Logo

निर्वाचनलगत्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनेगरि संविधान संशोधन गर्छौं : पूर्वमन्त्री नायक



‘वाम गठबन्धनले बहुमतमात्रै होईन, दुई तिहाई नै ल्याउँछ’
सिरहा, १ मंसिर । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अजयशंकर नायक ‘अविनाश’ले अबको निर्वाचनमा बाम गठबन्धनले बहुमतमात्रै नभएर दुई तिहाई नै ल्याउने दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले सिरहाको मिर्चैयामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि वाम गठबन्धनका संयुक्त उम्मेद्धवार समेत रहेका नायकले निर्वाचनपछि वाम गठबन्धनको सरकार बन्ने जिकिर गरे । उनले भने,‘ढुक्क हुनुहोस्, अबको निर्वाचनमा हाम्रो गठबन्धनले स्पष्ट बहुमत ल्याउँछ, हाम्रो टार्गेट त दुई तिहाई हो।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नायकले सिरहामात्रै नभएर पूरा देशभरि नै वामगठबन्धनको अवस्था मजबुद रहेको स्पष्ट पारे । उनले भने,‘यहाँका आधारभुत जनता खासगरी मजदुर र किसानहरु उत्साहित छन्, उहाँहरुलाई उर्जावान बनाउनको लागि हामी दिनरात खटिरहेका छौं । जनताको मुख्य समस्या जनजिविका हो, गरिबी हो, हो यी समस्याहरुलई सम्बोधन गर्नेबारे हामी लागिपरिरहेका छौं ।’

सिरहाको यही क्षेत्रबाट अघिल्लोपटक चुनाव जितेर प्रधानमन्त्री समेत बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यहाँको विकासको लागि केही गर्न सक्नुभएन नि भनेर सोधिएको एक प्रश्नमा नायकले भने,‘यो कुरा यहाँको जनतालाई राम्रोसँग थाहा छ, जनताको लागि उहाँले केही गर्नूभएन भन्ने गुनासो छैन, उहाँ आँफैै प्रधानमन्त्री भएको बेला पनि बजेट पास गर्न पाउनुभएन, यो कुरा सिराहावासी जनताले राम्ररी बुझ्छन्, तर एउटा सत्य कुरा ते के हो भने उहाँले राम्रो बजेट छुट्याउनुभएको छ ।’

उनले एमाले र माओवादी केन्द्रको नेतृत्वमा बनेको वाम गठबन्धनले मुलुक विकासको लागि नयाँ प्राण दिने र पूरानो तरिकामा अब काम नहुने सन्देश दिने विश्वास दिलाउ । उनले भने,‘हो, विगतमा काम हुन सकेको थिएन, अब काम हुन्छ । यो सन्देश हामी वामपन्थीहरुको सरकार बनेपछि दिन्छौं।’

उनले अघि थपे,‘केही हामीले गर्न खोजेकै हो, हिजोपनि हामीले गरेकै हो, अब चाहीँ जनताको आकांक्षा अनुसार काम हुन्छ, सिरहामामात्रै होईन, सबै ठाउँमा समस्या छ । ऋषिजी सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका समस्याहरु जो छन्, यो चाहीँ हाम्रो मात्रै समस्या होईन, यो त राष्ट्रिय समस्या हो । मेरो भूमिका प्रमुख रहनेछ ।’

उनले चुनावपछि संविधान संशोधन हुने समेत विश्वास दिलाए । उनले भने,‘मधेशी जनता र जनजातिको समस्या समाधान गर्न संविधान संशोधन हुन्छ भनेर हामीले ७ बुँदे सम्झौतामा पनि उल्लेख गरेका छौं, हिजो किन भएन भन्दा एमाले अध्यक्ष केपी ओलीलई अरुले स्विकार नगरेकोले हो, अब त्यस्तो हुँदैन, अहिले चाहीँ राष्ट्र र जनताप्रति गठबन्धनले स्वार्थ देखाएको छ, हिजो पार्टीको स्वार्थ थियो, अब समस्या हल हुन्छ।’

