Logo

चुनाव जित्नको लागि प्रचण्डको माथि एमालेसँग तालमेल, तल कांग्रेससँग साँठगाँठ



काठमाडौं, २९ कार्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच चुनावी तालमेल र निकट भविष्यमा पार्टी एकताको घोषणा भएको छ ।

चुनावी तालमेलमात्रै नभएर पार्टी एकताको समेत तयारी भैरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने चितवनमा नेपाली कांग्रेससँग हिमचिम र भित्री साँठगाँठलाई तिव्रता दिएका छन् ।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेद्धवार बनेको दिनदेखि नै प्रचण्ड चुनावी अभियानमा व्यस्त छन् । उनले अहिले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । उनको चुनावी कमाण्डर एमाले नेता देवी ज्ञवाली छन् । केन्द्रमा एमालेसँग चुनावी तालमेल गरेपनि चितवनमा भने नयाँ सिन देखिएको छ ।

स्रोतका अनुसार कांग्रेसकै मान्छेहरुलाई भेटेर प्रचण्डले मत माँगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले चिवतनको विकासको लागि आफू पूर्ण प्रतिबद्ध रहेको र कांग्रेससँगको सहकार्य निकट भविष्यमा हुने भन्दै चितवनका जिल्लास्तरीय नेताहरुसँग दैनिकजसो बैठकहरु बसिरहेका छन् ।

कांग्रेसका अधिकांश नेताहरुले पनि विक्रम पाण्डेलाई किन भोट हाल्ने ? हामी तपाईलाई नै भोट हाल्छौं भनेर प्रचण्डलाई आश्वासन दिएका छन् । आश्चर्य त के भने देशभरि एमालेसँग गठबन्धन गरेपनि प्रचण्डले चितवनका कांग्रेस नेताहरुसँग बाक्लो हिमचिम बढाएका छन् ।

यता लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्धवार बनेका राप्रपा(प्रजातान्त्रिक)का नेता एवम् वनमन्त्री विक्रम पाण्डे पनि एमाले, कांग्रेस र माओवादीका नेताहरुले आफूलाई सहयोग गर्छन भनेर मख्ख छन् । उनले प्रचण्डलाई टुरिष्ट उम्मेद्धवार भनेर आरोप लगाएका छन् । समग्र चितवनको विकासको लागि आफूसँग गुरुयोजना रहेको भन्दै अबको निर्वाचनमा विजयी गराउन अपिल गरेका छन् ।

त्यस्तै प्रचण्डले पाण्डेलाई ठेकदारले कहिल्यैपनि विकास गर्न नसक्ने भन्दै आफूलाई मत दिन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्