Logo

कांग्रेस नेता बुर्लाकोटीको आरोप : सुरेन्द्र पाण्डेले एक कौडीको पनि काम गरेका छैनन्, जनताले नराम्रोसँग हराउँछन्



चितवन, १३ मंसिर । चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार राजेन्द्र बुर्लाकोटीले चितवनमा नेपाली कांग्रेसले २ सिट जित्ने दाबी गरेका छन् ।

बुधबार विहान रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता बुर्लाकोटीले यस्तो दाबी गरेका हुन् । उनले भने,“चितवनमा कांग्रेसको विकल्प छैन, हामी विना यहाँको विकास सम्भव छैन, यो कुरा यहाँका जनताहरुलाई राम्रोसँग थाहा छ, त्यसैले यो निर्वाचनमा जनताले हामीलाई अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ।”

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टीले आफूलाई बलियो उम्मेद्धवार ठानेर र विगतमा गरेको कामबाट प्रभावित भएर नै उक्त क्षेत्रबाट उम्मेद्धवार बनाएको स्पष्ट पारे । उनले भने,“पार्टीले जिम्मेवारी दिएपछि उम्मेद्धवारी दिएको हुँ । मैले जित्छु, मेरा प्रतिष्पर्धी सुरेन्द्र पाण्डे दुईपटक सांसद भए तर उनले यहाँ विकासको कुनै पनि पूर्वाधार खडा गर्न सकेका छैन् । यो सत्य कुरा हो।”

उनले समग्र मुलुकको विकास र समृद्धिको लागि कांग्रेसको विकल्प नभएको भन्दै चितवनमा पनि आफ्नो पार्टीको विकल्प नभएको दाबी गरे । उनले भने,“जतिपनि विकास भएका छन्, ती सबै कांग्रेसकै कारण भएका छन्, हाम्रो पार्टी सरकारको नेतृत्वमा पुग्दा नै यहाँ विकासका लहरहरु आएका छन्, यो कुरा सारा चितवनवासीलाई थाहा छ।”

उनले आफ्ना प्रतिष्पर्धी एवम् एमाले नेता सुरेन्द्र पाण्डेको दाबी गलत भएको आरोप लगाए। उनले भने,“उनी अर्थमन्त्री हुँदापनि चितवनका सडकको लागि एक रुपैयाँ पनि पैसा आएको छैन । वार्षिक तीन करोड रुपैयाँ चाहीँ उनले उपभोक्ता बनाएर आफ्नै कार्यकर्तालाई पैसा बाड्ने काम भयो, चितवनका कलेजहरु कांग्रेसकै पालामा ल्याएको, स्वास्थ्यको कुरा गर्नुहुन्छ भने मुटु र मृगौलाको निशुलक शल्यक्रिया र उपचार पनि हाम्रै पार्टीका नेता गगन थापा मन्त्री हुँदा भएको हो ।”

त्यस्तै उनले चितवनमा कृषि तालिम केन्द्र पनि कांग्रेसकै पालामा बनेको स्पष्ट पारे । यद्धपी उनले कांग्रेसले राम्रो काम गर्दागर्दैपनि हार्नुको कारण चाहीँ कांग्रेसले यहाँ हार्नुको कारण विशिष्ट परिस्थिति नै भएको जिकिर गरे । उनले भने,“पूर्वपञ्चहरु एमालेमा गए, त्यतिवेला काांग्रेसमा विवाद थियो । अहिले विवाद छैन । यो क्षेत्रमा अहिले मेरो निर्विकल्प उम्मेद्धवारी हो । सबै कांग्रेसीहरु एक छन् । म चुनाव जित्छु।”

आफ्नो पार्टी सरकारमा जाँदा चिवतनको विकासका लागि धेरै योजनाहरु स्विकृत भएका पनि उनको भनाई थियो । उनले भने,“पर्यटन पूर्वाधारका कामहरु भएका छन्, स्वास्थ्य विमापनि हामीले ल्याएका हौं । यहाँ सिँचाईको समस्या छ, यसलाई पनि हामी सम्बोधन गर्न लागिपरहेका छौं । तटबन्ध बनाउने काम छ, ठाडा खोलाहरु पनि छन् । त्यो समस्या समाधान गर्ने मेरो लक्ष्य छ ।”

लोथरदेखि टिकौनीसम्म २० हजार जनता सुकुम्बासी भएको उल्लेख गर्दै ती सबै समस्याहरु समाधान गर्ने योजना सुनाए। उनले भने,“०३६ सालमा नै नापी भएका छैन् । बाढी पीडितहरु हुन् । सुकुम्बासीलाई पुर्जा दिने कांग्रेसबाहेक अरुले गर्न सक्दैन् । अहिलेको सरकार मिलीजुली सरकार छ, अब निर्वाचनपछि बन्ने कांग्रेसको सरकारले यी सबै काम गर्छ।”

एमाले नेता पाण्डेविरुद्ध निकै आक्रमक रुपमा प्रस्तुत भएका बुर्लाकोटीले भने,“उनी अर्थमन्त्री भएको पालामा एक कौडीको पनि काम भएको छैन । उहाँले झुटो बोल्नुभएको हो । उहाँहरुको झुटो बोल्ने र गाली गर्ने चरित्र हो । जनताले भोट दिँदैनन्, काम गरेको भए त भोट हालिहाल्थें नि । जनताले यसपाली कांग्रेसलाई भोट दिन्छन् ।”

विकास र समृद्धिको लागि यसपाली जनताले आफ्नो पार्टीलाई नै भोट दिने जिकिर गरे । उनले थपे,“चितवनको विकासको लागि बुर्लाकोटी हो । कसले जित्छ भन्ने कुरा २१ गतेपछि थाहा हुन्छ । म त ३६ सालदेखि नै भिजेर हिँडेको मान्छे हुँ । चितवनको मुहार फेर्छु, परिवर्तनको लागि नेपाली कांग्रेस हो भनेर मत माँगेका छौं । जनताले हामीबाहेक अरुलाई पत्याउँदैनन्।”
चितवनमा २ सिट जित्छ ।



प्रतिक्रिया दिनुहोस्