Logo

चितवनका कांग्रेसीहरुलाई प्रचण्डको आह्वान : नैतिकता, विपीको लाईन र गिरिजाको लाईनको आधारमा मलाई भोट हाल्नुहोस्



चितवन, १२ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुको दुई तिहाई आउने सुनिश्चित भैसकेको दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘०७० सालको चुनाव र स्थानीय तहको मतपरिणामको तथ्यांक हेरे हुन्छ नि, हाम्रो गठबन्धनको बहुमत अब कसैले रोक्न सक्दैन, किनकी हाम्रो गठबन्धनमा मनैदेखि हृदयदेखि एकता छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘केपी ओलीजी र म द्धन्द्धवादी भएको हुनाले परिस्थिति र देशको आवश्यकत्ता अनुसार र खासगरी जनताको आवश्यकत्ता अनुसार चल्ने नेता भएको हुनाले अहिले त्यस्तो छैन, हामीवीच भित्रैदेखि एकता छ, आज विहान मात्रै मेरो ओलीजीसँग फोनमा लामो कुरा भयो । ३२ जिल्लाको अवस्था के छ भनेर ? कुरा भयो, हामी के निश्कर्षमा पुग्यौं भने हामी दुई तिहाई भन्दा बढि आउने निश्कर्षमा पुग्यौं, अध्यधिक बहुमत आई नै सक्यो, दुई तिहाईको टार्गेटमा छौं, बहुमत अब कसैले चाहेरपनि रोक्न सक्दैन्।’

चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका लागि वाम गठबन्धनका उम्मेद्धवार समेत रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुको शासन आए रुन पनि पाईदैन भन्नु गलत भएको दाबी गरे ।

उनले भने,‘यो कुराको जवाफ म प्रधानमन्त्रीकै भाषामा, देउवाजीकै भाषामा भन्न चाहाँन्न, यसको लागि जति पनि जाफ दिन सकिन्छ, कांग्रेसले थुप्रै कल–कारखाना, उद्योग–धन्धा कौडीको भाउमा बेचेर थुप्रै जनतालाई रुवायो, हामी त्यसो भन्न चाहाँन्नौं । कांग्रेसले रुनमात्रै पार्यो, रुवाएको रुवाएै गर्यो, हामी अब हँसाउन चाहन्छौं ।’ उनले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको पक्षमा लहर आईसकेकाले अब बुहमत कसैले रौक्न नसक्ने जिकिर गरे ।

यद्धपी उनले आफ्नो गठबन्धनको बहुमत आएन भने पनि त्यसलाई स्विकारेर अघि बढ्ने स्पष्ट पारे । दाहालले थपे,‘जनताले पराजित गरे भने हामी अभिमतको पूर्ण सम्मान गर्छौं । लोकतन्त्रमा, शान्ति सम्झौता र प्रतिष्पर्धामा आईसकेपछि खेलको नियम पालना गर्नेपर्छ । हामी गर्छौं।’

त्यस्तै उनले कम्युनिष्टको शासन आए मुलुकमा अधिनायवाद आउँछ भन्ने भनाई नै निराधार र गलत भएको टिप्पणी गरे । उनले भने,‘पहिला–पहिला कम्युनिष्टहरुको शासन आयो भने ६० वर्षको मान्छेलाई गोल हानेर मार्छन भनेर कांग्रेस नेताहरुले झुटो प्रचार गरे, तर मनमोहन अधिकारीले वृद्ध भत्ता दिँदा त्यो झुटो सावित भयो, अहिले विकास निर्माणको कुरा गर्नुहुन्छ भने मैले १० महिनामात्रै सरकारको नेतृत्व गर्दा आर्थिक वृद्धि ७.५ प्रतिशतले बढ्यो, कसल गर्दो रैछ विकास ? भन्ने कुरा प्रमाणित भएको छैन र ?

