Logo

तातोपानी नाका नखुल्नुमा कसको दोष? कमजोर कुटनीतिक पहल कि चिनको असहयोग ?



६ मंसिर, काठमाण्डौ । भूकम्प र भारतीय नाकाबन्दीको मार खेपेका नेपालीलाई चीनले एकातिर सहयोगको हात बढाएको थियो भने अर्कातिर खासाको भन्सार सुचारु गर्न आनाकानी ग¥यो ।

नेपाल–चीन व्यापारमा संलग्न संघसंस्थाका प्रतिनिधि र स्थानीय नाका खोल्ने विषयमा चीनले सुरुदेखि नै विभिन्न बहाना बनाउँदै आएको आरोप लगाउने गरेका छन् ।

यतिबेला चुनावी माहौलमा तातोपानी नाका पर्ने सिन्धुपाल्चोकका उम्मेदवाहरुले पनि तातोपानी नाकालाई आफ्नो एजेण्डा बनाएका छन् ।

आफूले चुनाव जिते तातोपानी नाका खुलाउन पहल गर्ने भन्दै सबै उम्मेदवारले मतदाता फकाउने प्रयास गरिरहेका छन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा ऋषि धमलासँग कुरा गर्दै जिल्लाका लोकतान्त्रिक गठबन्धनका उम्मेदवाहरुले अहिलेसम्म चिनले चासो नदेखाएकाले नाका खुलाउन नसकिएको बताउँदै चुनाव जितेपछि त्यसका लागि पहल गर्ने आश्वासन दिएका छन् । यता वाग गठबन्धनका उम्मेदवाहरुले केपी ओली प्रधानमन्त्री बनेको भोलिपल्टै नाका खुल्ने दाबी गरिरहेका छन्  ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार पशुपतिशमशेर राणाले चिनसँग धेरैपटक  आग्रह गर्दा पनि नाका खुलाउन नमानेको आरोप लगाएका छन् । बहसमा कुरा गर्दै राणाले नेपालको आर्थिक विकासमा चिनले सहयोग पु¥याउन नचाहेकोसमेत बहसका क्रममा बताएका थिए । भूकम्पपछि चार जना प्रधानमन्त्री बनिसकेका छन् । तर कसैले पनि अहिलेसम्म तातोपानी नाका खुलाउन सकेका छैनन् । तत्कालिन प्रधानमन्त्री शुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तातोपानी नाका खुलाउन सकेनन् ।

तर अहिले भने  सबै उम्मेदवारहरु मतका लागि चुनाव जितेपछि नाका खुलाउने आश्वासन बाँड्दै हिँडेका छन् ।

चीनले सुरुमा भूकम्पका कारण खासालाई क्षति पुगेको बताए पनि वास्तविकता त्यस्तो नभएको व्यवसायीहरुले बताउने गरेका छन् । चीन तत्काल नाका खोल्न इच्छुक नरहेकोले नै नाका नखुलेको कतिपयको आरोप छ ।

स्थानीय व्यवसायी तथा सरकारी अधिकारीले पनि चीनले खासाको भन्सार खोल्न प्राथमिकता नदिएको बताउने गरेका छन् ।

२०२७ सालमा खुलेको यो नाका नेपाल–चीनबीच सबैभन्दा महत्वको व्यापारिक मार्ग हो । यो नाकाबाट मात्र सरकारले वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्छ । यही नाका भएर नेपाली र भारतीय तीर्थालु तिब्बतको मानसरोवर जाने गर्छन् । तातोपानी नाकामा ४५ वटा पर्यटकीयसहित ३ सय ५० वटा होटल छन् । तर नाका नखोलिदा ति सबै व्यवसाय धरामा परेका छन् ।

त्यसैले पनि कतिपयले चिन नेपालको आर्थिक विकासमा बाधक बन्न खोजेको आरोप लगाएका छन् । चिनले भने किन नाका नखोलिएको हो भन्ने विषयमा स्पष्टसँग अहिलेसम्म मुख खोलेको छैन ।



प्रतिक्रिया दिनुहोस्