Logo

निर्वाचन विरोधी गतिविधिमा संलग्न ११ पक्राउ



पाँचथर, मंसिर, २ मंसिर (रासस) : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले केही दिनयता ११ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई तथा एलिया नेम्वाङ रहेका छन् ।

त्यस्तै, सोही गाउँपालिका–५ का जितबहादुर चेम्जोङ, हिलिहाङ गाउँपालिका–२ का डिल्लीराम कटुवाल, इलामको फाकफोकथुम गाउँपालिका–१ का रुपनारायण अधिकारीसहित अन्य दुईजनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये टीकादेवी र रुपनारायण शिक्षक हुन् । उनीहरुलाई विद्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।

उनीहरुलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो । उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो । कुनै पार्टी वा संगठनमा आबद्ध रहेको आधारमा पक्राउ नगरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जिल्ला संगठन समितिले भने प्रहरीले बिनाकारण आफ्ना कार्यकर्तालाई धमाधम पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।

संगठनका जिल्ला इन्चार्ज ‘सौगात’ले आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई प्रहरीले गलत ढंगबाट धरपकड गरेको र सार्वजनिकसमेत नगरेको आरोप लगाउनुभयो ।



प्रतिक्रिया दिनुहोस्