गोरखा, ११ मंसिर (रासस) : उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गत २८ वटा मतदान केन्द्रमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खसालिएको मतसहितको मतपेटिका हेलिकप्टरमार्फत आज गोरखाको सदरमुकाम ल्याइएको छ ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो । मतपेटिका लिन लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोरखा सभापति हरिबहादुर घले, वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता चूडामणि खड्का, सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मालगायतको टोली उत्तरी गोरखा पुग्नुभएको थियो ।
यसअघि निर्वाचन गराउन मतदानका लागि आवश्यक सामग्री र मतदान अधिकृतलाई हेलिकप्टरबाट उत्तरी गोरखा पठाइएको थियो । गोरखामा आइतबार सम्पन्न मतदानमा ६२ प्रतिशत मत खसेको अनुमान गरिएको छ । स्थानीय तह निर्वाचनमा यहाँ ७२ प्रतिशत मत खसेको थियो ।
चुमनुब्रीका विभिन्न २० वटा र धार्चे गाउँपालिकाका आठवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरी सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिनुभयो । सडकमार्ग र हवाईमार्गबाट ल्याइएका मतपेटिका सुरक्षित तवरले भण्डारण गरिएको छ । मंसिर २१ गतेदेखि मतगणना शुरु हुने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा कम मत खस्नुको कारणमध्ये राजधानीलगायत अन्य क्षेत्रमा रोजगारीमा रहेकाहरुले बिदा नपाउनु र वर्णानुक्रमअनुसार मतदातालाई साविकको भन्दा फरक केन्द्रमा पुगेर मतदान गर्नुपर्नेजस्ता झन्झटले कम मत खसेको हो ।