वाम गठबन्धन देखेर कांग्रेस आँत्तिएको समेत उनले आरोप लगाए । अध्यक्ष प्रचण्डले अघि भने,‘कांग्रेसका साथीहरु आँत्तिनुभयो, यति धेरै अतालिनुपर्दैन्, हामी लोकतान्त्रिक तरिकाले नै जाने हो । हामीले ५ वर्ष राम्रो गरेर सरकार चलायौं भने सबै कंग्रेसीहरु कम्युनिष्ट हुन सक्छन् । सबै कम्युनिष्ट भएर कांग्रेस सिद्दिन पनि सक्छ । हामीले राम्रो काम गर्न सकेनौं र देखाउन सकेनौं भने कांग्रेसको बहुमत आउनसक्छ । यति धेरै अत्तालिनुपर्ने छैन।’

उनले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा नछाडेको समेत जिकिर गरे । उनले भने,‘यो एजेण्डा कायमै छ । चुनावपछि यो वियषलाई गम्भिर ढंगले उठाउछौं, अहिले चुनावको मुखमा यस्तो कुरा गर्दा राम्रो हुँदैन भनेर बसेका छौं, तर निर्वाचनमा दुई तिहाई मत आयो भने हामी संविधान संशोधन गरेर यो एजेण्डा स्थािपत् गर्छौं ।’

उनले चितवनमा आफूले जित्ने आधार नै जनताको विश्वास भएको बताए । उनले थपे,‘नेपालमा स्थायित्व र विकास चाहिएको छ, यसको निम्ति राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिको खाँचो छ, त्यो व्यक्ति म हुँ, त्यसैले जनताको विश्वासले नै मैले चुनाव जित्ने हो ।’

प्रचण्डले चितवनका जनताले अब मुलुकमा विकास र समृद्धिमात्रै चाहेको बताए । उनले थपे,‘यति दिन चुनावको प्रचार गर्न अभियानमा जाँदा धेरै भन्दा धेरै जनताको माँग भनेको सबै बाटाहरु पीच बनुन, यो तत्कालको चाहना हो, जंगली जनावरबाट भएको जनधनको क्षतिको सुरक्षाको ग्यारेण्टी खोजिएको देखियो, तटबन्धन बनाउने खासगरी नारायणी नदि, राप्तीमा, अरु ठाडा खोलाहरुमा तबटन्धन होस् र बाढी कटानबाट रक्षा होस भन्नुभएको छ।’

उनले चितवन विकासको संभावना भएको जिल्ला भएकोले समग्रमा चिवतनलाई एशियाली मापदण्डको शहरको रुपमा जाओस् भनेर आफूले यी कुराहरुलई सम्बोधन गरेको जानकारी दिए। उनले भने,‘कृषिमा आधानुनिकीकरण, शिक्षामा सेन्टर अफ एक्सीलेन्स, स्वास्थ्यमा पनि होस्, औधोगिकरणको विकास, म प्रधानमन्त्री हुँदा शक्तिखोरमा औधोगिकरण भएको छ। चित्रवनमा रंगशालाको लागि रकम निकासा भैसकेको छ, भरतपुरमा प्रदर्शन केन्द्र बनाउने काम अघि बढिसकेको छ, यो सबै कामले गर्दा जनतामा के भरोसा भएको छ भने राष्ट्रिय स्तरको लिडर र समग्र राजनीतिक प्रक्रियाको पनि लिडर चुनाव लड्दा यहाँको विकास र समृद्धि हुन्छ, यहाँको मात्रै होईन समग्र राष्टकै विकास हुन्छ भन्ने जताको चाहना छ।’

अध्यक्ष दाहालले आफू चमत्कारी व्यक्ति नभएको स्पष्ट पारे । उनले थपे,‘तर यर्थाथ हो कि परिस्थिति हेरेर साहसिक निर्णय गर्ने अवसर मलाई जुरेको छ, नेपाली जनताले मलाई त्यो रुपले विकास गर्नुभयो, एउटा व्यक्तिले विद्रोहको पनि नेतृत्व गर्ने, शान्ति प्रक्रियाको पनि नेतृत्व गर्ने, संविधान निर्माण र लोकतान्त्रिक प्रक्रियाको पनि नेतृत्व गर्ने अवसर कमै मान्छेलाई जुर्छ, मैले विश्व ईतिहाँसमा देखेको कुरामा यसरी विद्रोहको, शान्तिको, सविधानको र समृद्धिको त्यो पनि संघीय लोकतान्त्रिक गणतन्त्रको, यी सबैमा नेतृत्वदायी भूमिका खेल्ने मौका पाएँ, म आफूलाई गौरवाशाली नै ठान्छु। मलाई विद्रोहदेखि अहिलेसम्मका परिवर्तनका कालमा जनताको साथ मिल्यो, अब पनि विकास र समृद्धिको नेतृत्व प्रचण्डले गरोस भनेर आम रुपमा आवाज उठेको छु, चाहना रहेछ, त्यसैले समृद्धिको नेतृत्व गर्न म तयार छु।’

