Logo

कम्युनिष्टहरुले नेता देखेर जनता डराउने शासन ल्याउन खोजेः प्रधानमन्त्री देउवा



नवलपरासी, १३ मंसिर  : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाउनुभएको छ ।

आज नवलपरासीको पहाडी क्षेत्रको बुलिङटारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनतासँग शासन बदल्ने की राख्ने भन्ने अधिकार छ, हामी जनतादेखि नेता डराउने शासनको पक्षमा छौँ’, कम्युनिष्टसँग जनता हिजो पनि डराउँथे, भोलि पनि डराउने दिन ल्याउन लागेका छन् ।”

वाम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार अपहरण हुने बताउँदै उहाँले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको जिकिर गर्नुभयो । “यो चुनाव कम्युनिष्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमत संग्रह हो”– वाम गठबन्धनको आलोचना गर्दै उहाँले भन्नुभयो, “यो संविधानले आदिवासी, जनजाति, मधेशी सबैलाई ठाउँ दिएको छ तर कम्युनिष्टले संविधान खारेज गरेर तानशाही लाद्न खोजेका छन् ।”

वाम गठबन्धन दिएको समृद्धिको नारा फोस्रो भएको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “कम्युनिष्टले कहाँबाट समृद्धि ल्याउँछन्, उनीहरु आए स्वदेशी÷विदेशी कुनै पनि लगानी नेपालमा थपिदैन, विदेशी त आउँदैनन्, आउँदैनन्, स्वदेशी लगानी पनि बाहिर जान्छ ।”

काँग्रेसको उदार आर्थिक नीतिलाई स्वदेशी तथा विदेशी लगानीकर्ताले विश्वास गर्ने जिकिर गर्दै उहाँले मुलुकलाई काँग्रेस नेतृत्वको सरकारले मात्र धनी बनाउने दाबी गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले संसारमै असफल भएको साम्यवादको नाममा नेपाललाई फोहर थुपार्ने ‘कन्टेनर’ बनाउन लागेको आरोप लगाउनुभयो । वाम गठबन्धनको सरकार बने सबैभन्दा पहिले समावेशी व्यवस्थाको अन्त्य हुने बताउँदै उहाँले तेस्रो विश्वमा लोकतन्त्रको रक्षा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिबाट हुनै नसक्ने दाबी गर्नुभयो ।

नेता पौडेलले कालीगण्डकी करिडोर निर्माणका लागि काँग्रेसको महत्वपूर्ण भूमिका रहेको र प्रदेश नं ४ लाई समृद्ध र सबल बनाउन नवलपुरको ठूलो योगदान रहने हुँदा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

महामन्त्री डा शशांक कोइरालाले काँग्रेसलाई जिताएमा नेपालीको भाग्यरेखा परिवर्तन हुने उद्घोष गर्नुभयो ।

उद्योगपति विनोद चौधरीले आफू राजनीति गर्न नभई बलियो अर्थतन्त्रको आधारशीला तयार पार्न काँग्रेसमा आबद्ध भएको बताउनुभयो । काँग्रेसले २०४८ सालमा लिएको उदार आर्थिक नीतिका कारण देशले फड्को मारेको दृष्टान्त दिँदै उहाँले रोजगारी सिर्जना र आर्थिक उन्नति काँग्रेसको एजेण्डा हो भन्नुभयो ।

काँग्रेस निर्वाचन परिचालन कमिटीका संयोजक बालकृष्ण खाँणले काँग्रेसलाई सिध्याउन खोज्नेहरु आफै सकिएको दृष्टान्त दिँदै अब एमालेको सकिने पालो आएको उद्घोष गर्नुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्