Logo

दुई तिहाई ल्याउँछु भन्ने वाम गठबन्धन हार्ने डरले अहिले प्रतिरक्षात्मक रुपमा चिच्याईरहेको छ : डा. महत



काठमाडौं, ६ मंसिर । लोकतान्त्रिक गठबन्धनका काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेद्धवार एवम् कांग्रेस नेता डा. प्रकाशशरण महतले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने र सरकार बनाउने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा बोल्दै नेता महतले यस्तो बताएका हुन् । उनले भने,‘हामी लोकतन्त्र पक्षधरका शक्ति हौं, स्वतन्त्रताको जगमा आफ्नो सिपको प्रयोग गर्ने र पूर्ण स्वतन्त्रता हुनुपर्छ भन्ने शक्ति हौं, त्यसैले अबको निर्वाचनमा कांग्रेसलाई नै जनताले अत्यधिक मत दिनुहुन्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूपनि अघि बढ्ने र देशलाई अघि बढाउने कांग्रेसको लक्ष्य रहेको सुनाए । उनले थपे,‘त्यसो हुनाले अहिले त जनतासामू आस्थाको चिजको रोजाई छ, अहिले म र ईश्वर पोखरेलको रोजाई भन्दापनि कुन बाटोमा मुलुक जाने भन्ने कुरा हो, हामी लोकतान्त्रिक मुल्य र मान्यताको आधारमा आर्थिक क्रान्ति ल्याउने पक्षमा छौं ।’

डा. महतले एमाले–माओवादी केन्द्रका नेताहरु उल्टो बाटोमा हिँड्न खोज्दै गरेको आरोप लगाए । उनले भने,‘उहाँहरु उल्टो बाटोमा हिँड्न खोज्दैहुनुहुन्छ, उहाँहरुको उद्देश्य भनेको एउटा दल सर्वेसर्वा हुने र शासन गर्ने, त्यो बाटो असफल बाटो हो, यसले जनताको चाहना पूर्ति हुँदैन।’ उनले वाम गठबन्धनले मुलुक र जनताको लागि केही गर्न नसक्ने भएकोले जनताले कांग्रेसको पक्षमा मतदान गर्नुपर्ने धारणा राखे ।

कांग्रेसका उम्मेद्धवारलाई नै जनताले विजय गराउनुपर्ने भन्दै डा. महतले आह्वान गरे,‘चारै छाप रुखमा मतदान हुनुपर्छ, लोकतान्त्रिक बाटोमा अवरोध खडा गर्नेहरु असफल हुन्छन । नेपाली कांग्रेसको म सशक्त उम्मेद्धवार हुँ, पाँच नम्बर क्षेत्र अत्यन्तै महत्व्पूर्ण क्षेत्र हो, यो राजधानीको मुटुमा छ । बुढानिलकण्ठ तीर्थस्थल हो, टोखा साँस्कृतिक नगरी, चण्डेश्वरी, हाँडीगाउँ, साँस्कृतिक केन्द्र छ । क्ेन्द्रबाट विशेष परियोजना ल्याएर आधुनिक सुविधासम्पन्न अनुसार ऐतिहाँसिक वैभव कायम राखेर विकास गर्छु ।’

उनले आफू काठमाडौंका निर्वाचित मेयर विद्यासुन्दर शाक्यजस्तो हावा कुरा गर्ने मान्छे नभएको समेत जिकिर गरे । उनले थपे,‘उडन्ते कुरा नेपाली कांग्रेसले गर्दैन् । यसरी गर्छु भनेर सुनिश्चितता दिलाउँछु। झोरमा सुुरुङ्मार्ग बनाउने प्रारम्भिक सर्वे हाम्रै पालामा भएको छ, २२ किलोमिटरको दुरी घटाउन चाहन्छौं।’

त्यस्तै उक्त क्षेत्रमा रहेको शिवपुरी जलाधार क्षेत्रको विकास गर्ने र जिप राईड जाने व्यवस्था भए हजारौं पर्यटकहरु आवतजावत हुने उनको विश्वास थियो । उनले भने,‘यसो गर्न सकियो भने स्वदेशी तथा विदेशी पर्यटकहरु आउनुहुन्छ, पर्यटन व्यवसाय बढ्छ । शुल्कको उपयोग त्यहाँको विकासको लागि काम गर्न सकिन्छ । खोलाहरु नालामा रुपान्तरित भएको छ, त्यसलाई स्वच्छ वातावरण बनाउने कुरामा म प्रतिबद्ध छु। त्यस्तै सुविधासम्पन्न पार्किग, सार्वजनिक शौचालय, प्रौढ आश्रम, सामुदायिक उपभोक्ता, ५ नम्बर क्षेत्रमा धेरै जागरुक महिलाहरु हुनुहुन्छ । उहाँहरुको लागि केही गर्ने कार्यक्रमको लागि पुँजी जुटाउन म क्रियाशिल छु ।’

नेपालमै रोजगारीको व्यवस्था भए लाखौं नेपाली युवाहरु स्वदेश फर्किने भन्दै रोजगारी दिनेगरि कार्यक्रम ल्याउने आफ्नो अर्को योजना रहेको महतले सुनाए । उनले भने,‘विदेशीहरु यहाँ आउन चाहन्छन् । तर यहाँ अराजकता छ, ठूलो–ठूलो कुरा हो, जग नै नहाली धुरी लगाईदिन्छु भनेर कम्युनिष्ट पार्टीका नेताहरुले कुरा गरेकोले लगानी भएको छैन ।’