आफू परिस्थितिले गर्दा पहिलोपटक रोल्पा र काठमाडौंबाट चुनाव लडेको बताउँदै भने,‘हो म पहिलोचोटी रोल्पाबाट चुनाव लडेको हुँ, मेरो चाहना चितवनबाट लड्नै नै थियो, तर रोल्पा विद्रोहको केन्द्रविन्दु थियो र काठमाडौं राजधानी, त्यसैले मैले पहिलोपटक चुनाव लड्दा रोल्पा र काठमाडौं रोजें, जनताले मलाई विजयी पनि बनाउनुभयो, विद्रोह र शान्तिलाई जोड्नको लागि मैले यी जिल्ला राजेको थिएँ। दुईवटा भावना, मनोविज्ञान जोड्नको लागि म दुई वटा ठाउँमा उठेको थिएँ । दोस्रो पटक पनि म चितवनबाटै चुनाव लड्न चाहन्थें तर त्यसपछि म सिरहा गएँ । काठमाडौंबाट मधेश टाढा–टाढा जाने खतरा थियो, काठमाडौं र मधेशको दुरी बढेको थियो, त्यो दुरी घटाउनको लागि मधेशलाई काठमाडौंसँग जोड्नुपर्छ भनेर नै म सिरहा गएको हुँ, मैले मधेशको देखिएको समस्याको निकासको लागि मधेशबाटै उम्मेद्धवारी दिएको हुँ, यसकै लागि मैले मधेशी जनतासँग मेरो लभ छ भनेको हुँ ।’

यसअघिका निर्वाचनमा बाध्यता र परिस्थितिका कारण आफू चितवनमा चुनाव लड्न नपाएको भएपनि आफूले राष्ट्र र जनताप्रति ईमानदार भएर काम गरेको प्रचण्डको भनाई थियो । उनले भने,‘अब देशमा ठूलो क्राईसिस छैन। त्यसैले अब म आफू हुर्केबढेको ठाउँबाट नै चुनाव लडनुपर्छ भनठानेर नै यहाँ आएको हुँ । चितवनका सचेत जनताहरुको अभिमत लिएर काठमाडौंमा गएर राष्ट्रको नेतृत्व गर्नुपर्छ भनेर म यहाँ आएको हुँ । विकास र समृद्धिको यात्रा अब चितवनबाट नै गर्नुपर्छ भनेर म गृहजिल्ला आएको हुँ । म देउवालाई धोका दिएर एमालेसँग आएको होईन् ।’

उनले आफूले कांग्रेसलाई नछोडेको समेत स्पष्ट पारे । उनले भने,‘मैले कांग्रेसलाई छोडेकै छैन, अहिलेपनि हामी सरकारमै छौं, बरु देउवाजीले हाम्रा मन्त्रीहरुलाई विना विभागीय बनाउनुभयो, सहकार्य कायम छ, कांग्रेसलाई धोका दिएको होईन । सरकार गिराउनको लागि एमालेसँग गठबन्धन गरेको होईन भनेर यो कुरा मैले धेरै चोटी प्रष्ट पारिसकेको छु, कांग्रेस र माओवादी केन्द्र त एउटै पार्टी हुनसक्ने अवस्था त थिएन नि ? एकता त केवल कम्युनिष्ट कम्युनिष्टहरुवीच नै हुने हो । त्यसैले एमाले र माओवादीवीच चुनावी तालमेलमात्रै नभएर एकता गर्ने घोषणा भएको हो, एकता हुन्छ ।’ मुलुक ७० वर्षदेखि राजनैतिक अस्थिरताको भूमरीमा भासिएकोले अब त्यो हुनुहँदैन भनेर नै दुई पार्टीहरुवीच एकताको प्रयास भएको उनको भनाई थियो ।

