Logo

वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता : बाबुराम भट्टराई



चितवन, १७ मंसिर : नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

यहाँ आज आयोजित ‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा उहाँले लोकतन्त्रवादी नवउदारवादको सट्टा सामाजिकहितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताउनुभयो ।

उहाँले माक्सले परिभाषित गरेको समाजवाद अहिले लागू हुन नसक्ने बताउँदै समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताउनुभयो । अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने उहाँको भनाइ थियो । संसारमा नै असफल भएको कम्युनिष्ट धारामा वाम गठबन्धन लागेको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “अब मुलुक नयाँ समाजवादी प्रजातन्त्रमा जानुपर्छ, तर वामपन्थी पुरानै बाटोमा हिँड्नु भएकाले हामी उहाँहरुबाट छुट्यौँ ।”

लोकतन्त्र भनेको आधारभूत मान्यताको रक्षा गर्ने शक्ति भएको बताउँदै उहाँले यसको रक्षाका लागि संघसंस्थाको महत्वपूर्ण भूमिका हुन्छ भन्नुभयो ।

दलगत एकतालाई सुदृढ गर्नुपर्ने : महामन्त्री कोइराला

सोही कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताउनुभयो ।

अहिले लोकतन्त्रको पक्षमा जनमत रहेको भन्दै उहाँले साम्यवादले जितेमा जनताले बोल्न र लेख्न नपाउने बताउँदै आगामी निर्वाचनले जनताको भाग्य रेखा कोर्ने बताउँदै दलगत एकतालाई सुदृढ गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

वामपन्थी एक भएर चुनौती दिइरहेको बताउँदै उहाँले भन्नुभयो, “वामपन्थीले जितेमा संगठित हुने, लेख्ने, बोल्ने अधिकार गुम्छ, त्यसैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ ।” सोही कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले लोकतान्त्रिक शक्तिले जनताका पक्षमा काम गर्ने बताउनुभयो । विकास र लोकतन्त्र पर्यावाची शब्द भएको उहाँको भनाइ थियो ।

अन्तक्र्रिया कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले निर्वाचनको समयमा संघ संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै जनताको भावना बुझेर काम गर्ने संस्थाले निर्वाचनमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा राजनीतिक विश्लेषक रमेश ढुंगेलले वाम गठबन्धनका गतिविधिले सर्वसत्तावादी गतिविधि देखिएको बताउनुभयो । यसले लोकतन्त्रको रक्षाभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको पाइएको उहाँको भनाइ थियो ।
मनमोहन भट्टराईले जनताको बलमा आएको लोकतन्त्र र संघीयता लागू हुने बताउँदै मान्छे मारेर संघीयता लागू नहुने विचार राख्नुभयो । प्रजातन्त्रवादी प्राध्यापक संघ चितवन, नेपाल शिक्षक संघ चितवन, बिपी चिन्तन प्रतिष्ठान, नेशनल कोअपरेटिभ एलाइन्स, प्रजातान्त्रिक विचार समाज, लोकतान्त्रिक गैरसरकारी संस्थाले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका थिए ।(रासस)



प्रतिक्रिया दिनुहोस्