Logo

‘लोकतान्त्रिक शासन व्यवस्था नै गरिबको जीवन उठाउने मार्ग’ : मन्त्री बस्नेत



काठमाडौँ, २ मंसिर (रासस) : सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले लोकतान्त्रिक शासन व्यवस्था नै न्यून आय भएका जनताको जीवनस्तर सुधार्ने मार्ग भएको बताउनुभएको छ ।

गोकर्णेश्वर नगरपालिका–१ को दुर्गम भेग सिन्धुपाल्चोक र नुवाकोट जिल्लासँग सीमा जोडिएको चिलाउने, मूलखर्क एवं ओखरेनीमा घरदैलो गर्न जानुअघि बिपी संग्रहालयमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “सर्वसत्तावादी सोचले गरिबी निवारण हुन सक्दैन् ।”

नगरपालिकाको दुर्गम भेगमा घरदैलो गर्न जानु अघि मन्त्री बस्नेतले संग्रहालयमा रहेको प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक बिपी कोइराला र विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं ३ की प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएकी उहाँले “सिंहदरबारमा बसेर योजना निर्माण गर्दा गरिब किसानको तस्वीर हेरेर गर, द्विविधा भएमा गाउँगाउँमा गएर फाटेका कपडा लगाएर खेती गरिरहेका किसानको दुःख हेरेर योजना बनाउ भन्ने बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक छ, यसैलाई मूल मन्त्र बनाएर काँग्रेस अघि बढ्छ”– भन्नुभयो ।

मन्त्री बस्नेतले वाम गठबन्धनका नाममा मुलुकमा ल्याउन खोजिएको सर्वसत्तावादी एकदलीय तानाशाहीलाई परास्त गर्न पनि आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता रुखको छहारीमुनि गोलबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेल, क्षेत्र नं ३ प्रदेशसभा (क) का उम्मेदवार छिरिङदोर्जे लामा, (ख) का उम्मेदवार विमल ठकुरी, प्रदेशसभा समानुपातिक उम्मेदवार रामलाल श्रेष्ठलगायतले अबको चुनाव एकदलीय अधिनायकवाद कि बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था भन्ने विषयमा जनमत संग्रह भएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्