बुटवल, २२ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको रुपन्देहीमा मतगणना शुरु भएको छ ।
प्रतिनिधिसभामा जिल्लाका पाँच निर्वाचन क्षेत्र र १० प्रदेशसभाअन्तर्गत भैरहवास्थित भैरहवा बहुमुखी क्याम्पसमा क्षेत्र नं १, २ र ३ को मतगणनास्थल तय गरिएकोमा अहिले अपरान्हबाट क्षेत्र नं १, २ र ३ को मतगणना प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिनुभयो ।
यस्तै क्षेत्र नं ४ र ५ को जिल्लास्थित शैक्षिक तालीम केन्द्र बसडिलवामा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । ती क्षेत्रको पनि सर्वदलीय सहमति कायम गरेर गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।
जिल्लामा पाँच लाख २२ हजार ६०२ जना मतदातामध्ये तीन लाख ९३ हजार १५ मत अर्थात ७५.२१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षेत्र नं १ मा ८७ हजार १९, क्षेत्र नं २ मा ७४ हजार ४०९, क्षेत्र नं ३ मा ८४ हजार १६२, क्षेत्र नं ४ मा ६७ हजार ८६१ र क्षेत्र नं ५ मा ७९ हजार ५६४ मत खसेको छ ।
रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले मतगणनास्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिनुभयो । मतगणनास्थलमा सुरक्षा सतर्कताका लागि सिसी क्यामेराको व्यवस्था मिलाइएको छ ।