Logo

‘एक भोट धर्मलाई, एक भोट कर्मलाई’ भन्दै पाँच पार्टीद्धारा संयुक्त घोषणापत्र जारी



काठमाडौं, २८ कार्तिक । राष्ट्रिय शिव सेना पार्टी, पूरानो शक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, शान्ति क्षेत्र परिषद र लोकतान्त्रिक फोरमवीच चुनावी गठबन्धन भएको छ ।

मंगलबार उक्त गठबन्धन भएकोबारे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । शिव सेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले यी पाँच पार्टीवीच आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि चुनावी गठबन्धन भएको जानकारी दिए ।

पाँच पार्टीले आज संयुक्त घोषणा–पत्र समेत सार्वजनिक गरेका छन् ।  घोषणापत्र सार्वजनिक कार्यक्रममको सभापति समेत रहेका अध्यक्ष बमले आफूहरुको गठबन्धन गणतन्त्रको विरुद्धमा रहेको भन्दै संवैधानिक राजसंस्था र हिन्दू–बौद्ध अधिराज्य स्थापनाको लागि गठबन्धनले जस्तोसुकै कदम समेत चाल्न सक्ने बताए ।

उनले भने,‘हामीले भनेजस्तो संवैधानिक राजसंस्था र हिन्दू–बौद्ध अधिराज्य स्थापना भएन भने हामी प्रजातान्त्रिक पद्धती अनुरुप सशत्त र सशस्त्र आन्दोलन समेत गर्न पछि हट्दैनौं ।’

त्यस्तै कार्यक्रममा पूरानो शक्ति पार्टीका अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले विश्वमा रहेका ५० करोड बुद्धिष्टहरुलाई वर्षमा एक प्रतिशतलाई मात्रै नेपाल घुम्नको लागि बोलाउन सकियो भने मुलुकको विकासमा ठूलो टेवा पुग्ने विश्वास दिलाए ।

उनले आफूहरुको गठबन्धनले मुलुक समृद्ध बनाउनको लागि विकासका एजेण्डाहरु अघि सारेको बताउँदै अहिलेको शासन पद्धती अनुसार मुलुक चल्न नसक्ने समेत ठोकुवा गरे । उनले मुलुकलाई सही मार्गमा अघि बढाउनको लागि ०४७ सालकै संविधान पूर्नस्थापना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लोकतान्त्रिक फोरमका उपाध्यक्ष भुमी आचार्यले तत्कालिन पार्टी अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेससँग एकता गरेर जनतालाई धोका दिएको हुनाले आफूहरुले बाध्य भएर राष्ट्रिय शिवसेना पार्टीसँग गठबन्धन बनाएको स्पष्ट पारे । उनले यही गठबन्धनले नै मुलुकको विकासमा काम गर्ने र जनताको मुहार फेर्ने समेत जिकिर गरे ।

संयुक्त गठबन्धनले ‘एक भोट धर्मलाई एक भोट कर्मलाई’ भन्ने मुल नाराका साथ घोषणापत्रमा संवैधानिक राजसंस्था, हिन्दू अधिराज्य, अखण्ड नेपाल, पुनःस्थापनार्थ जनभावना विपरित जारी भएको संविधान ०७२ खारेजी, ०४७ सालको संविधान पूर्नस्थापर्ना र हिन्दू बौद्ध धर्म संस्कृतिको रक्षक, देश र जनताको रक्षक र देशको रक्षक भएको उल्लेख गरेको छ । त्यस्तै उनीहरुले सिपाही चुनाव चिन्हमा मतदान गर्न समेत आम जनतासँग अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्