Logo

नेतृत्व परिवर्तन आवश्यक नरहेको देउवा पक्षको भनाई, समीक्षा गरेर अगाडि बढ्नुपर्ने प्रकाशसरण महतको तर्क



२५ मंसिर, काठमाण्डौ । चुनावमा पार्टीको हैसियत निकै कमजोर भएपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस तातेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वले राम्रो काम गर्न नसक्दा अनपेक्षित नतिजा आएको भन्दै अधिकांश नेताहरुले विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन् ।

तर देउवा पक्षधर नेताहरुले भने सभापतिलाई मात्र दोष लगाउन नमिल्ने भन्दै चुनावी नतिजाका बारेमा समग्र समिक्षा गरेर निष्कर्ष निकाल्नुपर्ने पक्षमा देखिएका छन् । ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता डा. प्रकाशसरण महतले नतिजा कमजोर आउँदैमा नेतृत्वलाई खेद्ने काम गर्न नहुँने बताउँदै पार्टी नेतृत्व परिवर्तनको कुरा गर्नु हतार हुने बताए ।

शेरबहादुर देउवाको कमजोरीका कारण मात्र नभै वाम गठबन्धनका कारण कांग्रेस कमजोर देखिएको महतको भनाई छ । यद्यपी पार्टी केन्द्रिय समिति र कार्यसम्पादन समितिको बैठक बसेर हारजितको समिक्षा गर्नुपर्ने उनले बताए ।

कांग्रेसको केही नेताहरुले पार्टी नेतृत्वको कमजोरी भएकाले अब परिवर्तन गर्नुपर्ने आवाज उठाएकोप्रति संकेत गर्दै महतले भने, “जिम्मेवार व्यक्तिले अहिल्यै हतार गरेर बोल्नु उचित छैन । अहिले विशेष महाधिवेशनको कुरा होइन, समिक्षाको जरुरी छ ।”

“देउवाको ठाउँमा कुन चाँही नेतृत्व आएको भए नतिजा अर्को हुन्थ्यो ? कम्युनिष्ट गठबन्धन कसले रोक्न सक्थ्यो ?” महतले प्रश्न गरे ।
पार्टी नेतृत्वले प्रचण्डलाई प्रधानमन्त्रीबाट नहटाएर उनकै नेतृत्वमा सबै चुनाव गराउन कांग्रेसले सहयोग गरेको भए वाम गठबन्धन नबन्ने तर्क कतिपय नेताहरुले गरेका छन् । देउवाले प्रधानमन्त्री पदको लोभ गर्दा प्रचण्ड एमालेसँग गठबन्धन गर्न पुगेको आरोप कतिपयको छ ।

तर प्रकाशसरण महत भन्छन्, “प्रकाशमानले वा रामशरण वा अरु कसैले पनि प्रचण्डलाई नै प्रधानमन्त्री दिनुपर्छ भनेका थिएनन्, अहिले यस्तो कुरा गरेर हुन्छ ?”

पराजयको सामुहिक जिम्मेवारी लिनुर्नेमा महतले जोड दिएका छन् । “महामन्त्री, बरिष्ठ नेता, पूर्व महामन्त्री लगायतका सबैले जिम्मेवारी लिुनपर्छ, सर्वसम्मत निर्णयबाट सबै घटनाक्रम अगाडि बढेको थियो ।” महतले भने ।

टेजिभिजन कार्यक्रम धमलाको हमलामा अन्तरवार्ता दिदे प्रकाशमान सिंहले विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका थिए । कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले पनि नेतृत्व परिवर्तनको पक्षमा कुरा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्