Logo

ठूला दलहरुबाट जनताका जायज मागहरु बंग्याइयो : उपमहासचिव अस्लामी



पोखरा, ६ मंसिर । राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामी मगरले नेपालका ठूला राजनीतिक दलहरुले जनताका जायज मागहरु संवोधन हैन कि त्यसलाई बग्याँउने काम गर्दै आएको आरोप लगाउनुभएको छ ।

‘यहाँ पहिचानका पक्षधरहरुले अगाडि सारेका मागहरुलाई लत्याउने काम मात्रै भएको छ’, रिपोर्टर्स क्लव कास्कीले बुधबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अस्लामीले भने,‘ ठूला दलहरुबाट संघीयताको व्यवहारिक कार्यान्वयन हुन्छ भन्नेमा पनि शंका नै छ ।’

पहिचान र स्थायित्व अनि विकासको मुद्धा बोकेर राष्ट्रिय जनमुक्ति पार्टीले निरन्तर जनतासँग सम्वाद गरेको दावी गर्दै उनले नेपालको वास्तविक राष्ट्रिय एकता, स्थायी शान्ति र दीगो विकासको स्पष्ट एजेण्डासाथ चुनावी मैदानमा आएको बताए ।

प्रदेश र केन्द्रगरी देशका १सय ४७ वटा निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिएको जानकारी दिँदै उनले भने,‘केही क्षेत्रमा भने हामीले सिमान्तकृतहरुको आवाज बोक्ने दलहरुलाई सघाएका पनि छौँ ।’पार्टीले ३८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरी जनताका सबैजसो समस्याहरुको संवोधन गरेको बताउँदै उनले घोषणापत्रमा एउटा लेख्ने तर त्यो वाचा पूरा नगर्ने उम्मेदवारहरुविरुद्ध सोझै अदालतमा मुद्धा हाल्ने व्यवस्था हुनुपर्ने माग पनि गरे । भ्रष्टाचारीलाई संवैधानिक रुपमै देशद्रोही घोषणा गरिनुपर्ने उनको माग रहेको छ ।

जमिन,जंगल, खानी र पानीमा स्थानीयको अधिकार हुनुपर्ने,शिक्षा, स्वास्थ्य क्षेत्रमा राज्यको लगानी हुनुपर्ने, कृषिमा आधुनिकीकरण,धर्म निरपेक्षताको व्यवहारिक कार्यान्वयनजस्ता मुद्धाहरु पनि आफ्नो घोषणापत्रमा समेटिएको अस्लामीले बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय निर्वाचन प्रचार अभियानका सदस्य समेत रहेका अस्लामीका अनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा आदिवासी जनजाति, खसआर्य, दलित, मधेशी–मुस्लिम क्लष्टर र महिलाहरुको प्रतिनिधीत्व हुने गी ५ सदस्यीय राष्ट्रपति मण्डल पनि पार्टीको चुनावी एजेण्डा हो ।

रिपोर्टर्स क्लव कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा क्लवका उपाध्यक्ष केदार धमलाले सहजिकरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्