Logo

लोकतान्त्रिक गठबन्धन जिताउनुको विकल्प छैन : मन्त्री चन्द



बैतडी, ५ मंसिर (रासस) : आपूर्तिमन्त्री जयन्तबहादुर चन्दले लोकतान्त्रिक गठबन्धन जिताउनुको विकल्प नरहेको बताउनुभएको छ ।

लोकतान्त्रिक गठबन्धनले बैतडीको दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारमा आयोजना गरेको चुनावी आमसभालाई मंगलबार सम्बोधन गर्नुहुँदै उहाँले लोकतान्त्रिक व्यवस्थामा मात्रै सबै नागरिकको अधिकार सुनिश्चित हुने बताउनुभयो । लोकतान्त्रिक गठबन्धनलाई जिताए मात्रै गरिब, असहायलगायत सबैका अधिकार प्राप्त हुन्छ उहाँले भन्नुभयो, “प्राचीन सभ्यता भएको मुलुकलाई आज धर्म, मूल्य, मान्यताविहीन बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय षडयन्त्र हँुदैछ । यसलाई परास्त गर्न पनि लोकतान्त्रिक गठबन्धनलाई विजय गर्नु आवश्यक छ ।”

वाम गठबन्धनले जिते देश अधिनायकवादको दिशामा जाने भन्दै उहाँले नागरिक त्रसित भएको उहाँको दाबी रहेको छ । लोकतन्त्रमा मात्रै जनता स्वतन्त्र भएर हिँड्न सक्ने भएकाले लोकतन्त्रको रक्षा गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

वाम शक्तिहरुले देशमा कम्युनिष्ट अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै राप्रपाका महामन्त्री समेत रहनुभएका मन्त्री चन्दले स्वतन्त्रता वा अधिनायकवाद के रोज्ने जनताको हातमा रहेको धारणा व्यक्त गर्नुभयो । खोचलेक बजारमा सम्पन्न उक्त चुनावी सभामा नेकपा (एमाले) तथा माओवादी केन्द्र परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्