Logo

बेलायतका युनिभर्सिटीहरुमा युरोपेली विद्यार्थीहरुको संख्यामा गिरावट, विदेशी विद्यार्थी फकाउँदै



१७ मंसिर, काठमाण्डौ । बेलायत सरकारले विदेशी विद्यार्थीहरुलाई बेलायतको युनिभर्सिटीहरुमा अध्ययनका लागि आउन उत्प्रेरित गर्न नयाँ नियम ल्याउने तयारी गरेको छ । युरोपेली युनियन (इयु) बाट बेलायत बाहिरिने भएपछि बेलायतका युनिभर्सिटीहरुमा युरोपेली विद्याथीहरुको संख्यामा गिरावट आएपछि बेलायत सरकारले यस्तो तयारी गरेको हो। यसका लागि बेलायती सरकारले हालै स्वेतपत्र समेत जारी गरेको छ ।

स्वेतपत्रमा उल्लेख भए अनुसार कुनै कम्पनीले विदेशी विद्यार्थीलाई जागिरको लागि प्रस्ताव गरेमा, परीक्षाको नतिजा आउनुअघि नै टिएर दुई रुट अन्तर्गत काम गर्ने भिसाका लागि आवेदन गर्न पाउने छन् । यो नियम डिग्री लेभलको परीक्षा पूरा गरेकाहरुको हकमा लागू हुनेछ ।

हालको नियम अन्र्तगत भने कुनै विदशी विद्यार्थीले जागिर पाउन सो जागिर १ महिनासम्म युकेको जागिरको वेभसाइटमा विज्ञापन गराउनु पर्ने र जागिरको पहिलो प्राथमिकतामा बेलायती नागरिक, दोस्रोमा युरोपियन युनियनका नागरिक र तेस्रोमा मात्र अन्य देशका नागरिकले अवसर पाउँथे। नयाँ नियमले जागिरका लागि नागरिकताको आधारमा नभई बौद्धिकताका आधारमा स्वच्छ प्रतिस्पर्धा हुने देखिन्छ ।

नयाँ नियम लागु भयो भने स्नातकोतर तह र विद्याबारिधी गर्ने विद्यार्थीहरुले बेलायतमै काम गर्न चाहेमा सहज हुने कुरा लिभरपुल जोन मोर युनिभर्सिटीका एसोसिएट डिन डा पदम सिंखडाले बताए । ‘नेपाली विद्यार्थीहरुलाई यो नियमले अवश्य पनि आकर्षित गर्नेछ’, उनले भने, ‘सबै विद्यार्थीहरुलाई समान अवसर प्राप्त हुने भयो भने बेलायतमा उच्च शिक्षाका लागि आउने नेपाली विद्यार्थीहरुको संख्या पनि अवश्य बढ्नेछ ।’

सिंखडाका अनुसार विदेशी विद्यार्थी विना बेलायतका युनिभर्सिटीहरु टिक्न गार्‍हो छ, त्यसैले पनि बेलायतले यो नीति लागू गर्न खोजेको हो। सिंखडाले थपे, ‘बेलायती युनिभर्सिटीहरुमा विदेशी विद्यार्थीहरुले बुझाउने शुल्कले बेलायती अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको मध्यनजर गर्दै यो नीति ल्याइएको हो ।’
गत वर्षको तुलनामा सन् २०१७ सम्म बेलायत पढ्न आउने युरोपेली विद्यार्थीहरुको संख्या ४ प्रतिशतले घटेको तथ्याङ्क युकेको युनिभर्सिटी एवं कलेज एड्मिसन सर्भिस (युसिएएस)ले सार्वजनिक गरेको छ। यो संख्या करिब २५ हजारको हाराहारीमा छ। यस्तै नर्सिङ पढ्न आउने युरोपेली विद्यार्थीको संख्यामा पनि १९ प्रतिशतले घटेको खुलाशा सो तथ्याङ्कले गरेको थियो ।

यही कारण हाल बेलायती अस्पतालहरुमा नर्सको कमी समेत भएको छ। ब्रेक्जिटको निर्णयले ९० प्रतिशत युरोपेली नर्सहरु घर फर्केको तथ्याङ्क नर्सिङ एण्ड मिडवाइफ काउन्सिलले सार्वजनिक गरेको थियो ।

बेलायतका २४ वटा प्रतिष्ठित युनिभर्सिटीहरुको समुह रसियल ग्रुपका योजना प्रमुख सेरा स्टिभ्स्ले ब्रेक्जिटले युरोपेली विद्यार्थीको आगमन र बेलायतको युनिभर्सिटीलाई नराम्रोसँग बरबाद गरेको बताइन्। उनले भनिन्, ‘यसलाई समयमा रोक्न सबै गंभीर हुनुपर्छ।’

बेलायतका युनिभर्सिटीमा पढ्न आउने युरोपेली विद्यार्थीहरुको संख्यामा आएको गिरावटका अलावा विभिन्न पेशामा रहेका विदेशीहरु समेत स्वदेश फर्कन थालेपछि बेलायत सरकारमाथि नयाँ प्रस्ताव ल्याउन दबाब पर्दै आएको थियो। खासगरी सबै बेलायती युनिभर्सिटीहरुले आफ्नो सरकारलाई विदेशी विद्यार्थीहरुको पक्षमा सकरात्मक योजनासहित नयाँ नियम ल्याउन दबाब दिंदै आएका थिए ।

यसअघि पाइलट प्रोजेक्टको रुपमा बाथ, क्याम्ब्रिज, अक्सफोर्ड र इम्पेरियल कलेज सहितका ४ युनिभर्सिटीमा अध्ययन गर्ने विद्यार्थीका लागि बेलायत सरकारले यो नियम लागु गरेको थियो। ‘ट्रायल प्रोजेक्ट’ का रुपमा सुरु गरिएको यो योजनाबाट विद्यार्थीको संख्यामा बृद्धि भएपछि बेलायतका सबै युनिभर्सिटीमा पनि नियमलाई विस्तार गर्ने योजना बनाईएको देखिन्छ ।

यस्तै टिएर एक भिसा रुट अन्तर्गत रहने विदेशी वैज्ञानिक अनुसन्धाताहरुले बेलायतमा ‘सेटलमेण्ट’ का लागि आवेदन दिन ५ वर्ष बस्नुपर्ने अवधिलाई घटाएर अब ३ वर्षमै ‘सेटलमेण्ट’ का लागि आवेदन गर्न पाउने व्यवस्था पनि कायम गर्ने तयारी पनि गरिएको छ ।

नेपाल खबरमा प्रजय शुक्लले लेखेको रिपोर्ट



प्रतिक्रिया दिनुहोस्