Logo

निर्वाचन जित्ने मै हुँ अरुको कुरा काट्दिन : नरोत्तम वैद्य



काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ४ का ‘ क’ प्रदेशका उम्मेदवार नरोत्तम बैद्यले निर्वाचन आफूले नै जित्ने दावी गरेका छन् ।

‘म यो क्षेत्रको पुरानो मान्छे हुँ, मेरो सबै समय यही क्षेत्रको विकास र उन्नतिको लागि खर्चिएको छु मैले त्यस्तो कुनै स्वार्थ राखेको छैन ’ बैद्यले भने ‘ अहिलेसम्मको मेरो यात्रामा कतै पनि कुनै दाग लागेको छैन, समाजसेवा र जनताको हकहितको रक्षा नै मेरो दायित्व हो ।’ बैद्यले आफ्नो तर्फबाट गाउँठाउँको बिकास गरेको उदाहरण प्रस्तुत गरेका छन् । पशुपति क्षेत्र विकास कोषका कोषध्यक्षसमेत भइसकेका उनले पशुपति बिकास कोषबाट समग्र पशुपतिको लागि नयाँ भिजन पनि बनाएर लागू गरेको बताए ।

‘मैले कोषमा रहँदा यहाँ भएका अस्थिरता र अनियमितताको विरुद्धमा लागें, मेरो अभियानमा सबैको साथ रहेको थियो ’ उनले भने ‘ म राजनीति र समाजसेवालाई सँगै अघि बढाउँछु, मैले जे गरेको छु त्यो पक्कै पनि समाजको बिकासका लागि प्रेरणादायक छ ।’ नेपाली कांग्रेसले नै देशमा भइरहेको राजनीतिक अस्थिरताको अन्त्य गर्ने उनले दावी गरे ।

जुनसुकै असहज अवस्थामा पनि कांग्रेसको खाँचो र महत्व भएको भन्दै वैद्यले कांग्रेसलाई मतदान नगरेर जनताले सधैं पछुताउनुपर्ने बताए । संविधान निर्माण गर्ने गम्भीर जिम्मेवारी पूरा गर्नु , शान्ति प्रक्रियालाई टुंगोमा ल्याएर देशमा द्धन्द्धको अन्त्य गर्नु, शिक्षा, स्वास्थ्य, रोजगार, सडकलगायतका कुरामा पार्टीले पु¥याएको योगदान उल्लेखनीय भएको भन्दै उनले बाम गठबन्धन वा अन्य कुनै नामका त्यस्ता अलोकतान्त्रिक शक्तिका पछि नलाग्नसमेत मतदातालाई आग्रह गरेका छन् । उनले बाम गठबन्धन नक्कली भएको ठोकुवा गरे ।

उनले आफूसँग प्रतिस्पर्धा गर्दै गरेका निर्मल कुइकेललाई जनताले पहिले नै तिरस्कार गरेर आफ्नै क्षेत्रमा हराएको इतिहास सुनाए । ‘ उनलाई मत नै आउँदैन , योग्य भए पहिले नै जितिहाल्थे, किन दोश्रो संविधानसभामा गगनकुमार थापासँग हार्नु पर्दथ्यो र ’ वैद्यले भने ‘ उनी विभिन्न काण्डमा मुछिएका छन्, त्यसको अझै असर परेको छ जनताले त्यो कुरा बुझिसकेका छन्, पार्टीले पो त्यस्ता मान्छेलाई किन टिकट दिएको भनेर जनताले प्रश्न गर्न थालेका छन् ।’

वैद्यले निर्वाचन नजित्दा पनि जनताकै पक्षमा लागेको र जनप्रतिनिधि भएपछि थप सजिलो हुने विश्वास लिएका छन् । उनले आफ्नो जित कांग्रेसको मात्र नभएर जनताको भएको बताए । उनीसँग प्रतिनिधिसभामा गगनकुमार थापा छन् । थापाको व्यक्तित्व र उनले गरेका बिकासको खाका र प्रतिवद्धता पनि सम्झन उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्