Logo

निर्वाचनमा उत्साहपूर्वक सहभागी ,आम नेपालीलाई प्रधानमन्त्रीद्वारा धन्यवाद ज्ञापन



काठमाडौं, मंसिर १० । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा आम नेपालीमा धन्यवाद ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार (आज) एक विज्ञप्तिमार्फत लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैमा धन्यवाद दिएका हुन् ।

दोस्रो चरणको निर्वाचन मंसिर २१ गते पनि स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराउँदै उनले तीनओटै तहको निर्वाचनसम्पन्न भइसकेपछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् ।

संविधानले पहिलोपटक मुलुकको सार्वभौमसत्ता अधिकार नेपाली नागरिकमा निहित गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाली नागरिकले प्राप्त सार्वभौम अधिकारको प्रयोग निर्वाचनका माध्यमबाट गरेकोमा खुशी व्यक्त गरेका छन् ।

‘नेपाली नागरिकको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सद्भाव, सहयोग र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदाझैँ सहयोग र सद्भावको अपेक्षा गर्दछु’ विज्ञप्तिमा उल्लेख छ ।

संविधानअनुसार तीन तहको सरकार निर्माण गर्ने सन्दर्भमा संघीय संसद् र प्रादेशिक संसद्को लागि आफ्ना जनप्रतिनिधि छनोट गर्ने प्रथम चरणको निर्वाचन आइतबार (आज) मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भएको छ ।

संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम नागरिकले दैनिक रुपमा देख्ने र अनुभव गर्न सक्ने स्थानीय तहको निर्वाचनसम्पन्न भई जनप्रतिनिधिले कार्य सुरु गरिसकेको छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा यही मंसिर २१ गते हुँदैछ । रासस



प्रतिक्रिया दिनुहोस्