Logo

लोकतान्त्रिक गठबन्धन विधिको शासनमा विश्वास गर्छ : नेता खाँण



काठमाडौँ, ९ मंसिर (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले लोकतान्त्रिक गठबन्धन विधिको शासनमा विश्वास राख्ने शक्ति भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस, भक्तपुर क्षेत्र नं २ युवा परिचालन समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले मेलमिलाप र एकतामा राष्ट्रियता बलियो हुने बताउनुभयो ।

नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक समेत रहनु भएका नेता खाँणले महेन्द्रपथीय खोक्रो राष्ट्रवादले मुलुक समृद्ध नहुने भन्दै युवालाई संयम हुँदै कार्यकर्ताको घरदैलोमा पुग्न आग्रह गर्नुभयो । समतामूलक समाज र समृद्ध राष्ट्र निर्माण संविधानको कार्यान्वयन लोकतान्त्रिक शक्तिको आह्वान रहेको उहाँको धारणा थियो ।

क्षेत्र नं २ का प्रतिनिधिसभातर्फका काँग्रेस उम्मेदवार पूर्व सभामुख दमननाथ ढुंगानाले आफू भक्तपुर–२ को शान र मान राख्ने कुचिकार उम्मेदवार भएको बताउनुभयो । उहाँले देशमा व्याप्त दोहनको राजनीतिलाई जनमोहनमा बदल्नुपरेको भन्दै भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र लोकतन्त्रको संस्थागत विकासमा आफू सदैव लागिपर्ने बताउनुभयो ।

क्षेत्र नं २ प्रदेश ‘क’ का उम्मेदवार अंगत खड्काले युवा स्वरोजगार कोष स्थापना गरी बेरोजगार युवाको हितमा सदैव क्रियाशील रहने बताउनुभयो ।

नेपाली काँग्रेस, भक्तपुर क्षेत्र नं २ युवा परिचालन समितिका संयोजक रवि राणा, नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लव थापालगायतले लोकतान्त्रिक गठबन्धनका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्