Logo

भक्तपुरमा नेमकिपाको यो चुनाव अन्तिम टेलिश्रृंखला हो, अब हामी नयाँ पात्र र कार्यक्रमका साथ आउँदैछौं : महेश बस्नेत



‘नेमकिपाले ढुंगानालाई सहयोग गरे, नेमकिपा कांग्रेसमा विलय गरे हुन्छ’
‘प्रचण्ड–ओलीवीच समस्या आए हामी सम्झाउँछौं’
काठमाडौं, ४ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका वाम गठबन्धनबाट संयुक्त उम्मेद्धवर रहेका एमाले नेता महेश बस्नेतले नेमकिपाले कांग्रेसका उम्मेद्धवार दमननाथ ढुँगानालाई सहयोग गरे पार्टी कांग्रेसमा विलय गरेसरह हुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले भक्तपुरको गुण्डुमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले भने,‘नारायणमान विजुक्छेजीको पार्टीले दमनाथ ढुंगानालाई सहयोग गर्नु भनेको नेमकिपाको अस्तित्व समाप्त हुनु हो, त्यसैले यदि उहाँले त्यसो गर्नु भयो भने पार्टी कार्यालयमा कांग्रेसको झण्डा गाढे हुन्छ।’ एमाले–माओवादी केन्द्रवीच बनेको वाम गठबन्धनलाई वाम गठबन्धन नदेख्दे विजुक्छेले कांग्रेसका उम्मेद्धवारलाई सहयोग गर्नु भनेको नैतिक रुपमा स्खलित हुनुसरह भएकोले नेमकिपाले त्यस्तो नगर्ने उनको भनाई थियो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्रकारमा पूर्वमन्त्री समेत रहेका नेता बस्नेतले भक्तपुरमा नेमकिपाको खासगरी नारायणमान विजुक्छे ‘रोहित’ को किल्ला भत्किएको दाबी गरे । उनले भने,‘स्थानीय तहमा ७५ प्रतिशत उहाँको किल्ला भत्किएको छ, प्रतिनिधि सभामा पनि अब भत्किँदैछ, सुरुमा अम्बा खान गाहा«े हुन्छ, पहिलो गाँस हामीले खाईसक्यौं, अब स्वाद आउँछ।’

बस्नेतले आफूले चुनावपछि हार्दापनि यो क्षेत्रको विकासको लागि अहोरात्र खटेको र लागिपरिहेको जिकिर गर्दै भने,‘यो कुरा यहाँका मतदाताहरुलाई सोध्दा हुन्छ, मैले चुनाव हार्दापनि कसरी यहाँको विकास गर्न सकिन्छ भनेर दिनरात काम गरेको छु, अब हाम्रो समृद्धि र विकासको प्रमुख नारा हो । स्थिर सरकार दिने, भ्रष्टाचारमुक्त देश बनाउने हाम्रो एजेण्डा छ।’

उनले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले अबको निर्वाचनमा दुई तिहाई मत ल्याउने दाबी गरे । उनले थपे,‘हाम्रो वाम गठबन्धनले दुई तिहाई मत ल्याउँछ, प्रचण्ड र ओलीवीचको समस्या आएन भने अबको ४० वर्ष कम्युनिष्ट सरकार दिर्घकालिन विकासको लाग्छ।’

उनले प्रचण्ड र ओलीवीचको एकता प्रयासलाई भर्खरै हुन लागेको विवाहको संज्ञा समेत दिए । उनले थपे,‘विवाह भैरहेको बेला सम्बन्धविच्छेद हुन्छ भनेर सोध्नुहुँदैन, कमरेड प्रचण्डलाई हामी सम्झाउँछौं, किनकी दुवै पार्टीमा मजस्त युवा नेताहरु छौं, हामी दुवै नेताहरुलाई सम्झाउँछौं।’

उनले आफू ०७० मा पराजित हुनुको प्रमुख कारण त्यतिखेर आफूसँग नाम थियो तर भक्तपुरको विकासकोलागि गरेका कामहरु कम भएको स्विकार गरे । उनले भने,‘०७० म चुनाव लड्दै गर्दा त्यतिखेर म नाम लिएर आएको थिएँ, अहिले हामी नाम र काम लिएर आएका छौं । हामी वामको उम्मेद्धवार भन्दापनि आम मतदाताको उम्मेद्धवार हौं ।’

