Logo

लेखकलाई कञ्चनपुरका उद्योग व्यवसायीको साथ



कञ्चनपुर, ७ मंसिर : कञ्चनपुरका उद्योग व्यवसायीहरुले नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकलाई आफ्नो साथ र समर्थन रहेको बताएका छन् ।

कञ्चनपुर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पूर्व मन्त्री लेखकले विगतमा उद्योग व्यवसाय र विकास निर्माणका क्षेत्रमा गरेका कामको मूल्यांकन र चुनावी एजेण्डाको समर्थन गर्दै उनीहरुले समर्थन जनाएका हुन । नेता लेखकले कञ्चनपुरलाई त्रिदेशिय (नेपाल, भारत र चीन) नाकाको रुपमा विकास गरेर समृद्व कञ्चनपुर बनाउने आफ्नो योजना सार्वजनिक गरेपछि उद्योग व्यवसायी उत्साहित भएका छन् ।

नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर ३ ले आयोजना गरेको अन्तरक्रियामा उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य माधव भट्ट, उद्योग वाणिज्य महासंघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्ल, निर्माण व्यवसायी संघका अध्यक्ष गजेन्द्रबहादुर चन्द, महाकाली बस व्यवसायी संघका सचिव देवराज जोशी, औषधि व्यवसायी संघका अध्यक्ष तेज बुढा, नेपाल मदिरा संघका अध्यक्ष रावल भट्ट, होटल संघका अध्यक्ष प्रमानन्द भण्डारी, पेट्रोलियम ढुवानी एसोसिएसन नेपालका अध्यक्ष खगेश्वर बोहोरा लगायतका सयौं उद्योगी व्यवसायीले आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई साथ र समर्थन रहने प्रतिवद्घता जनाएका हुन । उद्योग वाणिज्य महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष माधव भट्टले लोकतन्त्रमा मात्र उद्योग व्यवासय फस्टाउने भएकाले कञ्चनपुरका सम्पूर्ण उद्योग व्यवसायी लेखकका पक्षमा उभिएको बताए ।

नेता लेखकसंग समृद्घ कञ्चनपुर बनाउने स्पष्ठ योजना भएकाले उहाँलाई सबैको समर्थन रहने उपाध्यक्ष मल्लले दाबी गरे । कार्यक्रममा नेता लेखकले देशमा उद्योग व्यवसायको विकास नभएसम्म आर्थिक विकासले गति नलिने बताउदै त्रिदेशीय नाका, सुख्खा बन्दरगाह तथा मझगाँउ एयरपोर्टको पुर्ननिर्माणलाई आफूले मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएको बताए । चुनाव नजिकिदै गर्दा नेता लेखकले आफ्नो चुनावी अभियानलाई तिब्रता दिइरहेका छन् । पेसाकर्मी, उद्योगी, व्यवसायी, बुद्घिजिवी, नागरिक समाजका अगुवा लगायत सबैको साथ र समर्थन पाएपछि नेता लेखक उत्साहित भएका छन ।



प्रतिक्रिया दिनुहोस्