Logo

कसरी जिते गच्छेदार ?



नेपाली राजनीतिका सदाबहार खेलाडी हुन् विजयकुमार गच्छेदार । सत्ताबाट सायदै टाढा नभएका उनले आफूविरुद्धका हरेक प्रहारलाई निस्तेज पादै आएका छन् । यसपटकको चुनावमा गच्छेदारको हारको नजिक पुगेका थिए । मतगणना अन्तिम चरणमा पुगिसक्दा समेत उनी एमालेकी भगवती चौधरीभन्दा पछाडि थिए । मतान्तर कम गर्दै अन्तिम समयमा गच्छेदार ३२१ मतले जित हासिल गर्न सफल भए ।

छ पटक लगातार चुनाव जितेका उनी चारपटक नेपाली काँग्रेसको चिन्हमा चुनाव जिते । यसअघि मधेशी जनअधिकार फोरम र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको चुनाव चिन्हमा जितेका थिए । यसबाट उनी पार्टी भन्दा व्यक्तिगत प्रभावका कारण चुनाव जित्न सक्ने नेताको परिचय बनाउन सफल भए ।
गच्छेदार पटक पटक उपप्रधानमन्त्री बने । गृह, भौतिक, स्थानीय, संचार जस्ता आकर्षक मन्त्रालय सम्हालेका उनीसँग रणनीतिक चार्तुयता समेत छ । स्पष्ट बोल्ने स्वभावका उनलाई धेरैले राष्ट्रवादी नेताका रुपमा समेत चिन्छन् । क्षेत्रीयतावादी र जातिवादी मुद्यालाई गच्छेदारले कमैमात्र प्राथमिकतामा राखे । मधेश र पहाडबीच आफूले सेतुको काम गरेको दाबी समेत गर्छन् ।

कुटनीतिमा समेत गच्छेदार अब्बल छन् । यही क्षमताले राजनीतिको केन्द्रबिन्दुमा सधै प्रभावशाली बने । बिग्रेको सम्बन्ध सुधार्न चार्तुयता देखाउँदै आएका छन् ।
गच्छेदार निकटस्थहरूलाई संरक्षण दिन कुनै कसर बाँकी राख्दैनन् । आफू नजिककालाई व्यवस्थापन गर्न समेत खप्पिस छन् । सिंगो काँग्रेसभित्र विरोध हुँदै गर्दा उनले विवादास्पद गणेश लामालाई प्रदेशसभातर्फको टिकट दिलाउन सफल भए । काँग्रेस प्रवेश गरेपछि उनले आफू निकटस्थहरूलाई समानुपातिकमा सांसद बन्ने पक्कापक्की गरेर नाम दर्ता गराउन सफल भए ।

गच्छेदारले लगातार छ पटक चुनाव जित्ने इतिहास बनाएर देउवासँग बराबरी गरेका छन् । चुनौतीहरूलाई चिर्दै चुनाव जितेकाले उनको भावी राजनीति बलियो हुने आँकलन गरिदैछ । तर, गुटमा केन्द्रित हुने, भर्खर काँग्रेस फर्किएको र जनतामाझ खासै लोकप्रीय हुननसक्नुले सहज छैन ।

 



प्रतिक्रिया दिनुहोस्