Logo

जेएनयूबाट पीएचडी गरेका कस्ले जित कस्ले हारे ?



नेपालको राजनीतिमा भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएकाहरूको विशेष उपस्थिति देखिदै गएको छ । जेएनयूबाट विद्यावारिधी गरेका डा.बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका छन् । डा. राजन भट्टराई प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार भइसकेका छन् ।

यसपटकको चुनावमा जेएनयूबाट अध्ययन गरेर फर्किएका दुई भट्टराईमध्ये एक भट्टराई पराजित भएका छन् । नयाँ शक्ति पार्टीका संयोजक बाबुरामले गोरखाबाट नारायणकाजी श्रेष्ठलाई पराजित गर्दा काठमाडौं ४ बाट राजन लोकप्रीय युवा नेता गगन थापाबाट पराजित भए । राजनलाई भावी परराष्ट्रमन्त्रीका रूपमा लिइएको थियो ।

जेएनयूबाट विद्यावारिधी गरेकामध्ये डा.अमरेश सिंह सर्लाहीबाट पराजित भए । नेपाली काँग्रेसका युवा नेता सिंह निवर्तमान सांसद हुन् । उनले अघिल्लो चुनावमा महन्थ ठाकुरलाई पराजित गरेका थिए । सिंह बेला बेलामा विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् ।

सुरक्षाविज्ञ दिपकप्रकाश भट्ट कञ्चनपुरबाट प्रदेश सभामा विजयी भए । एमालेका युवा नेता भट्ट जेनएयूबाट विद्यावारिधी गरेर अध्यापनमा सक्रिय थिए । जेएनयूबाट विद्यावारिधी गरेका डा.ताराप्रसाद जोशी डडेलधुराबाट पराजित भए । प्रदेशसभामा एमालेबाट चुनाव लडेका उनलाई नेपाली काँग्रेस डडेलधुराका जिल्ला सभापति कर्ण मल्लले पराजित गरे । यसअघि जोशी डडेलधुराबाट प्रतिनिधिसभामा काँग्रेसका तत्कालिन वरिष्ठ नेता शेरबहादुर देउवाबाट पराजित भएका थिए ।

जेएनयूबाट विद्यावारिधी गरेर अधिकांश एमाले युवा नेताहरूले टिकट पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्