उनले कांग्रेसबाट उम्मेद्धवार बनेका पूर्व सभामुख दमननाथ ढुँगानालाई हेभी वेटको रुपमा लिएको उल्ल्ेख गर्दै भने,‘उहाँलाई सम्मान दिनुपर्छ, भक्तपुरका जनताले उहाँलाई सम्मान र मलाई नै मतदान दिनुहुन्छ । हामी उहाँको सम्मान गर्छौं, सम्मानको कल्चर हमीसँग छ । उहाँका राय सल्लाह अनुसार हामीले सदनमा भूमिका खेल्ने हो । किनकी विजयी हाम्रो सुनिश्चित छ।’

भक्तपुर कांग्रेसको गढ हो नि भनेर सोधिएको एक प्रश्नमा उनले थपे,‘तपाईले ०७० सालको परिणामको कुरा गर्नुभएको होला ऋषिजी, यो बीचमा भक्तपुरको हनुमन्ते खोलामा धेरै पानी बग्यो।’

उनले आफू ढुँगानासँग जुध्न आएको भन्दापनि ढुँगानाजी तपाई चाहीँ बरु मसँग जुँध्न आउनुभयो भनेर भेटमा जवाफ दिएको समेत स्पष्ट पारे । भक्तपुरमा धेरै नाथ भएका व्यक्तिहरु आएपनि विकास चाहीँ केदारनाथ आएपछि मात्रै भएको उनको जिकिर गरे । उनले भने,‘भक्तपुर कांग्रेसको गढ होईन, क्रमश एमालेको गढ हुँदै गएको छ, अबको निर्वाचनमा दुवै क्षेत्र हामी जित्छौं।’ बस्नेतले अहिले चुनाव लड्दै नभएर आफहरुले जित्दै गरेको समेत दाबी गरे ।

भक्तपुरमा समग्र नेमकिपाको अन्तिम श्र्रंखला हुन सक्ने समेत बस्नेतले दाबी गरे । उनले भने,‘भक्तपुरमा यो निर्वाचन नेमकिपाको लागि अन्तिम टेलिश्रृंखला हो, अब हामी नयाँ पात्र र कार्यक्रमका साथ आउँदैछौं, विकासको लहर हामी ल्याउँछौं।’

भक्तपुरको समग्र विकासको लागि झण्डै ५ अर्ब बजेटको कार्यक्रम आफूले ल्याईसकेको उनले स्पष्ट पारे । बस्नेतले थपे,‘हामी अहिले भक्तपुरलाई स्वर्णिम शहर बनाउने क्रममा छौं, बहुदल आएपछिका यो २५ वर्षमा नेमकिपाका ३ जना साथीहरु संसदको पछिल्लो सिटमा बसेर नियामापत्ति गर्ने भन्दा अरु केही पनि गर्नुभएन, तपाई हेर्नुहोस्, म हारेको उम्मेद्धवारले भक्तपुरका कच्ची बाटोहरु पीच गरेको छु। ऋब भक्तपुरवासीले तिव्र गतिमा विकासको अनुभुति गर्न पाउँछन् । सामुदायिका विद्यालय, सामुदायिका अस्पतालन, आश्रम घर, वाईफाई जोन, फोहोर व्यवस्थापनका कार्यक्रमहरु म ल्याउँछु।’

त्यस्तै उनले भक्तपुरको अव्यवस्थित् शहरलाई व्यवस्थित बनाउने, भक्तपुरको जीवीत सम्पदा, कला, संस्कृतिलाई जोगाउँदै प्रर्वद्धन गर्ने आफूहरुको योजना रहेको सुनाए । विगतका जनप्रतिनिधिहरुले उचित भूमिका नखेलेको कारण भक्तपुर पछि परेको उनको आरोप थियो । उनले थपे,‘अहिले हामीले सिंहदरबारलाई भक्तपुर हेर्न बाध्य बनाएका छौं, भक्तपुरको विकास हुन्छ, ढुक्क हुनुहोस्, हामी विकासका लहरहरु ल्याएर आउँछौं।’



प्रतिक्रिया दिनुहोस्