Logo

पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न : गृह मन्त्रालय



काठमाडौँ, १० मंसिर : गृह मन्त्रालयले आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्तिमार्फत पहिलो चरणको निर्वाचन अत्यन्त उल्लासपूर्ण र शान्तिपूर्ण वातावरणमा आममतदाताको सहभागितामा सम्पन्न भएको जनाएको छ ।

पहिलो चरणमा सम्पन्न भएको निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको र मतदानस्थलबाट जिल्ला सदरमुकामसम्म सुरक्षित साथ मतपेटिका ढुवानीको कार्य भइरहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भौगोलिक विकटता, मौसमी अवस्था र केही निर्वाचन विरोधी तत्वको छिटफुट अवरोधका बाबजुद निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, निर्भयका साथ उत्साहजनक सहभागितामा सम्पन्न हुनु संघीयता संस्थागत गर्ने एक महत्वपूर्ण उपलब्धि भएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सुरक्षा योजना निर्माण गरी प्रभावकारी र समन्वयात्मकरुपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

मन्त्रालयले पहिलो चरणको निर्वाचनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै यही मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा समेत यस्तै सहयोग, समन्वय र सहभागिताका लागि सबै पक्षमा आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्