‘कांग्रेससँग एमाले र माओवादीमध्ये एक मिल्दा कम्बोडिया नहुने, अनि एमाले–माओवादी मिल्दा कसरी कम्बोडिया हुन्छ ?’
कैलाली, १६ मंसिर । कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका लागि बाम गठबन्धनका उम्मेद्धवार लेखराज भट्टले आफ्नो जित सुनिश्चित भैसकेको दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो जित सुनिश्चित भैसकेको बताएका हुन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष चुनावी अन्तरक्रियामा उनले भने,‘मेरो प्रतिष्पर्धी कांग्रेस नै हो, गिता राणा प्रतिष्पर्धी होईनन, पैसाले मात्रै कसले चिन्छन् र ? कांग्रेस नै प्रतिष्पर्धी हो। सुनिल भण्डारी मेरो नाताको मान्छे हुनुहुन्छ, चुनाव जित्ने म नै हुँ ।’
नेता भट्टले आफू चुनावी अभियानमा जनताको घरदैलोमा पुग्दा व्यापक उत्साह पाएको उल्लेख गर्दै भने,‘मैले जनताकावीचमा घरदैलो कार्यक्रम गरेको छु, टोल–टोलमा पुगेको छु । उहाँहरुका अभिव्यक्ति सकारात्मक पाएको छु । खानेपानी, सडक, नदी कटान, जग्गा दर्ताको कुरा, किसानहरुले मल, विउविजनक समस्याहरु छन् । ती सबै हल गर्ने म प्रतिबद्धता जनाउँछु।’ त्यस्तै उनले उक्त क्षेत्रमा रहेका तटबन्धन, नदि कटानको समस्या, स्वास्थ्य र शिक्षाका समस्याहरु पनि हल गर्ने वचन दिए ।
उनका अनुसार अहिले कैलालीका जनताहरुले विकासप्रति व्यापक ठूलो चासो देखाएको भन्दै यसप्रति वाम गठबन्धन निकै सचेत रहेको धारणा राखे । उनले भने,‘उहाँहरुको सम्पूर्ण ध्यान विकास निर्माणमा छ । नेताहरुले काम गर्न सकेनन भनेर उहाँहरुको गुनासो छ । पहिलो पहिलो प्राथमिकता संविधान निर्माण थियो, जे हामीले भन्यौं त्यो पूरा हुन सकेन । सेती लोकमार्ग, महाकाली लोकमार्ग, सहिद दशरथ मेडिकल कलेज, सुदुरपश्चिम विश्वविद्यालय, मेरो नेतृत्वमा प्रचण्ड प्रधानमन्त्री हुँदा आयोजना परेका छन्, हामीले काम धेरै गर्यौं। तर भाषण गर्न सकेनौं ।’
उनले बोलेका कुराहरु पूरा गर्ने र गम्भिर नेताहरुमा आफू पर्ने बताउँदै भने,‘नेपाल विकासको हिसाबले पछि परेको छ, पहिलो कारण राजनीतिक नै हो। नयाँ संविधान बनाईसकेपछि, धर्मनिरपेक्षता, समावेशितमा प्रवेश गरेका छौं, हामी गम्भिर भएर लागेका छौं । ७ नम्बर प्रदेशको विकासको लागि हामी एक भएर जान्छौं।’
उनले सुदुरपश्चिमको सिँगो विकास नै आफूले गरेको भनेर कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दाबी गर्नु हाँस्यस्पद भएको टिप्पणी गरे । उनले भने,‘देउवाको भनाई गलत हो, २४ वर्ष नेपाली कांग्रेसले शासन गर्यो, तर हामी वामहरु ४ वर्षमात्रै सरकारमा बस्यौं, छोटो समयमा पनि हामीले धेरै काम गरेका छौं ।’ देउवाले देशको विकास कांग्रेसले गरेको हो भनेर भन्नु हावा गफ भएको उनले संज्ञा दिए ।
उनले थपे,‘वाम गठबन्धनले राष्ट्रिता र परिवर्तनको पक्षमा सशक्त भूमिका खेल्यो, यो क्षेत्रमा वर्ग संघर्षमा हामी, म लगायत थुप्रै युवायुवतीहरु सहभागी बने । यो क्षेत्रको परिवर्तन गर्ने को हो भन्ने कुरा हाम्रा कामहरुले देखाइसकेको छ ।’
नेपालमा कम्युनिष्टहरुको दुई तिहाई नेपालको हालत कम्बोडिया र उत्तर कोरियाजस्तो हुन्छ भनेर देउवाले भन्नु नै गलत भएको भट्टको तर्क छ। उनले थपे,‘उहाँको भनाई के हुन्छ, भने, हामी हिजो उहाँसँग हुँदा कम्बोडिया नहुने, उहाँसँग एमाले हुँदा कम्बोडिया हुँदैन, अहिले हामी एमाले र माओवादी एक हुँदा कसरी कम्बोडिया र उत्तर कोरिया हुन्छ?’
उनले नेपालमा नेपालकै जस्तो कम्युनिष्ट व्यवस्था हुने समेत विश्वास दिलाए । उनले थपे,‘यान्त्रिक हामी छैनौं, नेपाली कम्युनिष्टहरु धेरैमाथि उठेका छन, हामी प्रतिष्पर्धात्मक लोकतन्त्रमा विश्वास गर्छौं, हामीले लतारेर नै कांग्रेसलाई गणतन्त्रको यात्रामा ल्याएको हो नि । गिरिजाप्रसाद कोइरालााई कसरी १२ बुँदे सम्झौतामा हाम्रो अध्यक्षले कसरी ल्इाउनुभयो भन्ने कुरा हामीलाई मात्रै थाहा छ।’
उनले वाम गठबन्धनको बुहमत आउने कुरामा कुनै दुई मत नभएको समेत जिकिर गरे । उनले थपे,‘०६४, ०७० र स्थानीय तहको नतिजा आँकलन गर्नुहोस्, कसले बाजी मार्छ भन्ने कुरा स्पष्ट हुन्छ।’ वाम गठबन्धन भएपछि नेताभन्दापनि कार्यकर्ताहरु धेरै उत्साहित भएकोले पार्टी एकता अब कसैले चाहेर पनि नरोकिने उनको जिकिर थियो ।
एमालेका कार्यकर्ताले आफूलाई नै मतदान गर्ने उनको विश्वास थियो । उनले थपे,‘पार्टी एकताको भार हामीलाई बढि छ, एकता प्रक्रिया रोक्नुहुँदैन्, हाम्रा दुवै पार्टीका कार्यकर्ताहरुमा रिस, राग, द्धेष नै छैन, कमरेडली भावना पाएको छु ।’
त्यस्तै उनले ७ नम्बर प्रदेशको राजधानी कहाँ बनाउने भन्ने कुरा पार्टीले निर्णय गर्ने जनाए । उनले थपे,‘राजधानी बनाउँदा सबैलार्य केन्द्र कहाँ पर्छ ? जनघनत्व कहाँ बढि छ, त्यो हेर्ने हो, यी सबै कुरा हेर्दा कैलाली नै उचित देखिन्छ ।’