Logo

निर्वाचन आयोगद्वारा नमूना मतदान अभ्यास -(फोटोफिचर)



काठमाडौँ, २९ कात्तिक : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ ।

आयोगले आज मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले बताउनुभयो ।

नमूना मतदानबाट मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुने र कर्मचारीको व्यस्थापनमा पनि सहजता हुने बताउँदै उहाँले “पहिले आफ्ना कर्मचारीलाई सिकाएर त्यसपछि फिल्डमा सिकाउन खटाउने योजनाअुनसार हाल जिल्ला जिल्लामा नमूना मतदान भइरहेको छ,” भन्नुभयो ।

उम्मेदवारमाथि भएका केही आक्रमणका घटनाका सम्बन्धमा प्रमुख आयुक्त डा यादवले दुःख व्यक्त गर्दै त्यस सम्बन्धमा सरकारसँग उच्चस्तरमा कुरा भइरहेको र यसलाई सरकारले गम्भीरतापूर्वक लिई सुरक्षाको पूर्ण प्रत्याुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।

शुरुमा नमूना मतदान गर्नुभएका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तीनवटै मतपत्रमा मतदान गर्न एकजना मतदातालाई २ मिनेट समय लागेको बताउँदै यसले मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समयका बारेमा समेत जानकारी हुने बताउनुभयो ।

उहाँले निर्वाचनमा उम्मेदवारलाई सुरक्षाको चुनौती आएमा विश्लेषणसहित जिल्ला सुरक्षा समितिमा सम्पर्क गरे सुरक्षा उपलब्ध गराउने सरकारको प्रतिवद्धता रहेको बताउनुभयो ।

आयोग परिसरमा गरिएको नमूना अभ्यासमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी, स्वंसेवक, पर्यवेक्षक, मतदान प्रतिनिधि, सञ्चारकर्मीलगायत सम्पूर्ण व्यवस्था गरिएको थियो ।

नमूना मतदानमा तथ्याङ्कबमोजिम महिला पुरुषको लाइनअनुसार मिलाएर नाम रुजु गरी पहिले हरियो मतपत्र (प्रतिनिधिसभाको) प्रदान गरिएको थियो । कर्मचारीले त्यसमा मन परेको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई पहिलो मतपेटिकामा खसालेका थिए ।

त्यसपछि दोस्रो कालो मतपत्र (प्रदेशसभाको) दिइएको थियो । त्यसमा पनि मन परेको कुनै एक चिह्नमा छाप लगाई सकेपछि कर्मचारीले दोस्रो मतपेटिकामा मतपत्र खसालेका थिए । लगत्तै तेस्रो रातो मतपत्र (समानुपातिक) दिइएको थियो । उक्त मतपत्रमा माथि प्रतिनिधिसभाका दलको चिह्न थियो भने तल प्रदेशसभाका दलको निर्वाचन चिह्न थियो । कर्मचारीले त्यस मतपत्रमा माथि एक र तल एक गरी दुई स्वस्तिक छाप लगाइसकेपछि अन्तिम मतपेटिकामा मतपत्र खसालेका थिए ।

नमूना मतपत्रका बारेमा आयोगका सूचना अधिकरी सूर्यप्रसाद अर्यालले जानकारी गराउनुभएको थियो । (रासस)

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्