‘विचार मिल्नेहरु नै मिल्नुपर्यो, वाम गठबन्धन घोषणा गर्नुभन्दा अघि मैले देउवाजीलाई भेटेर यो कुरा भनेको थिएँ, विभाजित भएका काग्रेसहरुलाई एकता गर्नुहोस् भनेर मैले उहाँलाई शुभकामना दिएँको हुँ । त्यसैले धोका हामीले दिएको होईन, स्थानीय तहको निर्वाचनमा कांग्रेसले रुकुममा, सल्यानमा, जाजरकोटमा त्यतिवेलाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेर चुनाव लड्यो, उहाँहरुलाई किन मिलेको भनेर मैले कहिल्यै पनि भनिन्, उहाँहरु मिल्नु सही, अनि म मिल्दा कसरी धोका ? मैले कहिल्यैपनि किन मिल्नुभयो भनेर सोधिन, कांग्रेसले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ८÷१० जिल्लामा तालमेल गर्दा सही, अनि मैले ७७ जिल्लामा गर्छु भन्दा के गल्ती गरें ? हरेक पार्टीले आफ्नो फाईदा हेर्छ ।’

२ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचनमा व्यापक तालमेल गरौं भनेर आफूले कांग्रेससँग् प्रस्ताव गर्दा कांग्रेसी नेताहरु नमानेको स्मरण गर्दै दाहालले भने,‘मैले विहान ५ बजेदेखि राति १२ बजेसम्म खटें, मैले त्यतिवेला कांग्रेससँग भनेको थिएँ, व्यापक तालमेल गरौं भनेर तर उहाँहरुले तालमेल नै गर्न चाहनुभएन।’

दाहालले अघि थपे,‘मैले खाली चुनावी तालमेलमात्रै हरेको होईन, यो देशमा धेरै अस्थिरता, अराजकता हुनु दिनुहुँदैन, ०१९ सालदेखि कम्युनिष्टहरु विभाजन हुन थालेका हुन, त्यसैले अब मिलेर जानुपर्छ, यही उधेश्यले हामीले गठबन्धन बनायौं, त्यो पनि वाम लोकतान्त्रिक गठबन्धन हो । उता कांग्रेसको लोकतान्त्रिक गठबन्धन पनि बनेको छ, अब दुई वटा गठबन्धनमध्ये कसले बढि जनताको मन जित्नेगरि काम गर्नसक्छन् त्यसकै नेतृत्वमा सरकार बन्छ ।’

दाहालले चितवनको उक्त क्षेत्रमा आफूले कांग्रेससँग चुनावी प्रतिष्पर्धा गर्न पाएको भए धेरै खुशी हुने थिएँ तर कांग्रेसले हलोलाई समर्थन गरेर गम्भिर गल्ती गरेको गुनासो पोखे । उनले भने,‘म कांग्रेससँग प्रतिष्पर्धा गर्न पाएको भए खुशी नै हुन्थें, किनकी यहाँ कांग्रेसका ईमानदार, निष्ठावान र पूराना नेताहरु असन्तुष्ट हुनुहुन्छ, अब बुढेशकालमा हलो, राप्रपालाई समर्थन गर्नुपर्ने निर्णय चित्तबुझ्दो छैन, म शान्ति सम्झौताको हस्ताक्षरकर्ता, गिरिजाबाबुले मृत्युशैयाबाट मलाई यो शान्ति प्रक्रिया टुँग्याउने र देश सम्हाल्ने तपाइको जिम्मा भनेर जानुभयो, यो कुरा कांग्रेस र आम जनताले थाहा पाएको कुरा हो, मैले शान्ति प्रक्रिया टुँगो लगाउन के कत्ति काम गरें यो सबैलाई थाहा भएको कुरा हो । अहिले म चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्छु भनिसकेपछि नेपाली कांग्रेसले सबैभन्दा राम्रो त, ल ठिक छ त, अस्ति भर्खरै त देउवाजीले मलाई राजनेता भनेर संसदको रोष्ट्रमबाट घोषणा गर्नुभयो, अहिलेपनि हामी त देउवाजीसँगै छौं, उहाँहरुले योपटक प्रचण्डलाई नै समर्थन गर्छौं भनेर भनिदिएको भए मैले अहिले यो मञ्चबाट शेरबहादुर पनि यो देशको राजनेता हो भन्थेंनि , कति राम्रो हुन्थ्यो भन्नुहोस् त। ठिक छ, उहाँहरुले मलाई दिन सक्नुभएन, लोकतन्त्र हो, प्रतिष्पर्धाको जमाना छ, मलाई दिनुभएन मेरो ठूलो गुनासो छैन ।’

