Logo

आज बालाचतुर्दशी, दिवंगत आफन्तको सम्झनामा शिवालयहरुमा सतबीज छरिदैं (फोटोफिचर)



काठमाडौं, १ मंसिर । आज बालाचतुर्दशी । दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरिंदैछ ।

सत्बीज छर्न बिहीबार बेलुकीदेखि नै पाशुपत क्षेत्रमा भेला भएर भक्तजनहरुले महादीप बाली रातभर जाग्राम बसी भजन किर्तन गरेका थिए । आज बिहानै पाशुपत क्षेत्रमा सतबीज छर्न भक्तजनको ठूलो भीड लाग्यो । उनीहरुले पाशुपत क्षेत्र वरपर आफ्ना दिवंगत पितृको सम्झनामा सद्बिज छरेका हुन् ।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदो छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ ।

बालाचतुर्दशीमा पाशुपत क्षेत्रको मृगस्थली वा श्लेषान्तक वनमा छरेको सतबीज दिवंगत भएकाका लागि बाली रोपिएको भन्ने लोकोक्ति पनि छ । सतबीजबाट उम्रने अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने जनविश्वास रहिआएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्