Logo

वाम गठबन्धनका सुत्रधार नारायणकाजीले हारे, बामदेव डेन्जर जोनमा, अरुले जित्दा यिनले हारे कि हराइयो ?



२४ मंसिर, काठमाण्डौ । वाम गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बामदेव गौतम र नारायणकाजी श्रेष्ठको चुनावी नजिता अनुकूल भएन । माओावदीका नेता श्रेष्ठले हारिसकेका छन् भने एमाले उपाध्यक्ष गौतमले चुनाव जित्ने हार्ने निश्चित छैन ।

श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग सात हजार मत अन्तरले हारे भने गौतम कांग्रेसका उम्मेदवार संजय गौतमसँग करिब तीन हजार मतले पछाडि परेका छन् ।

श्रेष्ठ र गौतम दुवै शीर्ष नेता भएकाले प्रधानमन्त्रीको दाबेदारको रुपमा समेत हेरिएको थियो । गौतमले त रिपोर्टस क्लबको अन्तरक्रियामा आफू प्रधानमन्त्रीका लागि सबै कुराले योग्य भएको दाबीसमेत गरेका थिए । यद्यपी गौतमका चुनाव जित्ने सम्भावना पुरै सकिएको भने छैन ।

सुरुमा वाम गठबन्धनसँग मिलेका भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा एमाले माओवादीले नारायणकाजी श्रेष्ठलाई उठाएर आफूलाई पछि हट्न आग्रह गरेपछ गठबन्धन छोडेका थिए । यसअघि आफू गोरखाबाट चुनाव जितेको र गृहजिल्लासमेत भएकाले उक्त क्षेत्रबाट अन्त जान नसक्ने अडान लिँदै भट्टराई कांग्रेससँग गठबन्धन गर्न पुगेका थिए । कांग्रेसको समर्थन पाएका भट्टराईले चुनाव जिते भने एमालेको समर्थन पाएका श्रेष्ठले चुनाव हारे ।

संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट विजयी भएका एमाले उपाध्यक्ष बामदेव गौतमले बर्दिया क्षेत्र नम्बर १ छोडेका थिए ।
गौतमले बर्दिया र प्युठानबाट चुनाव जितेका थिए । बर्दिया छोडेर प्युठान रोजेपछि उनी बर्दियाका मतदातामाझ आलोचित बन्न पुगेका थिए ।

श्रेष्ठले भने यसअघिको चुनावमा मकवानपुरबाट पराजित भएका थिए । यसपटक माओवादीको जनमत रहको गोरखामा सुरक्षित ठानेर उनलाई त्यहाँबाट टिकट दिइएको थियो । तर भट्टराईको लोकप्रियताका माफ श्रेष्ठले माओवादीको जनमत तान्न नसक्दा पराजित हुन पुगे ।

कतिपयले भने श्रेष्ठलाई हराउनकै लागि भट्टराईसँग जुधाएको आरोप लगाएका छन् । यता गौतमलाई पनि हराउनकै लागि माओवादीले खुलेर समर्थन नगर्दा कमजोर देखिएको अनुमान गरेका छन् । गौतमलाई संजय गौतमले हराउने अनुमान गरिएको छ ।

यो सामग्री तयार पार्दासम्म बामदेवलाई संजयले २ हजार ८ सय ८ मतले पछाडि पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्