दाहालले चितवनमा कांग्रेसका धेरै पूराना र निष्ठावान नेताहरु भएको उल्लेख गर्दै भने,‘उहाँहरु रुखै लिएर आफ्नै ठूला–ठूला नेताहरु हुनुहुन्छ, बरिष्ठ नेताहरु छन् । मैले पनि सम्मान गर्ने नेताहरु छन् यहाँ कांग्रेसका । म अस्ति भर्खर कृष्णलाल सापकोटाजीको घरमै उहाँलाई भेट्न गएँ । उहाँ मेरो अभिभावकजस्तो हो, निष्ठावान नेता हो । टेकबहादुर गुरुङ् उहाँपनि लामो संघर्ष र ईतिहाँस भएको नेता हो । तपाई अरु नयाँमा हेर्नुहुन्छ भने रामकृष्ण घिमिरे, विकास कोइरालाजस्तो नेतालाई दिएको भए, मैले ल ठिक छ, म सम्मानजनक ढंगले उहाँहरुसँग स्वस्थ प्रतिष्पर्धा गर्थें, तर उहाँहरु त उल्टो बाटो हिँड्नुभयो, रापपाको हलालाई समर्थन गर्नुभयो, यो चाहीँ गर्न नहुने काम गर्नुभयो।

भोलिका दिनमा कम्युनिष्टहरु एउटै भएपछि पनि कांग्रेससँग सहकार्य गर्नुपर्छ भन्ने आफ्नो भनाई भएको उल्लेख गर्दै दाहालले भने,‘कांग्रेृससँग सहकार्य अब सदाका लागि सिधियो भनेर भनेको छैन, यस्तो भन्ने पक्षमा म छैन, नैतिकताको आधारमा, विपीको लाईनको आधारमा र गिरिजाको लाईनको आधारमा चितवनका कांग्रेसीहरुले मलाई समर्थन गर्नुपर्छ है भनेर मैले यहाँ भनेको छु। तपाईले हँसिया हथौडामा भोट हाल्नुपर्छ नै भनेको छु, हलोमा भोट हाल्न त उहाँहरुलाई मन छैन । कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई मैले भन्ने गरेको छु, पार्टीको निर्णय छ, निर्णय गर्न गाह«ो भए, एक मुठ्ठी माटो समातेर छातीमा राखेर सोच्नुहोस, अन्तरआत्माको आवाज सुन्नुहोस्, आत्माले जे भन्छ त्यही गर्नुहोस, हामी पनि लोकतान्त्रिक समाजवादमा जाने भनेको हो, हामीवीच अब ठूलो खाडल छैन । त्यसैले अब प्रचण्डलाई नै भोट दिनुपर्छ।’

उनले आफूलाई जिताउने बलियो आधार नै वाम गठबन्धन भएको स्पष्ट पारे । उनले थपे,‘वाम गठबन्धनको आधारमा जित्ने हो। जनताले मलाई जसरी लिएकाछन्, म २ पटक प्रधानमन्त्री भएको नेता, विकास निर्माण गर्न सक्ने, राजनीतिक परिवर्तनको वाहकको रुपमा लिएका छन, वाम गठबन्धन बन्नु अघि नै मैले यहाँबाट चुनाव लड्ने घोषण गरेको थिएँ, किनकी म एक्लै चुनाव जित्छु भनेर यहाँ आएको हो, मलाई जनताप्रति भरोसा छ, व्यक्तित्वको आधारमा जनताले आफ्नो मतको उभार गरिदिन्छन् । कंग्रेसले पनि मलाई समर्थन गरोस्, मलाई विजयी गराउन मद्दत गरो भने राष्टिय राजनीतिमा बलियो सहकार्य गर्नुपर्छ । सर्वससम्मतीमा चुनाव जित्न पाईहोस्।’

