काठमाडौं, २३ मंसिर : काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गर्नुभएको छ ।
काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उहाँले आग्रह गर्नुभएको छ । आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा नेता थापाले आफ्ना मतदातालाई धन्यवाद दिँदै अबको कार्यकाललाई समृृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडाँै बनाउने आफ्नो अठोट स्मरण गर्नुभयो ।
आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका डा राजन भट्टराई र विवेकशील साझाकी सुवुना बस्नेतलाई उहाँले समृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गर्नुभयो ।
थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजन भट्टराईलाई तीन हजार ४११ मतको अन्तरले पराजित गर्नुभएको थियो । (रासस)