Logo

मौन अवधिमा नोट दिएर भोट माँग्न उम्मेद्धवारहरु व्यस्त



काठमाडौं, १९ मंसिर । मौन अवधिमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाटसमेत मत माग्न र चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।
तर तराई/मधेशमा अहिले मौन अवधिको कुनै ख्याल नगरी उम्मेद्धवारहरुले नोट दिएर भोट किन्न व्यस्त भएको खुलासा भएको छ । खासगरी तराईका विभिन्न जिल्लाहरुमा उम्मेद्धवारहरुले भोट ब्यांक रहेका क्षेत्रमा नोट दिएर मतदताहरुलाई आफ्नो पक्षमा तानेका छन् । तर आयोगले मौन अवधिको पूर्ण पालना नगरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । आयोगको उक्त चेतावनीलाई पनि लत्याउँदै उम्मेद्धवारहरु नोट दिएर भोट माग्न व्यस्त देखिएकाछन् ।

आचारसंहिता मात्रै नभएर मौन अवधिमा पनि उम्मेद्धवारहरुले कुनै प्रलोभन तथा चुनावी प्रचासरप्रसार गरेको पाईए कडा कारबाही गर्ने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् । तर उम्मेद्धवारहरु तराईमा भोज भतेर नोट दिएर भोट माँग्न व्यस्त देखिएका छन् ।

मौन अवधिमा उम्मेदवार र पार्टीले मात्रै हैन अरुले पनि मत माग्न पाउँदैनन् । फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाट समेत यो समयमा मत माग्न नपाइने अधिकारीहरुले चेतावनी दिएका छन् । निर्वाचन आयोगले अनुगमनका लागि जिल्ला जिल्लामा टोलीसमेत खटाएको छ ।

सोमबार मध्यरातदेखि निर्वाचन प्रचार प्रसार र मत माग्न पाइँदैन । त्यस्तै मतदान केन्द्रको तीन सय मिटर वरपर पार्टीहरुले कुनै खालका प्रचार सामाग्रीहरु राखेका छन् भने ती सबै मौन अवधि सुरु हुनुभन्दा अघि नै हटाएको हुनुपर्छ । उम्मेदवार र राजनीतिक दलको प्रचार प्रसार हुने गरेर सञ्चार माध्यमले समाचारसमेत प्रकाशन र प्रसारण गर्न हुन्न । तर मधेशमा अहिलेसम्म पनि प्रचार सामाग्रीहरु राखिएका छन् ।

मिडियाबाट मात्रै नभएर मोबाइलको एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमका सामाजिक सञ्जालमार्फत् पनि मत माग्न र निर्वाचनको प्रचार प्रसार गर्न पाइँदैन । बिहीबार हुने मतदानको दिन पनि मतदाता, उम्मेदवार र पत्रकार र पर्यवेक्षकहरुले पनि विभिन्न नियमहरु पालना गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्