Logo

ललितपुरको सबै क्षेत्र कांग्रेसले जित्ने अमात्यको दाबी



ललितपुर, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार एवम् नेपाली कांग्रेसका नेता मदन अमात्यले ललितपुरका तीन वटै क्षेत्र आफूहरुको गठबन्धनले चुनाव जित्ने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै अमात्यले यस्तो दाबी गरेका हुन् । उनले ललितपुरमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको कुनै प्रभाव नरहेको समेत स्पष्ट पारे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अबको पाँच वर्षभित्र ललितपुरमा विकासको चमत्कार गर्ने दाबी समेत गरे ।

वाम गठबन्धनबाट सोही क्षेत्रकी उम्मेद्धवार बनेकी नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाललाई आफूले प्रतिष्पर्धीको रुपमा नलिएको समेत उनको भनाई थियो । उनले थपे,‘भुषालजी मेरो प्रतिष्पर्धी होईन, उहाँ पछि आएर (ललितपुर) यहाँ बसेको हो । ललितपुरमा वामको प्रभाव छैन । म सभापति भएपछि जनताको वीचमा गएँ, अहिले कांग्रेस राम्रो भएको छ ।’

उनले वामपन्थीहरुले देशैभरि चुनाव जित्ने भनेर भनेपनि यो उनीहरुको भोट माँग्दा भन्ने कुरा मात्रै भएको आरोप लगाए । उनले थपे,‘तर जनताले के चाहन्छन् भन्ने कुरा ठूलो कुरा हो, माधव नेपाल प्रधानमन्त्री हुँदा अरुण तेस्रो गयो, आज यो बनेको भए देशमा लोडसेडिङ हुँदैनथ्यो ।’

आफ्नो प्रतिष्पर्धी पम्फा भुषालप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका उनले भने,‘अहिले जित्छु भनेर हुँदैन, यो त भोलि जनताले देखाउने कुरा हो। म त उहाँलाई डबल मतले पराजय गर्छु, मेरो जित सुनिश्चित छ।’

आफूले राजनीति गरेको ५२ वर्ष भएको उल्लेख गर्दै उनले आफू कहिल्यैपनि पद र लोभमा नपर्ने जिकिर गरे । अमात्यले थपे,‘म मन्त्री बन्न राजनीति गरेको मान्छे होईन । मैले त देश र जनताको फाईदाको लागि राजनीति गरिरहेको छु, हेर्दै जानुहोला हामी ललितपुरका सबै क्षेत्र जित्छौं ।’



प्रतिक्रिया दिनुहोस्