Logo

२० हजार मतान्तरले पशुपति शमशेरलाई हराउने शेरबहादुरको गर्जन



सिन्धुपाल्चोक, ४ मंसिर । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्धवार शेरबहादुर तामाङ्गले आफूले २० हजारको मतान्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई पराजित गर्ने दाबी गरेका छन् ।

उनले भने,“म राणाजीलाई २० हजार मतले हराउँछु, सिन्धुपाल्चोकका जनताले मलाई मत हाल्नुहुन्छ, यसमा कुनै दुई मत छैन, मेरो जित सुनिश्चित् छ, म यहाँको विकासको लागि सच्चा मनले लागिपरिरहेको छु, तर पशुपतिजीले यो क्षेत्रमा सिन्कोपनि भाँच्नुभएको छ, यदि छ भने मैले यो गरें भनेर देखाईदिन म यही कार्यक्रममार्फत चूनौति दिन चाहन्छु।”

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै उनले आफूले उक्त क्षेत्रको विकासको लागि उल्लेखनी काम गरेको भन्दै अब विकासको लहर आउने समेत दाबी गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमाले र माओवादी केन्द्रको वाम गठबन्धन बनेपछि नेपालीहरुको श्रमबाटै नेपाल बनाउने अभियानमा आफूहरु लागिपरिहेको स्पष्ट पारे । उनले थपे,“वाम गठबन्धनले केही पनि गर्न सक्दैन भनेर जो भनिएको छ, धेरैले भन्नेहरुले भन्छन् भन्दापनि श्रममा विश्वास नगर्नेहरुले यस्तो भनेका हुन र आफ्नो श्रमबाट मुलुक बनाउन सकिन्छ भनेर विश्वास गर्दैनन् तर हामी गरेर देखाउँछौं।”

उनले पर्यटन, खानेपानी लगायत थुप्रै क्षेत्र सिन्धुपाल्चोकको विकासको लागि पर्याप्त सुचक भएकोले आफूहरुले सोही अनुसार विकासका योजनाहरु अघि सारेको सुनाए ।
उनले भने,“तातोपानी नाकामार्फत धेरै काम गर्न सक्छौं । हिजोको दिनमा आफूहरु राजनीतिक परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै उनले थपे,“तर अहिले संविधान जारी भएसँगै राजनीतिक क्रान्ति पूरा भयो । अब मुलकु आर्थिक क्रान्तिको चरणमा प्रवेश गरेको छ । अब देशैभरि विकासका लहरहरु आउँदैछन्।”

तामाङ्गले वाम एकताले देशभरिका तमाम जनता नै उत्साहित रहेको विश्वास दिलाए । उनले थपे,“वाम एकताले सम्पूर्ण नेपालीहरुको मुहारमा उत्साह सञ्चार गरेको छ, यो खुशीको बहार हो।”
उनले नेकपा एमाले र माओवादी केन्द्रले बोलेको कुरा पूरा गरेको ईतिहाँस भएकोले अबको निर्वाचनमा वाम गठबन्धनले अत्यधिक बहुमतमात्रै नभएर शतप्रतिशत विजयी हाँसिल गर्ने दाबी गरे । निर्वाचनपछि बन्ने बाम गठबन्धनको सरकारले देश र जनतामा विकासको लहर ल्याउने समेत उनको भनाई थियो । उनले थपे,“वाम गठबन्धनले दुवै पार्टीका कार्यकर्ताहरुको मन जितेको छ ।”

उनले पशुपति शमशेरले सुरुमा समानुपातिक सुचिमा नै आफ्नो नाम पहिलो नम्बरमा राखेको उल्लेख गर्दै थपे,“उहाँले खासगरी असोज २९ गते पार्टीको समानुपातिक सुचिमा आफ्नो नाम पहिलो नम्बरमा राख्नुभएको थियो, पछि खोई के भयो ? पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पनि कट्दैन कि भनेर होला जे पर्छ पर्छ प्रत्यक्षमा भीड्ने निर्णय गर्नुभयो, उहाँले काम गरेको भए त जनताले समर्थन गर्थे नि, आजको यो सन्दर्भमा उहाँ समानुपातिकमा बसेको भए राम्रो हुन्थ्यो ।”

उनले सिन्धुपाल्चोकका जनताको साथ आफूलाई रहेको दाबी गरे । उनले थपे,“यहाँका जनताको साथ मलाई छ, उहाँलाई दुई टक चुनाव हराएँ, यो त ज्वलन्त उदाहरण हो, हामी राजनीतिक फिल्डमा छौं, जहाँसम्म मन्त्री बन्ने कुरा छ, त्यो मेरो रुचिको विषय होईन, म यो क्षेत्रको विकासको लागि प्रतिबद्ध छु।”

उनले सिन्धुपाल्चोकबाट मेलम्ची खानेपानी परियोजना काठमाडौं जाँदैछ भन्ने बताउँदै उक्त अभियान चलाउने मान्छे आफू नै भएको समेत जिकिर गरे । उनले थपे,“हामी जनताको वीचमा छौं । चुनावपछि उहाँ (पशुपति शमशेरजी) जनताको विचमा कहिल्यैपनि आउनुभएन । पशुपतिशमशेर काठमाडौंवासी हुन् । तर हामी त यहीँका वासिन्दा हौं।”
पशुपति शमेरले लगानी गरेर कुनै हस्पिटल नखोलेको आरोप लगाउँदै भने,“उहाँले अहिलेसम्म के गर्नुभयो, मलाई देखाउनुहोस्, शिक्षा भन्नुहोस वा स्वास्थ्य कुन क्षेत्रमा के काम गर्नुभयो, देखाउन म सार्वजनिक चूनौति दिन्छ, कोही एउटा मान्छे उहाँले बनाएको देखाउनुहोस त ?”

राष्ट्रिय एजेण्डाको हिसाबले आफूहरुले अघि सारेको मुद्दामा वाम गठबन्धनले बहुमत ल्याउँने समेत उनको दाबी थियो । त्यस्तै उनले वाम गठबन्धनले बहुमत ल्याए स्थायी सरकारको लागि पूर्ण प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने समेत आफूहरुको योजना रहेको सुनाए । उनले भने,“हामी प्रत्यक्ष निर्वाचित प्रमुखको पक्षमा छौं । चीनमात्रै होईन, हाम्राृ मोडेल भनेको नेपाली जनताले चुनिने प्रमुख हो।”

उनले बन्द रहेको तातोपानी नाका चाँडो भन्दा चाँडो खोल्ने समेत दाबी गरे । उनले भने,“कसैले आजै खोलिदिन्छु भनेर बोल्नुभएको होला, अर्को बहालवाला मन्त्रीले नाका खोल्छु भन्नुभएको छ। कुटनीतिक तवरले मात्रै खोल्नुुपर्छ। यो नाका सिन्धुपाल्चोकको लाईफलाईन हो । हो, म अग्नि सापकोटाजीसँग सहमत छु । तीन महिनाभित्र भनेर महिना तोक्दिन । तर शतप्रतिशत रुपमा नाका खोलिन्छ ।”

भारत र चीन दुवै मुलुकसँग सुमधुर सम्बन्ध राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्