वाम गठबन्धन जनता र राष्टप्रति प्रतिबद्धत भएको भन्दै अब एकचोटी मुलुकको सबै समस्या यही गठबन्धनबाट हल हुने उनको विश्वास थियो । उनले भने,‘संशोधनमा हुन्छ, जनताको अधिकारसम्पन्न गर्न हामी संशोधन गर्छौं, चुनावपछि संशोधन हुन्छ।’ नायकले अब नेपालमा पनि समाजवादको फ्रेम बन्ने विश्वास दिलाए ।

त्यस्तै उनले निर्वाचनपछि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि संविधान संशोधन गर्नेपनि जनाए । उनले थपे,‘तर यसको लागि राष्ट्रिय सहमति हुन्छ । गठबन्धनले बहुमत ल्याउँछ ।’

नेपाली कांग्रेसका नेता प्रदिप गिरीले वाम गठबन्धनको प्रदेश नम्बर २ मा २ सिटपनि जित्न नसक्ने भनेर गरेको ठोकुवा गलत साबित हुने भन्दै चुनावी नतिजा कुर्न चेतावनी दिए । उनले भने,‘उहाँलाई जनताको अध्ययन छैन् । उहाँको के कुरा गर्नुहुन्छ, उहाँ त पहिले यही क्षेत्रबाट चुनाव लड्छु भन्नुभएको थियो, तर उहाँ लड्नभएन नि ? हाम्रो गठबन्धनको बहुमत आउँछ, हाम्रो टार्गेट दुई तिहाई हो । जनता उत्साहित हुन्छन् ।’

उनले गठबन्धनको सरकार बनेपछि गरिबी हट्ने र मुलुक समृद्ध हुने विश्वास दिलाए । उनले भने,‘मुलुकमा गरिबी हटोस भन्ने कुरा कसले चाहँदैन, रोजगारी आओस् भन्ने कसले चाहँदैन ? जनताको यो एजेण्डा हामीले बोकेर हिँडेका छौं।’ नायकले अघि थपे,‘कम्युनिष्ट शासन हिजो हामीले देखेका हौं, अहिले चाहीँ यो गठबन्धन लामो मात्रै होईन एकता हुन्छ । हाम्रा नेताहरुले त्याग देखाउनुभएको छ । नेताहरुले त्याग देखाउनुभएको छ, यो त्याग दिर्घकालिन रुपमा अघि बढ्छ, पार्टी एकता निर्वाचनपछि हुन्छ ।’

उनले २ नम्बर प्रदेशमा पनि बहुमत आउने दाबी गरे । उनले थपे,‘हामी प्रतिनिधि सभामा १८ सिट जित्छौं । त्यस्तै प्रदेशमा पनि हामी प्रतिनिधिभन्दा दोब्बर ल्याउँछौ ।’
उनले प्रदेश सरकार पनि गठबन्धनकै बन्ने ठोकुवा गरे । उनले थपे,‘२ नम्बर प्रदेशमा हाम्रो गठबन्धनको बहुमत आउँछ, उहाँहरु मिलेरपनि रिजल्ट उल्टो आउँछ । उहाँहरुले चाहेको जस्तो हुँदैन। जनता अहिले स्थिर सरकारको पक्षमा हुनुुहुन्छ ।’

उनले वाम भनेको लोकतान्त्रिक नै भएको जिकिर गर्दै थपे,‘हाम्रो गठबन्धन यो त अझै लोकतान्त्रिक हो । अब देशभरि नै विकासको लहर लिन्छ । यहाँ मधेशमात्रै होईन । राजनीति गर्नको लागि संकल्प भनेको हो ? अब गरिबी हट्छ ।’

 



प्रतिक्रिया दिनुहोस्