Logo

मौन अवधिको पालना गर्न निर्वाचन आयोगको आग्रह, पालना नगरे कारबाही गर्ने चेतावनी



१९ मंसिर, काठमाण्डौ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मौन अवधिको सबै उम्मेदवार र संचारमाध्यमले पालना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता ढकालले मौन अवधिमा जनतालाई स्वतन्त्र छोड्नुपर्ने भएकाले कुनै पनि प्रचार र लोभ देखाउने काम नगर्नसमेत आग्रह गरे ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने ढकालले बताए ।

साथै आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने भएकाले त्यस्ता सामग्री प्रकाशन÷प्रसारण नगर्न ढकालले आग्रह गरेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल

निर्वाचन आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट नभएको आयोगका प्रवक्ता ढकालले जनाएका छन् ।

मौन अवधिमा पालना गर्नुपर्ने कुराहरु :
१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने ।
२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।
३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।
मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न ढकालले ध्यानाकर्षण गराएका छन् ।

मौन अवधिको पालना नगरेमा नियम अनुसार कारबाही गरिने ढकालले बताएका छन् । विगतमा पनि मौन अवधिको पालना नगर्नेलाई कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्