Logo

बुढीगण्डकीको ठेक्का रद्द भएको हो, परियोजना रद्द भएको छैन : नेता खाँण



काठमाडौं, ३० कार्तिक  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक बालकृष्ण खाँणले बुढी गण्डकी आयोजनाको ठेक्का मात्र रद्दगरिएको आयोजना यथावत रहेको बताउनुभएको छ  ।

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समिति अन्तरगतको केन्द्रीय मिडिया सेन्टरद्धारा बिहिबार अपरान्ह पार्टी कार्यालय सानेपामा आयोजित विशेष पत्रकार भेटघाट कार्यक्रममा संयोजक खाँणले सो कुरा बताउनुभएको हो ।

उहाँले पूववर्ति  प्रचण्ड नेतृत्वको सरकारको पालामा प्रधानमन्त्रीले राजिनामा दिइसकेपछि सोही पार्टीका विभागीय ऊर्जामन्त्रीमार्फत ठाडो प्रस्ताव ल्याएर हतारमा गरिएको सो निर्णयका बारेमा संसदको कृषि तथा जलस्रोत समिति रअर्थ समितिको संयुक्त बैठकले समझदारी खारेज गर्ने निर्देशन दिएकोले वर्तमान सरकारले त्यसको पालना गरेको दावी गर्नुभयो ।

संसदीय समितिको निर्देशन पछि सरकारले यस सम्बन्धी आवश्यक अध्ययन, छलफल र कागजातको छानवीन समेत गरेर सो निर्णय लिएको पनि बताउनुभयो ।

“अर्बौको प्रोजेक्ट प्रक्रिया मिचेर दिइएको रहेछ” कांग्रेस नेता खाँणले भन्नुभयो,“ प्रतिस्पर्धा गर्दा लागत कम हुन सक्ने अवस्था पनि आउछ ।”

कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक  समेत रहनुभएका नेता खाँणले सरकारले निर्णय गर्ने वित्तिकै विपक्षी गठबन्धनका नेताहरुले हतारहतार पत्रकार सम्मेलन गर्नुले पनि यसमा अवाञ्छनीय खेल भएको हाम्रोआशंकालाई पुष्टि गरेको छ ।

नेता खाँणले नेपाली कांग्रेस समृद्धिको अभियानमा लागेको र जलस्रोत लगायत अन्य पूर्वाधार विकास गर्दा जग्गा अधिकरण र मुआब्जा वितरणमा पीडितहरुको मागलाई ध्यान दिन  आग्रह गरेको पनि बताउनुभयो ।

उहाँले आयोजनाशुरु भएपछि वरपरका जग्गाको भाउ बढ्ने र सरकारले तोकिदिएको मुआब्जाले त्यसै अगलबगलका आधा जमीन पनि नआउने अवस्था धेरै ठाउँमा देखिएको बताउनुभयो ।

यस बाहेक मुआब्जा बुझ्नेसंग सरकारले लाभकर लिनु न्यायसंगत नभएको उल्लेख गर्दै प्रक्रिया मिलाएर सोको मिन्हा गर्न पनि सरकारसंग अनुरोध गर्नुभयो ।

कांग्रेसको अवस्था सुदृढ

कांग्रेस केन्द्रीय सदस्य खाँणले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको उल्लेख गर्नुभयो ।

उहाँले राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सामाजिक न्यायको एजेण्डा एकसाथ बोकेर हिड्ने नेपाली कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने पनि बताउनुभयो ।

कांग्रेस नेता खाँणले आगामी १० बर्षमा देशलाई समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम कांग्रेससंग मात्र भएको पनि उल्लेख गर्नुभयो ।

नेता खाँणले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको सान्दर्भिकताका  बारेमा दिएको तुच्छवाणि प्रति अपशोच व्यक्त गर्दै लोकतन्त्रमा विश्वास गर्ने, आर्थिक उदारवाद  र न्यायपूर्ण समतामूलक समाज निर्माणकोलक्ष्य  लिएको पार्टीको सान्दभिकता सधै रहिरहने दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो,“ कांग्रेसका सिद्धान्त कालजेयी छन” ।

कांग्रेस नेता खाँणले पार्टी,पार्टीका केन्द्रीय एवम् जिल्लास्तरका नेताहरु नै उद्योग र व्यापारमा संलग्न रहेका बामपन्थी दलहरुले चुनाव जितेमा पार्टी र संबन्धित कार्यकर्ताहरुको मात्र हित सोचे भने स्वतन्त्र उद्योगी र व्यवसायीको व्यवसाय चौपट्ट पर्ने भय उत्पन्न भएको पनि बताउनु भयो ।

विगतमा एमालेबाट संविधानसभामा प्रतिनिधित्व गरिसक्नुभएका प्रसिद्ध उद्योगी विनोद चौधरी पार्टी र कार्यकर्तामुखी आर्थिक नीतिले मुलुककोे आर्थिक विकास नहुने निष्कर्षमा पुगेर नेपाली कांग्रेस प्रवेश गर्नुभएको कुरा पनि स्मरण गराउनुभएको थियो ।

नेता खाँणले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वबाट थाल्नुभएको प्रचार अभियान पश्चिम पुगीसकेको र नेपाली कांग्रेसले सबै प्रदेशमा मिडिया सेन्टर स्थापना गरेको बताउदै यसले निर्वाचनमा नयाँउत्साह र रौनक ल्याएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“ हाम्रो अवस्था दिनदिनै अझ मजबूत बन्दै गएको छ ।”



प्रतिक्रिया दिनुहोस्