Logo

बहुमत कांग्रेसकै आउछ, प्रतिपक्षको स्थान कम्युनिष्टलाई सुरक्षित : बाणिज्यमन्त्री बिश्वकर्मा



धुलाबारी, ७ मंसीर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा वाणिज्य मन्त्री मिन बिश्वकर्माले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसकै बहुमत आउने र कम्युनिष्ट गठबन्धन बलियो प्रतिपक्षको रुपमा रहने दावी गर्नुभएको छ ।

मन्त्री विश्वकर्माले बुधबार झापाको धुलाबारी आयोजित चुनावी सभामा सो कुरा बताउनुभएको हो ।केन्द्रीय सदस्य विश्वकर्माले तटस्थ मतदाताहरुको झुकाव काँग्रसमा बढी भएकाले काँग्रेसले बहुमत ल्याउने बताउनुभयो ।

एउटा अर्को प्रसङमा काँग्रेस नेता बिश्वकर्माले बाम गठबन्धन कुनै चुनौती नभएको बताउँदै काँग्रेस नेतृत्वको सरकारले गरेको कामका आधारमा पनि मतदाताले काँग्रेसलाई रोज्ने दाबी गर्नुभयो ।

बृद्धभत्ता कांग्रेसले बढाएको दावी

काँग्रेस केन्द्रीय सदस्य बिश्वकर्माले शेरबहादुर देउवा सरकारले उमेर ७० बर्ष पुगेका नेपाली नागरिकलाई दिने बृद्ध भत्ता रु २५०।– बनाएको र दलितलाई ६० बर्ष उमेरमा नै बृद्ध भत्ता दिने ब्यवस्था गरेको बताउनुभयो ।

दलित अगुवाहरुसंगको छलफलमा मन्त्री बिश्वकर्माले काँग्रेस कै सरकारले दलित भत्ता रु २५०।– बाट रु ५००– बनाएको अनि रु ५००।– बाट रु १०००।– पनि काँग्रेस नेतृत्व कै सरकारले बनाएको स्मरण गराउनु भयो ।

उहाँले सुुशील कोईराला नेतृत्वको सरकारले बृद्ध भत्तालाई मासिक रु १०००।– यथावत राखेर औषधी उपचार खर्च भनेर मासिक रु १०००।– थप गरी मासिक रु २०००।– बनाएको पनि मन्त्री बिश्वकर्माले बताउनुभयो ।

वहाँका अनुसार केपी ओली सरकारले बृद्ध भत्ता दोब्बर गरेको भनेर भ्रम फैलाएको समेत आरोप लगाउनु भयो । कोईराला सरकारले दिएको औषधी उपचार खर्चलाई नै ओली सरकारले हटाएर भत्तामा थपेर मासिक रु २०००।– नै बाडेको तर प्रचारमा दोब्बर गरेको भनेर भ्रम फैलाएको काँग्रेस नेता बिश्वकर्माले बताउनु भयो ।

वहाँले बाम गठबन्धनलाई प्रश्न गर्नु भयो दोब्बर बनाएकै हो भने त मासिक रु २०००।– को ठाउँमा रु ४०००।– दिनुपर्ने हो नि ? किन जनताको हातमा पहिले देखिकै मासिक रु २०००।– आइरहेको छ त ? उहाँले यो निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आएपछि काँग्रेसको सरकारले बृद्ध भत्ता बढाएर मासिक रु ५०००।– बनाउने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यसको घोषणा गरिसक्नु भएको समेत मन्त्री बिश्वकर्माले जानकारी दिनुभयो ।

नेपाल दलित संघका केन्द्रीय अध्यक्ष समेत रहनुभएका मन्त्री बिश्वकर्माले दलित संघ झापा क्षेत्र नं. १ क्षेत्रीय समितिले आयोजना गरेको चुनावी छलफलमा दलित अगुवाहरुसंग छलफल गर्नुभएको थियो । कार्यक्रम दलित संघ क्षेत्रीय सभापति पोषक कुमार दर्जीको सभापतित्वमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्