अध्यक्ष दाहालले चुनावपछि पनि कांग्रससँग सहकार्य हुन सक्ने बताए । उनले भने,‘संविधान बनाउँदा हामी सबै मिलेर गरेको हो, शान्ति सम्झौता गर्दा गिरिजाबाबु ७ दलको तर्फबाट र हाम्रो पार्टीका तर्फबाट हस्ताक्षर गरेको हो, १२ बुँदे गर्दा कांग्रेस, एमाले र माओवादीवीच भयो, चुनावपछि धेरै ईस्युमा हामी मिलेर जानुपर्छ, त्यसैले कांग्रेस अब पछाडि फर्किनुहुँदैन, विकास निर्माण र समृद्धिको लागि र सहकार्यको लागि हामी सबै मिलेर जानुपर्छ।’

उनले चुनावपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेडा उठाउने भएकोले त्यसको नेतृत्व कसले गर्नेबारे अहिल्यै भन्न औचित्य नहुने बताए । तपाई बन्न चाहन्छु भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने,‘को बन्ने भन्ने कुरा मुख्य होईन । मलाई चाहीँ के लाग्छ भने नेपालमा गणतन्त्र ल्याउन खेलेको भूमिकाको कारणले, नेपालमा शान्ति प्रक्रिया अघि बढाउन, विस्तृत शान्ति सम्झौता नमुनालायक छ, विश्वकै सफल हो, समावेशी–समानुपातिक संविधान बनाउने कुरा, मधेश र पहाडलाई जोड्ने कुराको नेतृत्वकर्ता भएकोले मेरो दाबी सबैभन्दा औचित्यपूर्ण हुन्छ ।’

उनले निर्वाचनपछि एमाले र माओवादी केन्द्रवीच एकता हुने बताए । उनले पार्टीको नेतृत्व कसले गर्ने वा पद बाँडफाँडबारे पनि कुरा मिल्ने बताए । उनले थपे,‘ओलीजी र मेरो बारेमा यहाँ तुलना नगर्नुहोस्, यहाँ तुलना गर्नुपर्दैन्, हामी दुवै जना प्रमुख कार्यकारी भूमिकामा रहने भनेर पार्टी एकता संयोजन समितिले भनिसकेको छ । दुई प्रमुख नेता भनेर भनिएको छ। दुईपार्टीवीचको एकता कायमै रहन्छ, तोडफोड हुँदैन, अब यो जनताको सम्पत्ति भैसक्यो, कार्यकर्ताको सम्पत्ति भैसक्यो।’

त्यस्तै उनले नेपाल–भारत सम्बन्ध, र नेपाल–चीन सम्बन्धको बारेमा हिजो राजा महराजाहरुले एकातिर भारत परस्त बनाउने अर्कोतिर चीन परस्त बनाएर शासन गर्ने जमानाको अन्त्य भैसकेको बताए ।

उनले भने,‘फुटाउ र राज गर भन्ने राजा महाराजाहरुको षड्यन्त्रको अन्त्य भयो, चीन र भारतको विकासबाट हामीले लाभ लिनुपर्छ, अब हामी सबै नेपालीहरु नेपाल परस्त हुने हो, पत्रकारहरु नेपाल परस्त हुने, दुवैको विकासबाट फाईदा लिने, हामीहरु नेतृत्वमा आउनुसँगै दुवै देशसँग सन्तुलित सम्बन्ध अघि बढाउने र दुवै देशका जायज कन्र्सनहरुलाई सम्बोधन गर्छौं।’

कार्यक्रममा पत्रकार ऋषि धमलाजस्तो राष्ट्रकै चर्चित व्यक्तित्व चुनावी कार्यक्रम लिएर खासगरी प्रचण्डको क्षेत्रमा आएर यसरी चुनावी साक्षात्कार चलाएको भन्दै वाम गठबन्धनका शीर्ष नेताहरुले धमलाको खुलेर प्रशंसा गरेका थिए । धमला कार्यक्रम लिएर देश दौडाहामा छन् ।



प्रतिक्रिया दिनुहोस्