Logo

‘कर चुहावट र छलीमा क्षम्य गर्न नसकिने’



काठमाडौँ, ७ मंसिर (रासस) : अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले कर चुहावट र छलीका विषयमा कहिल्यै पनि क्षम्य गर्न नसकिने बताउनुभएको छ ।

आन्तरिक राजश्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज यहाँ आयोजित ‘छैटाँै राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले करदाताका सेवासुविधा र अनावश्यक झन्झटलाई हटाउन सरकार तयार भए पनि कर चुवाहट र छलीलाई क्षमा दिन नसकिने बताउनुभयो ।

अर्थ सचिव अधिकारीले राजश्व प्रशासन सक्षम र चुस्त–दुरुस्त राखेर लक्ष्य हासिल गर्नका लागि सरकार लागिपरेको बताउनुभयो । उहाँले केही दोहोरो कर देखिएको त्यसलाई समाधान गर्नेतर्फ आफूहरु अग्रसर भएको बताउनुभयो ।

सचिव अधिकारीले सूचना प्रविधिमार्फत करलाई इलोक्ट्रोनिक्स पेमेन्ट (विद्युतीय भुक्तानी) प्रणालीमा लैजान थालेको जानकारी गराउनुभयो । उहाँले करदातालाई सहयोग पु¥याउन चाँडै नै संघीय राजश्व प्रशासन विस्तार गर्ने योजना रहेको जानकारी गराउनुभयो ।

सचिव अधिकारीले आर्थिक वृद्धिदर बिना मुलकले समृद्धि हासिल गर्न नसक्ने भन्दै आर्थिक वृद्धिको नेतृत्व गर्न निजी क्षेत्रको सहयोग रहनुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

कार्यक्रममा राजश्व व्यवस्थापन महाशाखाका सहसचिव शोभाकान्त पन्तले डिजिटल भुक्तानी प्रणालीमा लगेर करदाताका समस्या समाधान गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षदेखि घरबहाल करदातालाई पनि ऐनमा समावेश गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीले कर कानूनलाई सरल बनाइने बताउनुभयो । उहाँले आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क करलाई एउटै कानूनमा ल्याउन थालिएको बताउनुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले अधिकतम करदातालाई समावेश गर्न खालको कानून ल्याउनुपर्नेमा जोड दिनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले कर प्रशासनबाट टाढा बस्न खोज्ने व्यवसायीलाई करको दायरामा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उपत्यकाका २५ उत्कृष्ट करदाता र आन्तरिक राजश्व विभाग अन्तर्गतका १९ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्