Logo

गोलि बर्साउनेलाई भोट नहाल्नुस्, चुनाव लगत्तै मधेश प्रदेश घोषणा गर्छौ– उपेन्द्र यादव



सप्तरी (पकरी)२९, कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाको मधेश गठबन्धन दुई नम्बर प्रदेशमा दुई तिहाई बहुमत ल्याएर विजयी हुने दाबी गरेका छन् । अध्यक्ष यादवले आफूहरुको गठबन्धन विजयी भए लगतै प्रदेश दुईलाई मधेश प्रदेश घोषणा गर्ने दाबी गरे ।
स्थानीय चुनावको उत्साहजनक नतिजालाई आधार मान्दै आगामी चुनावमा फोरम नेपाल र राजपाको प्यानल भारी बहुमतले जित्ने यादवको दाबी छ ।
सप्तरीको आफ्नो निर्वाचन क्षेत्र २, महदेवा गाऊँ पालिका वडा नम्बर १, पकरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले पर्सादेखि सप्तरीसम्मको आठ जिल्लालाई समेटेर प्रदेश दुईमा मधेश सरकार निर्माण गर्ने बताएका हुन ।
मधेश विरोधीलाई भोट नहाल्नुस्
फोरम नेपालका अध्यक्ष यादवले मधेश विरोधी शक्तिलाई भोट नहाल्न आह्वान गरेका छन् । कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनका क्रममा निहत्था जनतामाथि गोलि हान्न लगाउने तीन दललाई भोट नदिन अपील गरेका हुन् ।
अधिकार प्राप्तिका लागि सडक संघर्षमा रहेका निहत्था जनतामाथि हिजो गोलि हान्न आदेश दिने कांग्रेस, माओवादी र एमाले मधेश विरोधी हुन् । उनीहरुलाई भोट हाल्नु भनेको मधेश आन्दोलनको अपमान हो’– सयौंको संख्यामा उपस्थिति जनतालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने । अध्यक्ष यादवले औपचारिक रुपमा आइतबारदेखि चुनावी प्रचार प्रसार सुरु गरेका छन् ।
शहीदलाई श्रद्धाञ्जली सम्झेर मधेशी गठबन्धनलाई भोट हाल्नुस्– मनिश सुमन
राष्ट्रिय जनता पार्टीका महासचिव मनिश कुमार सुमनले आन्दोलनका शहीदहरुलाई श्रद्धाञ्जली वापत् फोरम नेपाल र राजपा नेतृत्वको मधेश गठबन्धनलाई भोट हाल्न आम जनतालाई अपील गरेका छन् ।
महदेवाको पकरीमा आयोजित सोही सभालाई सम्बोधन गर्दै नेता सुमनले पनि मधेश विरोधी शक्तिलाई भोट हालेर शहीदको अपमान गर्न नहुने सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्