महतले आफूले उक्त क्षेत्रमा धेरै लगानी ल्याउने समेत विश्वास दिलाए । महतले थपे,‘आईटी हब बनाउँछु, उद्योग, धार्मिकको विकास गर्छु, युवाहरु अत्यन्तै ट्यालेन्ट छन् । लगानी आएपछि उद्योग व्यवसाय बढ्छ, सरकारले कति रोजगारी देला त ? स्वरोजगारी बढेसँगै करको दायरा बढ्छ, मेरो योग्यता छ, क्षमता छ, म उर्जामन्त्री हुँदा होस् वा परराष्टमन्त्री, वा योजना आयोगमा रहँदा मैले देश र जनताको पक्षमा काम गरेको छु मसँग अनुभव र क्षमता छ । म लगानी ल्याउन सक्छु ।’

उनले आफू विजयी भएर गए उक्त क्षेत्रका जनताहरुको सशक्त प्रतिनिधित्व गर्न सक्ने पनि विश्वास दिलाए । उनले भने,‘किनकी म ठोस आस्था भएको पार्टीको प्रतिनिधि हुँ । लोकतन्त्र खतरारहित अवस्थामा छैन, कम्युनिष्टहरुले यो गर्छु भनिरहेका छन। कांग्रेसले मात्रै लोकतन्त्रमाथिको खतरा रोक्न सक्छ ।’

देशैभरिका तमाम मतदाताहरुले कांग्रेसको पक्षमा मतदान गर्ने माहोल दिनप्रतिदिन बनिरहेको उल्लेख गर्दै निर्वाचनपछि कांग्रेसको सरकार बन्नेपनि उनको दाबी थियो । ‘अब मुलुक समृद्धिको यात्रामा अघि बढ्यो, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि हामीलाई समर्थन गर्ने भन्नुभएकोछ, उहाँहरुको मतदाताहरुलाई हामीलाई मतदान गर्न आग्रह गर्छु । हामीलाई जिताउन रुख चिन्हमा मतदान गर्न विशेष अनुरोध गर्छु ।’

अहिले पार्टीले जिम्मेवारी दिएकोले आफू पाँच नम्बर क्षेत्रको उम्मेवार बनेको उल्लेख गर्दै महतले भने,‘पार्टीले अहिले आएर मलाई यहीबाट चुनाव लड्न भन्यो, त्यसैले म यहाँ आएको छु, राष्ट्रिय राजनीति पनि गर्छु, म अल्छिपन गर्ने मान्छे होईन, म यहाँका जनताका सुखदुखमा घुलमिल भएर काम गर्छु, रातदिन नभनी काम गर्छु। मप्रतिको विश्वास छ, उहाँहरुलाई गल्ती गरिएछ भन्ने मौका दिन्न । पार्टीको हिसाबलेपनि हाम्रो पार्टीमा उभिँदा उहाँहरुलाई ठिक हुन्छ ।’

एमाले र माओवादी केन्द्रले वाम गठबन्धन सिर्जना हुनुभन्दा अघि नै कम्युनिष्टहरु एकीकरण गर्ने र १५ वर्षमा साम्यावाद ल्याउने भनेकोले मुलुकमा अधिनायकवादको खतरा छ भनेर आफूहरुले भनेको उनको भनाई थियो । तर आफूहरु कम्युनिष्टहरुको एकताबाट रत्तिपनि नडराएको प्रष्ट पारे । उनले थपे,‘उहाँहरुले भन्नुभएको छ, ५० वर्षसम्म शासन गर्छु भनेर ओलीले भन्नुभएको हो, हामीले भनेको होईन। उहाँहरुले मौका पाउनुभयो भने उहाँहरुले भनेजस्तो त उनीहरुले गर्ने भए ।’

सुरुमा दुई तिहाई बहुमत ल्याउने र एकदलीय अधिनायकवादी शासन गर्छु भनेपछि जनताले त्यो कुरा स्विकार नगरेकोले अहिले आएर वाम गठबन्धनले आफूहरु लोकतान्त्रिक मुल्य र मान्यताका आधारमा नै अघि बढ्ने भनेर भनिरहेको गुनासा पोखे । उनले थपे,‘उहाँहरुको बाटो जनताले हामीलाई ठिक लागेन भन्नुभयो, त्यसैले उहाँहरुले व्यवहारमा लोकतान्त्रिक बाटोमा हिँड्छौं भन्नुभएको छ, जनताले निर्णायक रुपमा हराउँछन भनेर उहाँहरु प्रतिरक्षात्मक रुपमा चिच्याईरहनुभएको छ।’

कांग्रेसले बहुमत ल्याउने कुरामा अब कुनै शंका नभएको समेत उनको भनाई थियो । उनले भने,‘हामीले त काम पनि गरेका छौं, तर हाम्रो कमजोरी हामी मार्केटिङ गर्न जान्दैनौं, यो हाम्रो कमजोरी हो, लेनिनको पालादेखि उहाँहरु त सेतोलाई कालो बनाउने र कालोलाई सेता बनाउन खप्पिस हुनुहुन्छ, हामी त पहाड बराबरको काम गर्दापनि तिल जतिको पनि प्रचार गर्दैनौं। उनले आफूहरु अहिल्यै नै दुई तिहाई वा तिन तिहाई भनेर डिंग नहान्ने भन्दै निर्वाचन जितेपछि पार्टीले सरकार बनाउने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्