Logo

पार्टी एकतालाई सकारात्मक रुपमा लिनुपर्छः अध्यक्ष लोहनी



नेपालगन्ज, २ मंसिर (रासस) : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक दलको एकतालाई सबैले सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ ।

सो दलद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई वा दुईभन्दा बढी दलबीचको एकीकरण, एकताले राजनीतिलाई थप स्थिर बनाउने भएकाले कसैको एकता र एकीकरणबाट अत्तालिनु पर्दैन ।”

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले वैदेशिक रोजगारमा जाने अवस्थाको अन्त्य गरी स्वदेशमै पर्याप्त रोजगारीको व्यवस्था, अन्य धर्मको सम्मानसहितको हिन्दू राष्ट्र, प्रधानमन्त्री जनताबाट निर्वाचित र अभिभावकका रुपमा राजतन्त्रको स्थापना, भ्रष्टाचारको अन्त्य र राष्ट्रिय एकता नै आप्mनो पार्टीको मूल आदर्श भएको बताउनुभयो ।

“हामीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मुलुकभरि ९६ स्थानमा उम्मेदवारी दिएका छौँ, सम्मानजनक स्थानसहित आफ्नो पार्टीले जित हासिल गर्छ”–अध्यक्ष लोहनीको दाबी थियो ।

अर्को एक प्रश्नको जवाफमा उहाँले आफ्नो पार्टीको एजेण्डा लागू गर्न थोरै स्थानमा जित हासिल गरेर नपुग्ने भए पनि संसदको प्रयोगवाट त्यसलाई स्थापित गराउन राजनीतिक प्रयास गर्न सकिन्छ भन्नुभयो ।

यसैबीच, सोही दलद्वारा आजै बाँके जिल्लाको निर्वाचन क्षेत्र नं १ बैजापुरको चिलहरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले मुलुकको शासन व्यवस्थालाई सुव्यवस्थित बनाउनका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गर्नुभयो ।

उहाँको थप भनाइ थियो, “लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले जनहितमा काम गर्न नसक्ने भएकाले राष्ट्रलाई शिरमा राखी जनताले आफ्नो दललाई भोट दिन्छन् ।”

सो निर्वाचनको प्रदेशसभा (क) का उम्मेदवार रामचरण चौधरीको अध्यक्षतामा भएको सभालाई सोही दलका केन्द्रीय उपाध्यक्ष तारानाथ लुईंटेल, सहमहामन्त्री कौशल आचार्य, सहप्रवक्ता तेजनारायण कँडेल, सचिव जनक पाठक, जिल्ला अध्यक्ष कृष्णप्रसाद खरेल, पूर्वसांसद गीता सिंहलगायतका वक्ताले नेपाली जनतालाई आफ्नो दलले कहिल्यै धोका नदिने आश्वासन दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्