामी फेरि जंगलमै लगेर राख्छौं : कार्की



विश्वप्रकाशप्रति व्यंग्य : ‘घर–घर त फेरी लाउने जोगी पुग्छन्, तर म भन्छु यो क्षेत्र बामपन्थीहरुको गढ हो’
झापा, २८ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाको लागि बाम गठबन्धनका उम्मेद्धवार राम कार्कीले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले झापाको चन्द्रगढीमा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै नेता कार्कीले गठबन्धनको उम्मेद्धवार बन्नु नै आफ्नो जितको पहिलो आधार भएको जिकिर गरे ।

उनले भने,‘स्थानीय तहको मतपरिणाम हेर्नुहुन्छ भनेपनि अहिले हाम्रो गठबन्धनको १७ हजार मत बढि छ, त्यसैले वाम गठबन्धनको आधार नै मेरो विजय सुनिश्चित हो, चुनावमा भोट गनेर जितिने हो, म त भन्छु स्थानीय तहको परिणाम पनि बढोत्तरी हुन्छ, कम हुँदैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा कार्कीले आफूलाई टुरिष्ट उम्मेद्धवार भनेकोमा कुनै आपत्ति नभएको जनाउँदै भने,‘कोही पनि मान्छेको जन्म जमिनले गराउँदैन, मान्छे आमाको गर्भबाट जन्मिन्छ । म कम्युनिष्ट आन्दोलनको यात्री हुँ । त्यसो भएको हुनाले पनि मलाई यात्री भनेका होलान् । ठिकै छ।’

कांग्रेसका उम्मेद्धवार विश्वप्रकाशले त यो क्षेत्रको विकासको लागि आफुलेजति काम अरु कसैले नगरेको र जनताको घरघरमा पुगेको दाबी गर्नुभएको छ नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने,‘घर घर त फेरी लाउने जोगी पुग्छन्, जग्गा दलालीहरुपनि घरघरमा पुग्छन्, तर म भन्छु यो क्षेत्र बामपन्थीहरुको गढ हो, झापा आन्दोलनको सृष्टि यही क्षेत्रबाट भएको हो, संस्कृतिहरुको भण्डार हो, धरोहर हो । एक नम्बर क्षेत्रका शहरहरु यहाँका पौरखी मान्छेहरुले बनाएका हुन् । यो ठाउँमा म जस्तो उम्मेद्धवार सबैको निम्ति स्वागतयोग्य हो ।’

उनले आफूलाई विजयी गराउनको लागि धेरै राम्रो माहोल बनेको बताउँदै भने,‘यहाँ अहिले निर्मल र कन्चन व्यक्तिहरुको टिम बनेको छ, यो टिम मलाई चुनाव जिताउनको लागि बनेको हो, म निकै खुशी छु।’

उनले आफू विजयी भए यो क्षेत्रका सडकहरुलाई अफ्रिकनजस्तो ब्युटि प्रदान गर्ने समेत विश्वास दिलाए । उनले भने,‘हामी विजयी भएपछि बृद्धहरुलाई ५ हजार भक्ता पुर्याउँछौं, किसानहरुलाई पेन्सन दिँदैछौं । झापाका सडकहरुलाई अफ्रिकनजस्तो ब्युटीजस्तो म पाँच वर्षभित्र गरिदिन्छु । रेमिट्यान्सको दुरुपयोग भैरहेको छ, अब सदुपयोग हुन्छ ।’

कार्कीले आफू अन्र्तराष्ट्रिय सम्बन्ध बुझेको मान्छे भएको बताउँदै थपे,‘ओबिआरमा चाईनाले मलाई नै बोलाएको थियो, भारतपनि मैले राम्रो बुझेको छु, हामी धेरै गर्न सक्छौं।’

उनले वर्तमान सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण्को लागि चीनीयाँ कम्पनी गेजुवासँगको सम्झौता खारेज गरिदिएकोबारे टिप्पणी गर्दै भने,‘सरकार त अहिले जंगलबाट फुत्किएको अर्ना भएको छ, अब हामी जंगलमा थुन्छौं ।’

उनले कम्युनिष्टहरुवीच एकता हुनुपर्छ भन्ने कुराको अभियान आफूले नै चलाएको जिकिर गर्दै भने,‘मेरो अर्को कुनै स्वार्थ छैन, ऋषि धमलाले पनि मलाई कहिल्यै हमला गर्न सकेनन्, किनकी मैले मन्त्री हुँदा कहिल्यैपनि गलत काम गरिन्।’

उनले एमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरे । उनले भने,‘सरकार बनिसकेपछि हामी महाधिवेशनको मिति घोषणा गर्छौं । पार्टी एकता हुन्छ, अहिले स्वभाविक रुपमा केपी ओलीले चाहेको मान्छे प्रधानमन्त्री बन्नुहुन्छ । उहाँले आँफै चाहनुभयो भने उहाँ नै प्रधानमन्त्री बन्नुपर्छ ।’

उनले आफू त पार्टीलाई ठिक ठाउँमा ल्याउनको लागि, समाजवादी कार्यक्रम बनाउने, कांग्रेसलाई साईजमा ल्याईदिने गर्नेगरि डिजाईन गर्नेमा लाग्ने जानकारी दिए । अबको तीन वर्षभित्र झापा आईपुग्दा पत्रकार ऋषि धमलाले आफूलाई यति चाँडो कसरी विकास भयो भनेर प्रश्न सोध्ने भन्दै उनले ठट्टा समेत गरे ।

भारतसँग सुमधुर सम्बन्ध हुने भन्दै कार्कीले थपे,‘हामीले उनीहरुसँग शीर ठाडो पारेर कुरा गर्दा राम्रो हुन्छ, हमा्रे त डिप्लोमेसी राम्रो नभएर न हो नि। भारतका सबै नेताहरुको मैले बायोग्रापी पढेको छु । हामी भारतको विरोधी होईनौं, हामी भारतका जनतासँग सम्मान चाहन्छौं । हामीले लिने बाटोको उनीहरुले सम्मान गर्नुपर्छ, उनीहरुले लिने बाटोको पनि हामी सम्मान गर्न चाहन्छौं ।’

कार्कीले झापाका चेलीहरु पत्रकार धमला आउने चाल पाएपछि भजन रोकेर हेर्न आएको भन्दै धमलाप्रति स्थानीय जनताहरुको क्रेजबारे चर्चा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्